दुई गाउँपालिकाको केन्द्र र एककाे नाम परिवर्तन गर्ने सरकारको निर्णय – Nepal Press

दुई गाउँपालिकाको केन्द्र र एककाे नाम परिवर्तन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले दुई स्थानीय तहको केन्द्र र एक स्थानीय तहकाे नाम परिवर्तन गर्ने निर्णय गरेकाे छ । यसै साता बसेको मन्त्रिपरिषद् बैठकले डोल्पाकाे छार्का ताङसोङ गाउँपालिकाको केन्द्र गाउँपालिका वडा नं.३ ढाँडगाउँबाट हेरफेर गरी वडा नं.४ को कागकोटमा र बाँकेकाे खजुरा गाउँपालिकाको केन्द्र गाउँपालिका वडा नं.४ बागेश्‍वरीबाट हेरफेर गरी वडा नं.३ को बागमतीनगरमा कायम गर्न स्वीकृति दिने निर्णय गरेकाे हाे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा रामेछापको दोरम्बा गाउँपालिकाको नाम हेरफेर गरी दोरम्बा शैंलुङ गाउँपालिका कायम गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि भएकाे आज सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गर्दै जानकारी गराएका हुन् ।

बैठकले विदेशमा बस्ने नेपाली सुमदायले वा यस समुदायका लागि काम गरिरहेका संघ संस्थाले र नेपाली पाठ्यक्रममा शिक्षण सिकाई क्रियाकलाम सञ्चालन गर्न चाहानेले सम्बन्धित देशको कानुन अनुसार दर्ता गरी सञ्चालन गरेका विद्यालय तहमा माध्यामिक तहसम्मको पठन पाठन सञ्चालनका लागि माग भइ आएमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्विकृति दिन पाउने पनि निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकाे प्रस्तावमा त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको कीर्तिपुरस्थित परीक्षा नियन्त्रण कार्यालयको पश्चिम तर्फको गाङ्खेलको साठी रोपनी जग्गामा त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत नेफ्रोलोजी तथा युरोलोजी लगायतका अन्य जटिल रोगको अध्ययन अध्यापन तथा तालिमसहित विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने मेडिकल सुपरस्पेसियालिटी केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र निर्माणका लागि त्रिभुवन विश्वविद्यालयलाई पुनः प्रयोग गर्न स्वीकृति दिने पनि निर्णय सरकारले गरेको छ ।

बैठकले सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय  नेपाल र ओमान सरकाबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान सम्बन्धी समझदारी पत्र (MoU) मा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय पनि गरेकाे छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर