सुवास नेम्वाङ भन्छन्- चुच्चे नक्सा जसले ल्यायो, उसैलाई बदनाम गरिँदैछ (भिडियो) – Nepal Press
नेपाल टक

सुवास नेम्वाङ भन्छन्- चुच्चे नक्सा जसले ल्यायो, उसैलाई बदनाम गरिँदैछ (भिडियो)

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना भएपछिका सबैजसो प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित छन् । पहिलो २ बैठकमा संसद भवनसम्म पुगेर फर्किए पनि त्यसयता संसदको औपचारिक बैठकमा प्रधानमन्त्री देखिएका छैनन् ।

सरकारले संसदलाई बिजनेश समेत नदिएको आरोप लागिरहँदा संसदलाई प्रधानमन्त्रीले ‘महत्व नदिएको’आरोप लागेको छ । कुनैबेला लिपुलेकसहितको नक्सा सार्वजनिक गरेर प्रंशसा कमाएका प्रधानमन्त्री ओलीको अहिले विभूषणमा ‘चुच्चे नक्सा नभएको’ भन्दै विरोधसमेत भइरहेको छ ।

यसै सन्दर्भमा नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका प्रधानमन्त्री ओलीका विश्वासपात्र सुवासचन्द्र नेम्वाङसंग गरिएको संक्षिप्त कुराकानी–

विभूषणमा नेपालको वास्तविक नक्सा प्रयोग नभएको विषयमा सरकारको तीब्र आलोचना भइरहेको छ । यसबारे तपाईंको भनाइ के छ ?

यसबारेमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै लिपुलेकसहितको नक्सा पारित गराउन यति ठूलो चुनौती सामना गर्दै सिंगो देशलाई सर्वसम्मत गराउनुभएको हो । उहाँकै अगुवाइमा जारी भएको नेपालको वास्तविक नक्साका विषयमा उहाँलाई नै बदमान गर्न खोजिनु हुँदैन । त्यसैले विभूषणबारे संसदभित्र र बाहिर जे कुरा उठेको छ, यसमा प्रधानमन्त्रीजीको ध्यानाकर्षण भएको छ । यसबारे सरकार गम्भीर छ ।

प्रधानमन्त्री आफैं संसदमा नियमित हुनुहुन्छ । के प्रधानमन्त्रीले संसदको भूमिकालाई ‘मिनिमाइज’गर्न खोज्नुभएको हो ?

संसदीय व्यवस्था स्थापना गर्नको लागि, संसदीय व्यवस्थालाई मूल चुरो बनाएर संविधान जारी गर्नका लागि निरन्तर लडेको व्यक्तिले संसदलाई मिनिमाइज गर्ने भन्ने कुरा सोच्न सम्म पनि सकिन्न । त्यसैले त्यो ढंगले प्रश्न उठाउँदा प्रधानमन्त्रीप्रति अन्याय हुन्छ ।

प्रधानमन्त्री संसद आउन पनि छाड्नुभयो, संसदले बिजनेश पनि पाउन छाड्यो किन त ?

यो त अहिलेको स्थितिको कुरा हो । अहिले हामी अलि बढी चुनौतीपूर्ण राजनीतिक अवस्थामा छौं । अहिले अवस्था अलि अप्ठ्यारो छ । यो चुनौती र अप्ठ्यारोको अवस्था जतिसक्दा चाडो समाधान गर्नुपर्छ । त्यसका लागि हामी सबै लाग्नुपर्छ । सरकार पनि यस्तो चुनौतीपूर्ण अवस्था अन्त्य गर्न लागि परेको छ ।

संसदलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको कुनै अग्रसरता देखिएन नि ?

दलहरुको बीचमा छलफल चलिरहेको छ । तर अहिलेको अप्ठ्यारो निकै जटिल छ । त्यसैले यो जटिलताबाट देशलाई निकास दिन सबै राजनीतिक दल र सरकारले अझ बढी मेहनत गर्नुपर्ने देखिन्छ ।

प्रधानमन्त्री कहिले आउनुहुन्छ त संसदमा ?

प्रधानमन्त्री संसदमा आइरहनुभएको छ । विगतका २-३ वटा बैठकमा उहाँ आएर यहीबाट फर्कनुभएको हो । त्यसैले कहिले संसदमा आउने भन्ने प्रश्नै होइन । सदासर्वदा उहाँ संसदमा हुनुहुन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर