कानूनबिनै मन्त्रीपरिषदको निर्णय: तेस्रोलिंगीबाट महिला बनिन् भूमिका – Nepal Press

कानूनबिनै मन्त्रीपरिषदको निर्णय: तेस्रोलिंगीबाट महिला बनिन् भूमिका

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रीपरिषदको निर्णय आज सार्वजनिक गरेसँगै भूमिका श्रेष्ठको नाम चर्चामा आएको छ । नागरिकतामा उनको लिंग परिवर्तन गर्नेगरी संशोधन गर्न मन्त्रीपरिषदले स्वीकृति दिएको मन्त्री गुरुङले जानकारी गराएका छन् ।

मन्त्रीपरिषदको निर्णयसँगै भूमिका अब ‘तेस्रो लिंगी’ बाट आधिकारिकरुपमा ‘महिला’ बन्ने भएकी छन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०६२ सालमा कैलाश श्रेष्ठ नामबाट नागरिकता लिएकी थिइन् । उक्त नागरिकतामा उनको लिंग ‘अन्य’ उल्लेख थियो ।

तेस्रो लिंगीको पहिचानलाई मान्यता दिइएसँगै कानूनअनुसार नागरिकतामा उनीहरुको लिंग ‘अन्य’ लेख्ने गरिएको छ । तर, पछि त्यसमा चित्त नबुझाएर आफूलाई महिलाको दर्जा दिनुपर्ने भूमिकाले माग गर्न थालिन् । आफूले लिंग परिवर्तन गरेको प्रमाणसहित उनले जिप्रका काठमाडौंमा निवेदन दिएकी थिइन् । उनको निवेदन अध्ययन गरेर जिप्रकाले गृह मन्त्रालयमा पठाएको थियो भने गृहले मन्त्रीपरिषदमा लगेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निवेदकबाट पेश भएकाे मेडिकल र अन्य कागजातको अध्ययन गरेर विश्वस्त भएपछि गृह मन्त्रालयमा पठाइएको बताए । ‘हामीले यसरी लिंग परिवर्तनको स्वीकृतिका लागि माथि सिफारिस पठाएको यो पहिलो केस हो,’ उनले भने ।

नेपालको नागरिकता सम्वन्धी कानूनले यसरी नागरिकतामा लिंग परिवर्तन गर्न सकिने व्यवस्था गरेको छैन । पहिल्यै लिंग परिवर्तन गरेकाले सामान्य प्रक्रियाबाट परिवर्तित लिंग उल्लेख गराएर नागरिकता लिन सक्छन् । तर, एकपटक नागरिकता लिइसकेपछि लिंग परिवर्तन गर्नेका हकमा भने कानून मौन छ । भूमिकाले नागरिकता लिइसकेपछि आफू तेस्रोलिंगीबाट महिलामा रुपान्तरण भएको विवरण पेश गरेकी थिइन् ।

नागरिकतामा भएकाे नाम, थरसम्वन्धी सामान्य त्रुटीलाई  प्रमुख जिल्ला अधिकारीले नै संशोधन गर्न सक्छन् । तर, गम्भिर परिवर्तन गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीले मन्त्रालयमा र मन्त्रालयले मन्त्रीपरिषदमा पठाउने गरेको छ । गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले यसअघि पनि केही व्यक्तिको नागरिकतामा लिंग परिवर्तनसम्वन्धी निर्णय मन्त्रीपरिषदबाट भएको दावी गरे । तर, यस्तो कति जनाको हकमा भएको छ भन्ने उनले बताउन सकेनन् ।

कानून नै नभएको अवस्थामा मन्त्रीपरिषदले केमा टेकेर निर्णय गर्यो त भन्ने प्रश्नमा उनले भने, ‘कानूनमा व्यवस्था नभएकाले नै मन्त्रीपरिषदले निर्णय गर्नुपरेको हो ।’ भट्टराईका अनुसार मन्त्रालयले भूमिकासँगै अर्का एक व्यक्तिको सिफारिस मन्त्रीपरिषदमा पठाएको थियो । तर, एकजनाको हकमा किन निर्णय भएन भन्ने जानकारी नरहेको उनले बताए । नेपालको नागरिकतासम्वन्धी नयाँ कानून अहिले संसदमा विचाराधिन छ । त्यसमा पनि लिंग परिवर्तन सम्वन्धि विषय समावेश छैन ।

को हुन् भूमिका श्रेष्ठ ?

भूमिकाको वास्तविक नाम कैलाश श्रेष्ठ हो । तेस्रो लिंगीका रुपमा चिनिएका उनलाई केही समयअघि एउटा अन्तर्राष्ट्रिय संस्थाले लैंगिक समानतासम्वन्धी विश्वका शीर्ष १०० युवाको सूचिमा समावेश गरेको थियो । ब्लु डाइमन्ड सोसाइटीमा आवद्ध उनले लैगिक समानताको लागि लड्दै आएकी छन् ।

भूमिका २०४४ सालमा काठमाडौंको नैकापमा जन्मेकी हुन् । उनी लैंगिक अवहेलना भोग्नुपरेको भन्दै ९ कक्षापछि स्कुल जान छाडेकी थिइन् । ब्लु डाइमण्ड सोसाइटीमा आएपछि उनी तेस्रो लिंगीका रुपमा खुलेकी हुन् । भूमिकाले आफ्नो आत्मकथा ‘भुमिकाः तेस्रोलिंगीको आत्मकथा’ प्रकाशित गरेकी छन् । साथै, ‘हाइ वे’, ‘कान्छी’ लगायत नेपाली चलचित्रमा अभिनयसमेत गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *