जसपा बैठकमा महन्थ ठाकुरको दावी : देउवालाई प्रधानमन्त्री बन्न मनै छैन – Nepal Press

जसपा बैठकमा महन्थ ठाकुरको दावी : देउवालाई प्रधानमन्त्री बन्न मनै छैन

काठमाडौं । नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टीभित्र लामो समयको संवादहिनता तोड्दै आन्तरिक छलफल सुरु भएको छ । यद्यपि, आइतबार भएको छलफल कुनै निस्कर्षमा पुग्न सकेन ।

जसपाका कार्यालय बालकुमारीमा जसपाका शीर्ष नेताबीचको छलफलमा नेताहरुले आफ्नो ‘पोजिसन’ क्लियर गरेका छन् । जसपाले यसअघि नै विभिन्न मागहरु अघि सार्दै जसले सम्बोधन गर्छ उसैसंग सहकार्य गर्ने घोषणा गरेको थियो । मागका विषयमा एकमत रहेपनि जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी ओलीसँग सत्ता सहकार्य नगर्ने अडानमा छन् । अर्का अध्यक्ष महन्थ ठाकुर र नेताहरु राजेन्द्र महतो, राजकिशोर यादवलगायत भने ओलीसँगको सहकार्यका लागि तम्तयार छन् ।

जसपाले शुक्रबार मात्रै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँगको वार्तामा छलफलका लागि समय मागेको थियो । कांग्रेसले बुढानिलकण्ठमा आयोजित तीन दलको बैठकमा आफ्नै नेतृत्वमा सरकार बनाउन प्रस्ताव राखेको थियो । माओवादी कांग्रेसको प्रस्तावमा सहमत भएपनि जसपाले सहमति जनाएको छैन । जसपा शीर्ष नेताहरुको आइतबारको बैठकमा अध्यक्ष ठाकुरले कांग्रेसले गरेको प्रस्तावबारे जानकारी गराए ।

सो क्रममा ठाकुरले नयाँ गठबन्धन बनाउने प्रस्ताव गरे पनि कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं प्रधानमन्त्री बन्न इच्छुक नदेखिएको बताएका थिए । गठबन्धनबारे छलफल नै नभई कांग्रेसले सरकारको नेतृत्व दावी गर्नु गलत भएको समेत उनले बताएका छन् ।

‘नयाँ सरकारका लागि गठबन्धन बनाउने हो भने गठबन्धनका सबै दलको कुरा सुन्नुपर्छ । अरुसंग छलफल नहुँदै कांग्रेसले सरकारको नेतृत्व दावी गर्न गठबन्धन संस्कार विपरीत हो’, बैठकमा ठाकुरले भने । पार्टीले उठाएका माग सम्वोधन गर्ने विषयमा पनि कांग्रेसले कुनै चासो नदेखाएको भन्दै देउवालाई प्रधानमन्त्री बन्न मन नभएको उनले दावी गरे ।

‘३ दलको बैठकमा मेरो पार्टीले यस्तो निर्णय गरेको छ तपाईहरु के गर्नुहुन्छ भनेर साधियो । प्रधानमन्त्री बन्न मन भए त मलाई सहयोग गर्नुस्, मैले यसोयसो गर्छु भन्थे होला नि’, ठाकुरलाई उद्वृत गर्दै जसपा स्रोतले भन्यो ।

बैठकबाट बाहिरिने क्रममा जसपा अध्यक्ष महन्थ ठाकुरले भने समसामयिक विषयमा छलफल सुरु भएको मात्रै प्रतिक्रिया दिए ।

जसपाले उठाएका मागहरु सम्बोधन गर्न सरकारले काम थालिसकेको पनि बैठकमा ठाकुरले जानकारी दिएका थिए । ‘अबको क्याबिनेटबाटै हाम्रा केही माग पूरा हुनसक्छन् । त्यस्तो बेलामा के गर्ने हो ?’ ठाकुरको भनाई थियो ।

बैठकमा अर्का अध्यक्ष उपेन्द्र यादवले पार्टीका माग पूरा गराउने र नयाँ सत्ता समीकरणबारे खुला छलफल जरुरी रहेको बताएका थिए । कांग्रेसले सरकारको विकल्प खोज्ने निर्णय गरेको भन्दै यादवले सरकारको विकल्प खोज्न जसपा पनि तयार हुनुपर्नेमा जोड दिए ।

पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएर राजनीतिक निकास दिनेगरी छलफल र निर्णय गर्नुपर्नेमा सहभागी नेताहरुको जोड थियो । संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ सरकार निर्माणबारे भर्खरै छलफल सुरु भएको र केही दिन छलफल लम्बिने बताए ।

‘आज राजनीतिक विषयमा छलफल सुरु मात्रै भएको छ । बैठक निरन्तर बस्छ र ठोस निष्कर्षमा पुग्छौ,’ भट्टराईले नेपाल प्रेससँग भने । उनका अनुसार कांग्रेसको प्रस्तावलाई स्वीकार गर्ने वा आफ्ना एजेण्डाबारे प्रतिबद्धता खोज्ने भन्नेमा पनि छलफल थालिएको छ ।

जसपाभित्र नयाँ सत्ता समीकरणबारे दुई धार भएपनि अध्यक्ष ठाकुर नेतृत्वकै धार बहुमतमा छ । नयाँ सरकार गठनका लागि कांग्रेसलाई माओवादी र जसपा दुवैको साथ अनिवार्य रहन्छ । प्रधानमन्त्री ओलीसंग पनि निरन्तर संवादमा रहेको जसपाका माग पुरा गर्न सरकारले नै पहल गरिरहेको छ । जसपाको समर्थन सुरक्षित गरेर संसदमा विश्वासको मत हासिल गर्ने प्रधानमन्त्री ओलीको योजना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर