संसदमा विपक्षी ‘एग्रेसिभ’, एमालेद्वारा सरकारको प्रतिरक्षा – Nepal Press

संसदमा विपक्षी ‘एग्रेसिभ’, एमालेद्वारा सरकारको प्रतिरक्षा

काठमाडौं। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विपक्षी सांसदहरू सरकारप्रति ‘एग्रेसिभ’ ढंगले उत्रिए ।

प्रमुख विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका सांसदले मुख्यगरी सरकारले हालै वितरण गरेको मानपदवीमा नयाँ नसक्सा नसमेटिएको, संसदलाई क्रियाशिल नबनाएको, शिलान्यास लहर चलाएर विकास गरेको भ्रम छर्न खोजेको भन्दै आलोचना गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले विभूषण वितरणका क्रममा नेपालको वास्तविक नक्सा प्रयोग नगरिनु सरकारको गम्भीर भूल भएको बताइन् । ‘संसदले पारित गरेको वास्तविक नक्सा किन प्रयोग गरिएन ?,’ उनले प्रश्न गरिन्, ‘राष्ट्रियता देखाउने, चुच्चे नक्सा हराउने ? प्रधानमन्त्रीजीले यो संसदमा आएर जवाफ दिनुपर्‍यो ।’

भुसालले सरकारले बाहिर विकासको कुरा गरे पनि संसदमा कुनै प्रस्ताव नल्याएको अरोप लगाइन् । उनले भनिन, ‘बाहिर राष्ट्रियता र विकासको कुरा गर्ने तर संसदमा कुनै प्रस्ताव नल्याउने । एमसीसीलाई संसदीय प्रक्रियाबाट अगाडि बढाउन सरकारलाई कसले रोक्यो ?’

माओवादी केन्द्रका शक्ति बस्नेतले पनि विभूषण वितरण गर्दा नयाँ नक्सा नसमेटिएको भन्दै आलोचना गरे । ‘विभूषणमा नयाँ नक्सा नसमेटिएको कुरा उठेको छ,’ उनले भने, ‘ सरकारले अत्यन्त हल्का टिप्पणी गरिरहेको छ। पदक वितरण गर्ने निर्णय पहिले भएको होला तर वितरण त अहिले गरिएको हो नि । यही सरकारले गरेको हो नि ? यो मौसमी राष्ट्रवाद हो या अरु केही हो ? यस्तो हल्का टिप्पणी नहोस् ।’

विकास निर्माण जनताको अपेक्षा अनुसार नभएको उनको आरोप थियो ।

कांग्रेसकै सांसद गिरीले लिपुलेकसहितको चुच्चे नक्साको भ्रुण हत्या गरेको हो भनि प्रधानमन्त्रीलाई प्रश्न गरे । ‘प्रधानमन्त्रीज्यू चुच्चे नक्सा कता हरायो ?,’ गिरीको प्रश्न छ, ‘चुच्चे नक्साको भ्रुण हत्या भयो कि बालहत्या भयो ?’

सांसद अञ्जना विशंखेले निर्वाचन आयोगमा र सर्वोच्चमा ‘सेटिङ’ भएको प्रश्न उठेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। ‘चाहे राष्ट्रपतिले होस् चाहे प्रधानमन्त्रीले होस्, जसले जल्ती गर्छ स्वायत्त संस्थाले गल्ती गर्नेलाई दण्ड दिनुपर्छ’ उनले भनिन्, ‘तर, बिडम्बना यतिबेला सेटिङका आधारमा हरेक कुराहरु निर्णय गरिन्छ । चाहे निर्वाचन आयोग होस् चाहे त्यो सर्वोच्च अदालतका पार्टीसम्बन्धी फैसला होस् ।’

एमालेले गर्‍यो सरकारको प्रतिरक्षा

सरकारप्रति विपक्षी सांसद आक्रामक ढंगले प्रस्तुत भएपछि सत्तारुढ नेकपा एमालेका सांसद पनि सरकारको प्रतिरक्षा गर्न उत्रिए । उनीहरुले विपक्षीले उठाएका सवालको जवाफ दिने कोसिस गर्दै सरकारको बचाउ समेत गरे ।

एमालेका नरबहादुर धामीले वर्तमान सरकारले ढिलै भए पनि पहलकदमी गरेर नेपालको गुमेको भूमिलाई नक्सामा समावेश गरेको र सरकारले पुनःनिर्माणमा सन्तोषजनक रुपमा काम गरेको बताए । सरकारले चीनसँग पारवाहन सन्धि गरेको, देशका विभिन्न स्थानमा नयाँ सडकहरुको निर्माणको शिलान्यास गरेको लगायत महत्वपूर्ण काम भएको फेहरिस्त पेस गरे । उनले सरकारले गरेका राम्रा कामको कन्जुस्याइँ नगरी प्रशंसा गर्नुपर्ने बताए।

एमालेकै अर्का सांसद नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘एग्रेसिभ लिडरसिप’बाट प्रतिपक्षी दल तर्सिएको टिप्पणी गरे । ‘केपी ओलीले जसरी समृद्धिलाई लिड गरिरहनुभएको छ त्यसबाट प्रतिपक्षका साथीहरुलाई आघात पुगेजस्तो छ,’ उनले भने, सरकारले गरेको राम्रो कामलाई राम्रो देख्न सक्नुपर्छ ।’

सरकारलाई लाञ्छित गरेर सरकारको गरिमा नबढ्ने उनको भनाइ छ । ‘सरकारलाई अनावश्यक ढंगले लाञ्छित गर्ने कामले संसदको गरिमा बढेन सभामुख महोदय । अहिले संसदको कारवाही सबै जनताले लाइभ हेरिरहेका छन् । म पहिलोपटक संसदमा छु । तर, संसदप्रतिको मेरो अपेक्षा पूरा भएन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर