गोर्खाली फकाउँदै अमित शाहको घोषणा : नेपाली भाषालाई भारतको सहायक-भाषा बनाउँछौं (भिडियो) – Nepal Press

गोर्खाली फकाउँदै अमित शाहको घोषणा : नेपाली भाषालाई भारतको सहायक-भाषा बनाउँछौं (भिडियो)

कालिम्पोङ । भारतीय गृहमन्त्री अमित शाहले नेपाली भाषा (गोर्खा भाषा)लाई सरकारले सहायक-भाषाको मान्यता दिने घोषणा गरेका छन् । सोमबार कालिम्पोङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले उक्त घोषणा गरेका हुन् ।

नेपाली भाषामा प्रसारण हुने मनोरञ्जनात्मक टेलिभिजन च्यानल स्थापना गर्ने तयारी सरकारले गरेको पनि उनले जानकारी दिए । गोर्खा स्वतन्त्रता सेनानी संग्रहालय स्थापना गर्ने घोषणा पनि उनले गरे ।

सबै गोर्खाली समुदायलाई नोकरीको सुनिश्चितता प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले गर्ने भन्दै गृहमन्त्री शाहले बीजेपीको सरकारमा कुनै गोर्खालीलाई समस्या नपर्ने बताए । पाकिस्तानसँगको लडाइ र भारत निर्माणमा गोर्खाली समुदायको उच्च योगदानको उनले प्रशंसा गरे ।

कालिम्पोङ क्षेत्रको पर्यटन विकासमा १ हजार करोड बजेट विनियोजन गरेको शाहले जनाए । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले गोर्खाली समुदायको ज्यान लिएको आरोप लगाउँदै गृहमन्त्री शाहले बीजेपीको सरकार आए बेनर्जीलाई जेल हाल्ने चेतावनी समेत दिए ।

सन् १९८६ मा कम्युनिष्ट पार्टीले दमन गर्दा ३,००० जना गोर्खालीको ज्यान गएको शाहको भनाई थियो ।

‘जब दिदी आइन्, उनले थुप्रै गोर्खालीको ज्यान लिइन्’ शाहले भने, ‘तपाईंहरुलाई न्याय दिइएन । कमल चिन्हको सरकार छान्नूस, हामी तिनीलाई जेल पठाइदिन्छौं’ शाहले भने ।

नेपाली ढाकाटोपी लगाएर मंचमा प्रस्तुत भएका शाह सम्बोधन अवधीभर बेनर्जीप्रति खनिएका थिए । शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपाली भाषामा उखान सुनाउँदै बेनर्जीप्रति कटाक्ष गरेका थिए ।

अहिले पश्चिम बंगालमा विधानसभाको चुनाव चलिरहेको छ । तृणमुल कंग्रेस र भारतीय जनता पार्टीबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । भारतीय संचारमाध्यमका अनुसार सत्तारुढ बीजेपीको दबदबा अहिले बंगालमा देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *