जनमत पार्टीको अध्यक्षमा सीके राउत चयन – Nepal Press

जनमत पार्टीको अध्यक्षमा सीके राउत चयन

जनकपुरधाम । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत चयन भएका छन् ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा उनको एकल उम्मेदवारी परेपनि मतदान गराइएको थियो । ४४ सय ४० मत खसेकोमा डा. राउतले २३ सय २ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

सातजना उपाध्यक्षमध्ये मोहम्मद अब्दुल खान, इन्जिनियर वसन्त कुशवाहा, इन्जिनियर दीपककुमार साह र इन्जिनियर नरेन्द्रप्रसाद चौधरीले मात्र उम्मेदवारी दिएका थिए । यद्यपि सो पदमा पनि मतदान गराइएको छ । चारैजना निर्वाचित भएका छन् ।

महासचिवमा एकल उम्मेदवार बनेका चन्दनकुमार सिंह १५ सय ७३ मत ल्याएर निर्वाचित भएका छन् ।

यस्तै केन्द्रीय सदस्य (खुल्ला समूह) तर्फ २३ जना निर्वाचित भएका छन् । महिला समूहतर्फ १५ जना चयन गर्नुपर्नेमा ८ जनाको मात्र उम्मेदवारी परेको थियो ।

जनकपुरधामको बाह्रबिघा मैदानमा शनिबार प्रथम महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो । उद्घाटन सत्रकै क्रममा पदाधिकारी चयन गर्न भएको मतदानको अन्तिम परिणाम आइतबार राति सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर