निजीसँग प्रतिस्पर्धी क्षमता बढाउँदै तिलोत्तमाका सामुदायिक विद्यालय – Nepal Press

निजीसँग प्रतिस्पर्धी क्षमता बढाउँदै तिलोत्तमाका सामुदायिक विद्यालय

बस खरिद गर्न नगरपालिकाले दियो ६० लाख

रूपन्देही । तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट ६ वटा सामुदायिक विद्यालयले बस खरिद गरेका छन् । तीमध्ये ५ विद्यालयले आइतबार ४२ सिटे बस प्राप्त गरेका छन् ।

नगरपालिकाले बस खरिदको लागि प्रतिविद्यालय १० लाख रुपैंयाँ उपलब्ध गराएको थियो ।सामुदायिक विद्यालयले भन्सार छुटसहित झण्डै २१ लाख रुपैंयाँमा बस खरिद गरेका हुन् ।

आइतबार जनजागृति मावि, जनभावना मावि, शिवपुर मावि, पशुपति मावि र जनता माविले बस प्राप्त गरेका हुन् । अनुदान प्राप्त गिर्वाण साधारण तथा संस्कृत माविले पनि छिट्टै बस खरिद गर्ने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर अभिवृद्धिलाई मुख्य प्राथमिकतामा राखेको तिलोत्तमा नगरपालिकाले यसअघि सवारीसाधन खरिदको लागि विद्यालयलाई नगद अनुदान दिँदै आएकोमा यो वर्ष विद्यालयको मागअनुरुप नयाँ बस खरिदको लागि बजेट विनियोजन गरेको हो ।

शिक्षामा लगानी बढाएको नगरपालिकाले सामुदायिक बिद्यालयहरुमा विद्यार्थीको आकर्षण थप बढाउँदै निजी विद्यालयसँगको प्रतिस्पर्धी क्षमता बढाउन सामुदायिक विद्यालयलाई बस खरिदमा सहयोग गरेको हो ।

तिलोत्तमाका अन्य चार विद्यालयले समेत बस सञ्चालन गर्दै आएका छन् ।नगरपालिकाले विगत वर्षदेखि नै शिक्षा क्षेत्रमा लगानी बढाउँदै आएकोमा यस आर्थिक वर्षमा बढी विद्यार्थी संख्या भएका र यातायातका साधन नभएका विद्यालयलाई छनौटमा राखी बस खरिदमा सहयोग प्रदान गरिएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए ।

उनले माग र औचित्यको आधारमा नगरपालिकामा रहेका अन्य विद्यालयलाई पनि यसैगरी बस खरिदमा अनुदान प्रदान गरिने बताए । तिलोत्तमामा हाल ४२ वटा सामुदायिक विद्यालय छन् । जनप्रतिनिधि आएदेखि यहाँका सामुदायिक विद्यालयमा धेरै परिवर्तन आएको छ ।

शिक्षक अनुदान, निःशुल्क दिवा खाजा, छात्रालाई निःशुल्क स्यानेटरी प्याड, विद्यालय रंगरोगन, कक्षाकोठासहित कम्पाउण्ड वाल निर्माण, विद्यालय नर्सिङ सेवा, आकर्षक इसिडी कक्षा निर्माण, बगैचा निर्माणलगायतका तमाम कामहरु नगरपालिकाले गर्दै आएको छ ।

टाढाबाट अध्ययनको लागि आउने बालबालिकाहरु लक्षित गरी बस सेवा सुरु भएकोमा शिक्षकहरु पनि हर्षित छन् । शिवपुर माध्यमिक विद्यालयका सहायक प्रअ केशवराज भण्डारीले बस सञ्चालनले सामुदायिक विद्यालयप्रति विद्यार्थीहरु थप आकर्षित हुने दाबी गरे ।

उनले विद्यालयले आफ्नै श्रोत व्यवस्थापन गरी बस सञ्चालन गर्ने बताए । नगर प्रमुख बासुदेव घिमिरेले आफ्नै यातायातको साधन भएमा विद्यार्थीको संख्या बढाउन सकिन्छ भन्ने विद्यालयहरुको मागअनुसार नगरपालिकाले बस खरिदमा अनुदान दिएको बताउँदै बसको प्रभावकारी सञ्चालन गर्न आग्रह गरे ।

उनले पूर्वाधार निर्माणमा सामुदायिक विद्यालयमा ठूलो लगानी भैसकको बताउँदै गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । आइतबार कोटेशनको आधारमा पाँच विद्यालयले कोटिहवामा रहेको पुजन अटोमोबाईल्स प्रालिमार्फत् एसएमएल ईसुजु कम्पनीको बस खरिद गरेका हुन् ।

कम्पनीका अध्यक्ष डोलराज बस्यालले नेपाल सरकारको कर र भन्सार महशुल छुट गरि प्रति बस २० लाख ९५ हजार रुपैयाँमा विद्यालयलाई प्रदान गरिएको जानकारी दिए । उनले जापानको ईसुजु र भारतको स्वराज माज्दा कम्पनी एक भई भारतमै निर्माण भएको ४२ सिटे आरामदायी गाडी भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर