‘पथेर’ले साहित्यको कथित मूलधार भत्काउनेछ’ – Nepal Press

‘पथेर’ले साहित्यको कथित मूलधार भत्काउनेछ’

काठमाडौं ।  कथाकार श्याम साहको दोश्रो कथासंग्रह  ‘पथेर’ सार्वजनिक भएको छ । कथासंग्रह ‘पथेर’ सार्वजनिकीकरण कार्यक्रममा बोल्दै लेखक राजन मुकारुङले भने, ‘नेपाली साहित्यको पुरानो मानक र व्याकरणमा राखेर यो कृतिलाई विद्वानहरुले हेर्नुभयो भने कृति आफ्नो लाग्दैन ।’

पुरानै दृष्टिकोणबाट कथासंग्रहलाई पढ्न खोजेमा कथाकारले उठान गर्न खोजेको विषय र मुद्दासँग पाठक ‘कन्भिन्स’ हुन गाह्रो पर्ने उनले बताए । केन्द्रमा बसेर एकाध व्यक्तिहरुले नेपाली समाजका बारेमा गरेको व्याख्या अपर्याप्त रहेको उनको भनाइ थियो । नेपालको सम्पूर्ण भूगोलका साहित्यहरुको प्रतिनिधित्व भएमात्रै साहित्यको वास्तविक मूलधार निर्माण हुने उनको तर्क थियो ।

साहित्यको कथित मूलधारलाई भत्काउनका लागि श्याम साहको कथासंग्रहले योगदान दिने उनले बताए । कथाकारले आफ्ना कथाहरूमार्फत् स्थापित बिम्बहरूलाई भत्काउन सफल भएको मुकारुङको भनाइ थियो ।

संग्रहमाथि आफ्नो धारणा प्रस्तुत गर्दै लेखक विभूति भट्टराईले साहका कथाहरू पढेपछि पाठकलाई मधेशप्रति अपनत्व महसुस हुने बताइन् । राज्यद्वारा मधेशमाथि भएको विभेदका विविध आयामहरुलाई कथाकारले आफ्ना कथाहरुमार्फत प्रस्तुत गर्न सफल भएको उनले बताइन् । मधेशको सामाजिक मनोविज्ञान, मधेशी समाजमा व्याप्त पितृसत्तात्मक संरचना, मधेशको समग्र अर्थ-राजनीति, आदि विषयलाई कथाकारले मिहिन ढंगले आफ्ना कथाहरुमा चित्रण गरेको उनले बताइन् ।

केन्द्रले रटाइरहेको विकासको रटानमाथि पनि मधेशको फरक दृष्टिकोण हुनसक्नेतर्फ श्याम साहको कथाले सतर्क गराएको भट्टराईको भनाइ थियो ।

त्रिवि समाजशास्त्र विभागका प्रमुख डा युवराज लुईंटेलले, मधेशका कथाहरु लेखेर श्याम साहले नेपाली साहित्यमा सशक्त उपस्थिति जनाएको बताए । साहका कथाहरुमा मधेशको र विशेषतः महेन्द्र राजमार्गदेखि दक्षिणको आञ्चालिकता झल्किएको उनले बताए । मधेशमै पनि सबैभन्दा तल्लो तहमा राखिएका समुदायहरुको कथा लेखेकोले मधेशभित्रको वर्गीय अनुहार साहले देखाउन सफल भएको उनको भनाइ थियो ।

लेखक एवम् राजनीतिक समीक्षक सिके लालका अनुसार साहका कथाहरुमा मधेशभित्रको समाजलाई हेर्ने वास्तविक दृष्टिकोण प्रस्तुत गरिएको छ । साहित्य समाजको ऐना भएकाले त्यसमा परावर्तित हुने कुरा लेखकको पृष्ठभूमि र दृष्टिकोणमा भर पर्ने उनले बताए । समाजको उठान सही तरिकाले भएका कथाहरु नै कालजयी हुने उनको धारणा थियो । मधेशको सामाजिक-राजनीतिक चित्रणमा कथाकार साह सतप्रतिशत सफल भएको उनको भनाइ थियो ।

फिनिक्स बुक्सले प्रकाशन गरेको कथासङ्ग्रह ‘पथेर’भित्र एघारवटा कथाहरु संग्रहित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर