देउवा र प्रचण्डलाई जसपाले भन्यो– तत्काल ओलीको विकल्प सोचेका छैनौं (भिडियाे) – Nepal Press

देउवा र प्रचण्डलाई जसपाले भन्यो– तत्काल ओलीको विकल्प सोचेका छैनौं (भिडियाे)

‘ओली सरकारले हाम्रो माग पूरा गर्दैछ, बन्दी रिहाइको प्रक्रिया सुरु भयो– राजेन्द्र महतो

काठमाडौं । आफ्नै नेतृत्वमा सरकार बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थालेको पहलको पहिलो गाँसमै ढुंगा परेको छ । नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) नेपालले कांग्रेस नेतृत्वमा तत्काल सरकार बन्न सम्भव नरहेको स्पष्ट पारेको छ ।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा कांग्रेस सभापति देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा नेकपा माओवादी केन्द्र र जसपाको धारणा आधिकारिक धारणा मागेका थिए । माओवादीले वर्तमान सरकारको विकल्प अपरिहार्य रहेको भन्दै देउवाको प्रस्तावमा सहमति जनाए पनि जसपाले तत्काल सहकार्यको सम्भावना नरहेको स्पष्ट पारेको हो ।

‘कांग्रेसले पहिलोपटक नयाँ सरकार बनाउनेबारे प्रस्ताव गर्यो । हामीले छलफल गर्छौ मात्रै भनेनौ, हाम्रा माग पूरा गर्न सरकार लागिपरेको पनि जानकारी दिएका छौं’, बैठकपछि जसपा अध्यक्ष महन्थ ठाकुरले भने ।

बैठकमा ठाकुरले नै जसपाका मागबारे सरकारले काम गरिरहेको र माग सम्बोधन हुने अवस्थामा नयाँ सरकारबारे नसोचिने बताएका थिए । जवाफमा कांग्रेस र माओवादीका नेताहरुले जसपाको माग पूरा गर्न आफूहरु पनि तयार रहेको बताए । यद्यपि जसपा अध्यक्ष ठाकुरले उधारोमा नभएर नगदमै आफ्ना माग पूरा गराउन चाहेको बताएका थिए ।

बैठकमा सहभागी जसपा नेता राजेन्द्र महतोले पनि कांग्रेस नेतृत्वमा तत्काल सरकार बन्न सम्भव नरहेको बताए । ‘ओली सरकारले हाम्रो माग पूरा गर्दैछ । हिजोमात्रै राजनीतिक बन्दी रिहाइको प्रक्रिया सुरु भयो । यसैले हाम्रो माग पूरा गर्छ भने नयाँ सरकार किन बनाउने ?’, महतोले नेपाल प्रेससंग भने ।

उनका अनुसार कांग्रेस सभापति देउवाले आफ्नो पार्टीको निर्णय सुनाए पनि वैकल्पिक सरकार बन्ने सम्भावना तत्काल छैन ।

‘कांग्रेसको नेतृत्वमा सरकार बनाउनेबारे हाम्रो पार्टीमा छलफल भएको छैन । ओलीले हाम्रो माग पूरा गरेनन् भनेमात्रै देउवाको बारेमा सोच्ने हो’, महतोको भनाइ छ ।

बैठकको प्रारम्भमै सभापति देउवाले राखेको प्रस्तावबारे जसपा अध्यक्ष ठाकुरको प्रतिक्रिया सुनेपछि कांग्रेस–माओवादी नेताहरु निराश बनेका थिए । ‘कांग्रेसले सरकारको नेतृत्व दावी गरेपनि जसपाले ओलीसंगै सजिलो मानेजस्तो देखियो । नयाँ सरकार बन्न गार्हो हुने देखियो’, बैठकमा सहभागी एक कांग्रेस नेताले नेपाल प्रेससंग भने ।

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले वैकल्पिक सरकार गठनबारे छलफल सुरु भएपनि जसपाको निर्णय पर्खनुपरेको बताए । ‘कांग्रेसको प्रस्तावमा हामी सकरात्मक छौ तर जसपाले छलफलका लागि समय मागेको छ । जसपाले निर्णय लिएपछि मात्रै थप विषय अगाडि बढ्नेछ’, श्रेष्ठले पत्रकारहरुसंग भने ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले आफ्नो प्रस्ताव राखिसकेकाले जसपाको निर्णयपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताए । ‘अब जसपाले निर्णय लिएपछि मात्रै नयाँ सरकारबारे ठोस कदम चाल्ने अवस्था बन्नेछ’, शर्माले पत्रकारहरुसँग भने ।

बूढानीलकण्ठ बैठकमा कांग्रेस सभापति देउवासंगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्व विमलेन्द्र निधि र बिजयकुमार गच्छदार, महामन्त्रीद्वय डा.शशांक कोइराला , पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए ।

त्यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा सहभागी थिए । जसपाबाट ठाकुर र महतोबाहेक अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई उपस्थित थिए ।

चैत २० गते कांग्रेस केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन अग्रसरता लिने निर्णय गरेको थियो । सो निर्णयको एक सातापछि मात्रै सभापति देउवाले सत्ता समीकरणको औपचारिक प्रयास गरेका हुन् ।

पहिलो बैठकमै जसपाले तत्काल वैकल्पिक सरकारको सम्भावना नदेखेको बताएपछि नयाँ सत्ता गठबन्धनको प्रयास यथास्थितिमा सम्भव नहुने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *