प्रचण्डको आरोप-केपी ओलीले राज्यसत्ता कब्जा गर्दैछन् (भिडियो) – Nepal Press

प्रचण्डको आरोप-केपी ओलीले राज्यसत्ता कब्जा गर्दैछन् (भिडियो)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानुनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीद्धारा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रबार बसेको तीन दलको बैठकले सरकारले राज्यका सबै अंगहरूलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोसिस गरेको निष्कर्ष निकालेको बताएका हुन् ।

यस्तै कर्मचारीतन्त्रलाई आतंकमा बाँच्न बाध्य पारिएको र उनीहरुको वृत्ति विकास, स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोसिस भएको पनि बताए । उनले भने, ‘हिजो मात्रै हामी संसद भित्र भएका तीनवटा प्रमुख दलहरूको बैठक बस्दै थियौं । सरकारको बारेमा कुरा गर्न तपाईहरूलाई थाहा छ । त्यहाँ सबैको एउटा कुरामा सहमति देखा पर्‍यो । अहिलेको सरकारले कर्मचारी तन्त्रलाई आतंकमा बाँच्न बाध्य पार्न थालेको छ ।’

राज्यका सबै अंगहरूलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोसिस गरिएको उनले बताए ।  ‘उनीहरूको वृत्ति विकास उनीहरूको स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोसिस भएको छ । राज्यका सबै अंगहरूमाथि जबरजस्ती कब्जा जमाउने सडयन्त्र सुरु भएको छ भन्नेकुरामा सबैको सहमति देखियो त्यहाँ । त्यो आफैमा एउटा ठूलो बिडम्बनाको स्थिति हो,’ प्रचण्डले भने ।

सरकारले कानुन अनुसार हुनै नसक्ने र हुनै नहुने काम गरिरहेको पनि उनले बताए ।  सरकार अवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक काम गर्न तर्फ उन्मुख भइराखेकोले देशमा निकै ठूलो अन्यौल र सन्त्रास उब्जिएको पनि बताए ।

‘अहिले हामी हेर्‍यौं भने दिनदिनै जस्तो के संविधान, के ऐन कानुन, नियम सबैलाई मिच्दै जबरजस्ती राज्य सत्ता कब्जा गर्ने एउटा डरलाग्दो अभियान चलेको स्थिति छ अहिले । हुनै नसक्ने र हुनै नहुने कुराहरु भइराखेका छन् । जे आधिकारीक हो, जे वैधानिक हो, जे संवैधानिक हो, जे बिधिसम्मत हो त्यसलाई गलहत्याइएको छ, त्यसलाई निमोठिएको छ । जे अवैधानिक हो, असंवैधानिक हो, अलोकतान्त्रिक हो, नियम विरोधी कुराहरु त्यसलाई पच्छ्याइएको छ सरकारबाट यही सबैचिज अहिले देशमा निकै ठूलो अन्योल र सन्त्रास छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले सरकारले संविधानलाई मिच्ने कोसिस जारी राख्दै गएमा नयाँ खालको विद्रोहमा जानुपर्ने पनि बताउनुभयो । लोकतान्त्रिक गणतन्त्र र संविधान सभा मार्फत बनेको संविधानको रक्षाको निम्ति पनि आन्दोलनमा जानुको विकल्प नदेखिएको बताए ।


प्रतिक्रिया

One thought on “प्रचण्डको आरोप-केपी ओलीले राज्यसत्ता कब्जा गर्दैछन् (भिडियो)

  1. एकपटक प्रचण्ड र बाबुरामलाई सोधौं, २००२ जुनमा भारतीय प्रम कार्यलयमा बुझाएको पत्रमा के लेखेका थिए? अनि बहस गरौं!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर