रुपन्देहीमा सम्पत्ति र सम्बन्धका कारण बढ्दै आपराधिक घटना – Nepal Press

रुपन्देहीमा सम्पत्ति र सम्बन्धका कारण बढ्दै आपराधिक घटना

रुपन्देही । रुपन्देहीमा केही महिनायता अनौठा हत्याका घटना बढ्न थालेका छन् । अधिकांश सम्पत्ति तथा आर्थिक लोभ र श्रीमान् श्रीमतीको झगडाकै कारण यस्ता घटना भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यौनसम्पर्क गर्न नदिएको झोंकमा रुपन्देहीको सियारी गाउँपालिका-३ हर्नैयाकी कुस्मा बानियाँको उनकै श्रीमान् गनपतले हत्या गरे ।
घटना चैत २६ को हो । हत्या अभियोगमा ६६ वर्षीय गनपतलाई पक्राउ प्रहरीले पक्राउ गरेको छ । गाउँमै धान कुट्ने मिल सञ्चालन गर्दै आएका गनपतले यौनको विषयमा विवाद भएपछि श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले सामान्य विषयमा विवाद हुँदा पनि ज्यान लिनेगरी आवेगमा आएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

रुपन्देहीको मायादेवी गाउँपालिका-६ का ३४ वर्षीया राजिन्दर यादवको आफ्नै काकाको संलग्नतामा हत्या भयो । छोरा राजीन्दरलाई सम्पत्ति दिनुपर्ने भएपछि काका रामवेलास यादवले २०७७ माघ ६ गते केही व्यक्तिहरूलाई लगाएर हत्या गरे ।

रुपन्देहीकै गैडहवा गाउँपालिका-६ का २६ का दिनेश लोधको शव पुस १७ गते नजिकै गुलरिया सडकको पेटीनजिक फेला पर्‍यो । प्रहरीले लामो समय लगाएर अनुसन्धान गरेपछि घटनामा लुम्बिनी सांस्कृतिक नगरपालिका-७ का रामवरण यादवको संलग्नता रहेको पुष्टि भयो । आफ्नी श्रीमतीसँग दिनेशले यौन सम्बन्ध राखेको थाहा पाएपछि हत्या गरेका यादवले प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका निरीक्षक रवीन्द्र महतले घटनास्थलबाट उठाइएको प्रमाण, प्राविधिक पक्षको विश्लेषण लगायत अन्य अनुसन्धानबाट लोधको हत्या रामवरण यादवबाटै भएको खुल्न आएको बताए । ऋण मिनाहासहित बीमा रकम भुक्तानीको लोभमा रुपन्देहीको पतिजियामा भाइसँग मिलेर एक व्यक्तिले श्रीमतीको हत्या गरे ।

हत्यालाई दुर्घटना भन्दै प्रहरीमा सूचना दिने मृतकका श्रीमान् र देवरलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हत्याको आरोपमा अभियुक्तलाई सार्वजनिक गर्‍यो । दुईसाता अगाडि मात्रै जिल्लाको कोटहीमाई गाउँपालिकार्‍ १ पतिजियामा भएको सवारी दुर्घटनामा परी मृत्यु भएको भनिएको घटना योजनासहित हत्या भएको प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो ।

सिपवास्थित झुलनीपुरदेखि मर्चवार जाने सडकमा पिकअपको ठक्करबाट महिलालाई ठक्कर दिई ब्याक गरेर पटकपटक गाडी चढाई महिला शक्त घाइते भएको अवस्थामा छ भन्ने सूचना इलाका प्रहरी कार्यालयले पाउनासाथ घटनाको अनुसन्धान सुरु गर्‍यो ।

मृतकका श्रीमान् शैलेशकुमार लोधले आफू छोरासहित मोटरसाइकलमा गइरहेको र नजिकै २ जना सवार अर्को मोटरसाइकल पनि रहेको भनी श्रीमान्ले सूचना दिएका थिए ।

जाहेरीमा लुटपाट भन्ने देखाए पनि श्रीमानले नै योजनाबद्ध रूपमा श्रीमतीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले आवश्यक अनुसन्धानका लागि प्रारम्भिक चरणमा सवारी साधन र चालकलाई नियन्त्रणमा लिए पनि आवश्यक सोधपुछ र सवारी परीक्षणले दुवै अवस्था घटनास्थलमा नभएकाले दुर्घटना नभई हत्या भएको हुन सक्ने आंकलन प्रहरीले गरेको थियो ।

घटनालाई प्रहरीले दोस्रो चरणबाट अनुसन्धान गर्न श्रीमान् र घर परिवारलाई निगरानी र शंकास्पद व्यवहारले उनीहरूको संलग्नता रहेको पुष्टि गर्‍यो । अनसन्धानबाट परिवारमा नै शंका भएपछि घटना भएको तेस्रो दिन अभियुक्त मृतकका पति शैलेशकुमार लोध र देवर राजेशकुमार लोधलाई प्रहरीले नियन्त्रणमा लिई ज्यानसम्बन्धी मुद्दा चलाइरहेको छ ।

मृतकको नाममा रहेको ऋण फिर्ता हुने र भारत तथा नेपालबाट करीब ४० लाखको बिमा रकम मृत्यु भएपछि पाउने लोभका कारण योजनाबद्ध रूपमा आफ्नो भारतीय कारले किचेर ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

९ फागुन २०७७ मा रुपन्देहीको मायादेवी गाउँपालिका-३ मा आफ्नै आमाले एक वर्षीया छोरीको हत्या गरिन् । मायादेवी-३ हरहराकी २१ वर्षीय प्रेमा यादवले प्रेमीसंगको सम्बन्ध श्रीमानले चाल पाएपछि बढेको खटपट र झग्डाका कारण आफूले छोरीको हत्या गरिन् ।

छोरीको हत्यापछि उनले आत्महत्याको प्रयास गरिन् । छोरीको हत्यापछि आतमहत्या प्रयास गर्दै गर्दा आफ्नै नन्दले देखेपछि उनी भने बाँच्न सफल भएकी छन् । प्रहरीले अनुसन्धान बढाउदै जाँदा प्रेमाले गर्भवती भएको ७ महिनामा बच्चीलाई जन्म दिएकी थिइन् । बच्चा सातै महिनामा कसरी जन्मियो भन्ने जिज्ञासा गाउँले र आफन्तलाई रहिरहेको थियो ।

तर, बाहिर बोल्ने र सोधपुछ गर्ने प्रयास कसैले गरेका रहेनछन् । आफन्त र गाउँलेका अनुसार प्रेमा राम्री थिइन् । परिवारमा सधैं माया पाइरहेकी प्रेमाले केही महिनाअघि फोनमा अर्का पुरुषसँग कुराकानी गरेको श्रीमान् राजकुमारले थाहा पाए ।

उनको कुराकानीमा प्रेमाका साथी (प्रेमी)ले बच्ची आफ्नो भएको बताइरहेका थिए । त्यसपछि परिवारको इज्जतको डरले श्रीमान्ले कुरा दबाए ।
रुपन्देहीकै लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालिदहमा पुस १ गते राति करीब २१ वर्षीय सम्झना चाई घरमै जलेर आत्मदाह गरेको सूचना प्रहरीले पायो ।

प्रहरीलाई घटनामा केही आशंका लागेसँगै विभिन्न कोणबाट अनुसन्धान गर्न मृतकका श्रीमान् मुकेशलाई पक्राउ गरी अनुसन्धान थाल्यो ।
दृश्य हेर्दा मृतकले आत्मदाह गरेको नभई हत्या भएको हुनसक्ने देखिएको थियो । उत्तानो अवस्थामा माथिको भाग मात्र जलेको, पोस्टमार्टममा पनि भित्री भागमा धुवाँ नगएको देखेपछि केही कारणले हत्या भएको पुष्टि गरे ।

तर, के कारणले हत्या भयो भन्नेबारे अनुसन्धान गर्दै जाँदा उनकै श्रीमान् मुकेशले दाइजोको लोभमा हत्या गरेको रहस्य खुल्यो ।

दाइजोका कारण हत्या भएको दाबीसहित माइती पक्षले इलाका प्रहरी कार्यालय लुम्बिनीमा जाहेरी दिएपछि घटनाले नयाँ मोड लिएको थियो ।
एक वर्षअघि उनीहरूबीच प्रेम विवाह भएको थियो । विवाह भएको ७ महिनामै जन्मिएको बालकको मृत्यु भएपछि उनीहरूबीच बच्चा र दाइजोको विषयलाई लिएर विवाद भएकाले श्रीमान्ले हत्या गरेको अनुसन्धानमा देखियो ।

श्रीमान्‌ले कोठाभित्र गई श्रीमतीलाई घाँटी बेरेर मारेको र बेडमै आगो लगाई भित्रबाट चुकुल बन्द गरी भेन्टिलेसनबाट बाहिर बाँसको सिँढी बनाइ निस्केको स्वीकारेका छन् ।

यी त रुपन्देहीका प्रतिनिधि घटनामात्रै हुन् । रुपन्देहीमा एक वर्षको अवधिमा भएका हत्या (कर्तव्य ज्यान) सम्बन्धी २० वटा घटना घटेका छन् । रुपन्देहीमा भएको हत्या सम्बन्धी घटना कतिपय सम्पत्तिका नाममा भएका छन् भने कतिपय अनैतिक प्रेम सम्बन्ध, यौन विचलन र कतिपय रिसिइवीका कारण भएको प्रहरीको निष्कर्ष छ ।

रुपन्देहीमा भएका हत्याका घटनामा जिल्लाको दक्षिणी र पश्चिमी भेगमा बढी घटना घटेको रुपन्देही प्रहरीको तथ्याङमा उल्लेख छ । शिक्षा र चेतनाको अभावका कारण अन्य क्षेत्रको तुलनामा त्यो क्षेत्रमा बढी मात्रामा हत्या तथा अन्य आपराधिक घटना बढी मात्रामा घट्ने गरेको प्रहरीको विश्लेषण छ ।

रुपन्देहीका पूर्व प्रहरी उपरीक्षक प्रविन पोखरेलकाका अनुसार मोवाइल तथा इन्टरनेटको गलत प्रयोगका कारण पनि यस्ता घटना बढेका छन् । हातहातमा मोबाइल तथा इन्टरनेटबाट गलत क्रियाकलापमा युवायुवतीको लत बस्ने गरेको, माबवाइलमा हेरिने फिल्मअनुसार व्यवहारमा लागू गर्न खोज्दा थुप्रै घटना घटेको पाइएको र अशिक्षा, बेरोजगारी र मदिराको गलत प्रयोगले पनि समस्या निम्त्याएको उनको विश्लेषण छ ।

आम मानिसमा बढ्दै गएको नकारात्मक सोचका कारण पनि समाजमा आपराधिक गतिविधि बढ्ने गरेको प्रहरकीको बुझाइ छ । खुला सिमानाका कारण अपराध घटाएर छिट्टै भारत पस्न सकिने, कानुनी दायरामा आउनबाट जोगिन सकिन्छ भन्ने ठानेर पनि केही घटना भेटिएको प्रहरीको विश्लेषण छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर