मोरङमा माधव नेपाल समूहको समानान्तर कमिटी गठन, चन्द्रवीर राई अध्यक्ष – Nepal Press

मोरङमा माधव नेपाल समूहको समानान्तर कमिटी गठन, चन्द्रवीर राई अध्यक्ष

विराटनगर । नेकपा एमालेको माधव नेपाल समूहले मोरङमा समानान्तर जिल्ला र विराटनगर महानगर कमिटी गठन गरेको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा चन्द्रवीर राईको नेतृत्वमा ३ सय २५ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा चण्डीप्रसाद राई र डा. उद्धव पोखरेल छन् । यस्तै सचिवमा राजन केसी, उपसचिवमा ओसिम आलम, निलम ढुंगेल र आर्थिक प्रमुखमा विश्वनाथ राई चुनिएका छन् ।

त्यसैगरी पारुल क्षेत्रीको नेतृत्वमा १ सय ७५ सदस्यीय महानगर कमिटी गठन गरिएको छ । महानगर कमिटिको उपाध्यक्ष खेम तिम्सिना, सचिव किरण दाहाल, उपसिचव योगेशराज भण्डारी चयन छन् ।

कार्यक्रममा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधानविपरित कारबाही गरेको भन्दै आफूहरु पनि हातमा दही जमाएर नबस्ने चेतावनी दिए । आफू पदको लोभी नभएको भन्दै उनले कारबाहीले केही फरक नपर्ने पनि बताए ।

नेपालले भने, ‘पार्टीका अरु पदाधिकारी भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुमाथि कारवाही गर्दा अध्यक्षको हैसियतले ओलीले सोच्नु पर्छ ।’

उनले ओली सुध्रिएको खण्डमा आफूहरु पार्टीमा एकीकृत भएर अघि बढन तयार भएको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर