१९औं संस्करणमा आहा! राराको नयाँ च्याम्पियन संकटा – Nepal Press

१९औं संस्करणमा आहा! राराको नयाँ च्याम्पियन संकटा

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको नियमित संकटा क्लब शनिबार मोफसलको प्रतिष्ठित आहा! रारा गोल्ड कपको च्याम्पियन बन्यो । आहा! रारा गोल्ड कप १९औं संस्करणमा आइपुग्दा पहिलो पटक फाइनलसम्म पुगेको संकटाले उपाधि भिडन्तमा विदेशी टोली अफ्रिकन रूट एसोसिएसनलाई टाईब्रेकरमा ४–२ गोलको नतिजामा पराजित गरेँसँगै प्रतियोगिताको छैठौं च्याम्पियन बन्यो ।

साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १–० को नतिजामा पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको संकटाले सेमिफाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई २–० ले पराजित गरेको थियो । विभागीय टोलीमाथि एकतर्फी नतिजा निकाल्दै पहिलो पटक फाइनलमा पुगेको संकटाविरुद्ध सुरुआतदेखि नै दाबेदारको रूपमा प्रस्तुत गरेको अफ्रिकन रूटले भेट निश्चित गरेको थियो ।

पहिलो खेलमै ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबलाई २–१ को नतिजामा पराजित गर्दै प्रतियोगिताको शानदार सुरुआत गरेको अफ्रिकन रूटले सेमिफाइनलमा आहा! राराको ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० को नजितामा पराजित गरेको थियो ।

सहभागिता जनाएको पहिलो वर्ष नै फाइनलसम्मको यात्रा तय गरेको अफ्रिकन रूटले फाइनलमा पनि संकटाविरुद्ध सुरुआती अग्रता लिएको थियो । तर, त्यो अग्रता जोगाउन नसकेर टाइब्रेकरसम्म पुगेको खेलमा भ्रमणकारी अफ्रिकन रूट पराजित भयो ।

बलियो दाबेदारमाथि रोमाञ्चक जित हासिल गरेको संकटाले भने आहा! राराको ट्रफी क्याबिनेटमा ‘इन्ट्री’ गर्‍यो ।

मोफसलको चर्चित एवम् बहुप्रतिष्ठित फुटबल प्रतियोगिता हो, आहा! रारा गोल्ड कप । बि सं. २०५८ सालमा क्याराभान गोल्ड कपको रूपमा सुरु भएको यो प्रतियोगिताले दोस्रो वर्षदेखि आहा! रारा गोल्ड कपको नाम पाएको थियो । पहिलो पटकमै च्याम्पियन बनेको नेपाल पुलिस क्लब र गत वर्षको च्याम्पियन मनाङ यो प्रतियोगिताका सर्वाधिक सफल टोली हुन् । मनाङ र पुलिस दुवै टोलीले आहा! रारा गोल्ड कपको उपाधि ६÷६ पटक उचालेका छन् ।

पहिलो र दोस्रो संस्करण लगातार नेपाल पुलिस क्लबले जितेको थियो भने त्यसपछिको दुई वर्ष (२०६० र ६१) सालमा मनाङ च्याम्पियन बनेको थियो । प्रतियोगिताको पाँचौं संस्करणमा च्याम्पियन बनेको अफ्रिकन युनाइटेड उपाधि विजेता एक मात्र विदेशी टोली हो ।

छैठौं संस्करणमा आहा! राराले नयाँ च्याम्पियन पाएको थियो, थ्री स्टार क्लब । यो वर्षको क्वार्टरफाइनलबाटै बाहिरिएको थ्री स्टारले हालसम्म पाँच पटक आहा! रारा गोल्ड कपको उपाधि जितिसकेको छ ।

त्यसपछि लगातार तीन वर्ष (२०६४, ६५ र ६६) पुलिस च्याम्पियन बनेको थियो भने २०६७ सालमा पुनः थ्री स्टारले बाजी मा¥यो । मनाङले २०६८ सालमा तेस्रो पटक उपाधि उचाल्दा ६९ मा पुनः थ्री स्टार च्याम्पियन बनेको थियो ।

आयोजकसमेत रहेको सहारा क्लब २०७० सालमा च्याम्पियन बनेको थियो भने ७१ सालमा पुनः थी स्टारले उपाधि उचाल्यो । त्यसपछिका दुई वर्ष (७२ र ७३)मा लगातार मनाङ च्याम्पियन बन्दा ७४ मा पुलिस र ७५ थ्री स्टार च्याम्पियन बनेका थिए ।

२०७६ सालमा भएको १८औं संस्करणमा पनि पुरानै च्याम्पियन मनाङ पुनः दोहोरिएको थियो । तर, यो वर्ष आहा! राराले नयाँ च्याम्पियन पाएको छ ।

 

https://youtu.be/DcrfAdXzijk


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *