अभिमुखीकरण तालिम नलिई विदेश जान खोज्नेलाई विमानस्थलबाटै फर्काइने – Nepal Press

अभिमुखीकरण तालिम नलिई विदेश जान खोज्नेलाई विमानस्थलबाटै फर्काइने

काठमाडौं । २०७८ वैशाख १ गतेदेखि अभिमुखीकरण तालिम नलिई वैदशिक रोजगारीमा जान खाेज्ने कामदार श्रम कक्षबाट नै फर्किनुपर्ने भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा बायोमेट्रिक हाजिर नमिल्ने कामदारलाई श्रम कक्षबाट फर्काइने वैदेशिक रोजगार विभागले जनाएको हो ।

यस विषयमा जिम्मेवार पक्ष नै उत्तरदायी हुनुपर्ने विभागका सूूचना अधिकारीसमेत रहेका निर्देशक महेन्द्र भट्टराईले नेपाल प्रेसलाई बताए । भट्टराईका अनुसार अभिमुखीकरण तालिम दिने संस्थाले तोकिएको समयमा सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई त्यसको विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) मार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

बोर्डका अनुसार अभिमुखीकरण तालिमको अवधि २ दिनको हुनेछ । प्रत्येक सत्र आमनेसामने पद्धतिबाट सञ्चालन हुनेछन् । तालिम प्रतिदिन ६ घण्टाका दरले २ दिनको अवधिमा १२ घण्टा सञ्चालन हुनेछ ।

पछिल्लो समयमा अनिवार्यरुपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने र दिने गरिएको पाइएपछि विभागले कडाई गरेको हो । तोकिएको समयभित्र तालिम नलिएको तथा अर्कै व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराएको पनि पाइएपछि विभाग कडा रुपमा प्रस्तुत भएको हो । विभागको श्रम कक्षबाट वैदेशिक रोजगारीमा जाने कामदारको बायोमेट्रिक हाजिरी विवरण व्यक्ति स्वयम्को उपस्थितीमा जुधाउँदा आधिकारीक नभएको पाइएपछि विभागले यस्तो रणनीति अघि सारेको विभागका महानिर्देशक कुमार दाहालले नेपाल प्रेससँग बताए ।

नक्कली बायोमेट्रिक प्रयोग गर्दा इन्स्योरेन्स तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट वञ्चित हुनसक्ने, बायोमेट्रिक नमिल्दा विदेशबाट पूनः श्रम स्वीकृती प्राप्त गर्न कठिन हुने, गन्तब्य मुलुक सम्बन्धी जानकारी, वैदेशिक रोजगार सम्बन्धी कानून तथा अन्य आवश्यक कानून सम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हक अधिकारका विषयबाट समेत बञ्चित हुने विभागको भनाइ छ ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार अहिले अभिमुखीकरण तालिम दिने संस्था एक सय ६० वटा छन् । जसमा एक सय संस्था सक्रिय रुपमा तालिम सञ्चालन गरिरहेका छन् भने ४५ वटा निस्कृय छन् । बाँकी रहेका संस्था कतिपय कालोसूचीमा परेका छन् भने कतिपय कारवाहीमा परेका छन् ।

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जानेका लागि पूर्व प्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रम परिमार्जन गरेपछि त्यसलाई कार्यान्वयन गर्नका लागि अभिमुखीकरण तालिममा कडाई गरिएको हो । पाठ्क्रयममा वैदेशिक रोजगारीका लागि नेपाली कामदार मलेसिया तथा खाडी मुलुकमा बढी संख्यामा गइरहेका छन् ।

यसलाई मध्यनजर गर्दै अहिलेलाई मलेसिया, खाडी मुलुक (साउदी अरेयिबा, कतार, कुवेत, संयुक्र अरव इमिरेट्स, मध्यपूर्व एसियाली मुलुक, जापान,दक्षिण, कोरिया लगायतका मुलुकका लागि छुट्टाछुट्टै देशगत रुपमा जानकारी प्रदान गर्नेगरी विद्यमान पुर्वको अभिमुखीकरण तालिम पाठ्यक्रममा व्यवस्था गरिएको छ ।

वैदेशिक रोजगार बोर्डको गत मंसिर १० गतेको बैठकले परिमार्जित पाठ्यक्रम स्वीकृत गरेको थियो भने चैत १ गतेबाट कार्यान्वयनमा ल्याएको हो । परिमार्जित पाठ्यक्रममा अडियो र भिडियो समावेश गरिएको छ । तालिम दिनको ६ घण्टाका दरले २ दिन चल्छ ।

गन्तव्य मुलुकमा पुगेपछि श्रमिकको शारीरिक र मानसिक पीडा न्यूनीकरण गर्ने विषय पनि तालिममा समावेश छ । यसमा बोर्डले करिब २ सय जनालाई प्रशिक्षक प्रशिक्षण तालिम दिएको छ ।

अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउनका लागि अभिमुखीकरण तालिम दिने संस्थाको वैदेशिक रोजगार बोर्डले अनलाइन माध्यमबाटै अनुगमन गर्ने भएको छ ।

‘विभागको व्यवस्थाअनुसार यो समयमा यति जनाले अभिमुखीकरण तालिम लिँदै छन् भन्ने जानकारी पाएपछि बोर्डमा रहेको कल सेन्टरले हेर्नेछ । त्यसका लागि सीसीटीभी क्यामेरा जडान गर्न बोर्डले पत्र पठाइसकेको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २७ र वैदेशिक रोजगार नियमावली, २०६४ को उपनियम २० मा वैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य रुपमा वैदेशिक रोजगारमा जानु पूर्व तोकिए बमोजिमको अभिमुखिकरण तालिम लिनुपर्ने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *