रविन्द्र मिश्रले ल्याए ‘राजनीतिसँगै राजकाज’ – Nepal Press

रविन्द्र मिश्रले ल्याए ‘राजनीतिसँगै राजकाज’

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक भएको छ । शनिबार आयोजित एक कायक्रममा लेखक मिश्रसहित पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले पुस्तक सार्वजनिक गरे ।

पुस्तक सार्वजनिक कार्यक्रममा तीनै जनाले राजनीति तथा राजकाजका विषयमा अन्तरसंवादसमेत गरेका थिए । पूर्वप्रधानमन्त्री डा. भट्टराईले राजनीति र राजकाज बेग्लाबेग्लै विषय नभइ एउटै विषयका हाँगा भएको बताए ।

‘राजनीति जंगल हो भने राजकाज एउटा रुख हो,’ उनले भने, यी दुईलाई फरक कोणबाट हेर्न मिल्दैन ।’ पुस्तकले उठाएको कल्याणकारी लोकतन्त्रको अवधारणा नेपाल जस्ता मुलुकका लागि उपयोगी रहेको उनले बताए । साथै, देशको राज्य सञ्चालनमा सबै जाति, वर्ग, लिंग र समूदायको बराबर प्रतिनिधित्व नभएसम्म लोककल्याणकारी राज्य अधुरो हुने उनको टिप्पणी थियो ।

अर्का वक्ता वाग्लेले मिश्रको पुस्तक राजनीतिक नेतृत्वमा चासो हुने सबैका लागि उपयोगी रहेको बताए । ‘नेपालका लागि उदार कल्याणकारी राज्य, गतिशील निजी क्षेत्र र समतामूलक समृद्धिबीचको अकाट्य सम्बन्धको गहकिलो अर्थ–राजनीतिक दस्तावेज पनि हो, यो पुस्तक,’ उनले भने। यसले समाजलाई समृद्धिको बाटोमा अघि बढ्न मार्गनिर्देश गर्ने उनको भनाइ छ।

कार्यक्रममा लेखक मिश्रले नेपालमा राजनीतिक परिवर्तन धेरै भए पनि जनताले त्यसको सकारात्मक अनुभूति गर्न नपाएको बताए । ‘हामीले राजनीति धेरै गर्यौ, तर राजकाजमा सधैं चुक्यौं,’ उनले भने, ‘अहिलेको नेतृत्व इमानदार, क्षमतावान् र दूरदृष्टिपूर्ण विचार राख्ने नभएसम्म देशको विकास हुन सक्दैन ।’

मिश्रको प्रकाशित पुस्तकमा ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’ लाई मूल निबन्ध बनाइएको छ । त्यसबाहेक शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्रलगायत समाजका विविध क्षेत्रको विश्लेषण ३८ ओटा स्तम्भ–निबन्धमार्फत गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *