जितपछि विपुल पोखरेल भन्छन् : प्रतिद्वन्द्वीका एजेन्डाको पनि स्वामित्व लिन्छु – Nepal Press

जितपछि विपुल पोखरेल भन्छन् : प्रतिद्वन्द्वीका एजेन्डाको पनि स्वामित्व लिन्छु

काठमाडौं । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले आफ्नो कार्यकालमा प्रेस स्वतन्त्रता र श्रमको आन्दोलनलाई उचाइमा पुर्‍याउने प्रतिवद्धता जनाएका छन् ।

उनले यो निर्वाचन परिणामलाई जित-हारका रुपमा नलिन सबै पक्षलाई आग्रह गरे । निर्वाचन परिणामपछि नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै पोखरेलले भने, ‘म निर्वाचनको मैदानमा आफूले व्यक्त गरेका प्रतिवद्धता मात्र होइन, मेरा प्रर्तिपर्धीहरुले उठाएका एजेन्डाको पनि स्वामित्व लिएर अघि बढ्छु । उहाँहरुका एजेन्डा पनि मूल एजेन्डा बन्नेछन् ।’

उनले पत्रकार महासंघ सबै पत्रकारको साझा संस्था हो भन्ने व्यवहारिक अनुभूति दिलाउने बताए ।

‘हरेक सदस्यले महासंघमा आफ्नो अनुहार देख्नुहुनेछ र अपनत्वको महसुस गर्नुहुनेछ । हामी प्रेस स्वतन्त्रता र श्रमका मुद्दामा कसैसँग सम्झौता गर्दैनौ ।’ उनले प्रतिस्पर्धीहरुलाई पराजयको महसुस नगर्न आगह गरे ।

‘उहाँहरुले हार्नुभएको होइन, उपविजेता हुनुभएको हो । उहाँहरुले आफू यो आन्दोलनभन्दा बाहिर छु भन्ने सोच्नु हुँदैन । म सबैजना सँगै हिँड्ने वातावरण बनाउँछु’ पोखरेलले भने ।

एउटालाई हराउनका लागि धेरैवटा मिलेको आरोप तपाईंहरुलाई छ नि भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘चुनावमा गइसकेपछि जित्ने रणनीति सबैको हुन्छ । उहाँहरुले त्यो रणनीति बनाउनुभएको हो । कसैलाई हराउनका लागि नियतवस बनाइएको गठवन्धन होइन ।’

पत्रकार महासंघको चुनाव परिणामलाई राजनीतिक आँखाले नहेर्ने उनले आग्रह गरे ।

पोखरेलले भने, ‘यो नितान्त पत्रकारको चुनाव हो । हामी प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने कानूनको जबरजस्त विरोध गर्छौं । त्यसो गर्दा कसैले हामीलाई अर्को कित्तामा देख्ने कुरा गलत हो । कुन नेताले कसरी यसलाई विश्लेषण गर्नुभयो म त्यतितिर जान चाहन्न ।’

को हुन् विपुल ?

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावमा शानदार जित हासिल गरेका विपुल पोखरेल कांग्रेसनिट पत्रकार हुन् । साविकको महासंघ नेतृत्वमा उनी वरिष्ठ उपाध्यक्ष थिए ।

पोखरेलसँग लामो समय मोफसलमा रहेर पत्रकारिता गरेको अनुभव छ । दाङबाट प्रकाशित हुने ‘दृष्टिकोण साप्ताहिकबाट उनको पत्रकारिता यात्रा सुरु भएको थियो । पछि काठमाडौं आएर उनले ‘घटना र विचार’, ‘जनमञ्च’, हिमालय टाइम्स, नागरिक लगायत पत्रपत्रिकामा काम गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर