चार वर्षपछि सन्दीप बिनाको आईपीएल आज सुरु, बन्द रंगशालामा खेल हुने – Nepal Press

चार वर्षपछि सन्दीप बिनाको आईपीएल आज सुरु, बन्द रंगशालामा खेल हुने

काठमाडौं । विश्व क्रिकेटको सबैभन्दा ठूलो ट्वान्टी–२० फ्रेन्चाइज– इन्डियन प्रिमियर लिग (आईपीएल) को १४औं संस्करण आजदेखि सुरु हुँदैछ । चेन्नईस्थित चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुने उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरको सामना गर्नेछ । आईपीएलको सर्वाधिक सफल टोली मुम्बईले यसअघि नै पाँच पटक उपाधि उचालिसकेको छ ।

तर, बैङ्गलोर तीन पटक फाइनलमा पुगेर पनि उपाधि जित्नबाट वञ्चित रहँदै आएको छ । आजको खेलमा मुम्बईले छैटौं पटक उपाधि रक्षा अभियान सुरु गर्नेछ भने बेङ्गलोर अहिलेसम्मको असफलतालाई पछाडि छोडेर विजयी सुरुआत गर्न चाहन्छ ।
वर्षौंदेखि नेपाली दर्शकका लागि पनि बहुप्रतिक्षित प्रतियोगिता बन्दै गइरहेको छ, आईपीएल । तर, विगतका तीन वर्षको तुलनामा यो वर्ष नेपालीका लागि आईपीएल कम महत्त्वको बन्ने अनुमान गर्न सकिन्छ, कारण सन्दीप लामिछाने ।

नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य तथा स्टार स्पिनर सन्दीप लामिछानेले यसअघिका तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए । इतिहासमै आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपको दिल्लीसँगको सम्झौता गत वर्ष समाप्त भएको थियो । र, यो सिजनका लागि अक्सनमा समावेश भएका सन्दीपलाई कुनै पनि टोलीले भित्र्याउन नचाहेपछि उनी यो वर्ष आईपीएलमा अनुपस्थित रहने छन् । यसबाट नेपाली क्रिकेट समर्थकका लागि यो वर्षको आईपीएल विगतको तुलनामा केही हदसम्म कम चासोको विषय बन्न सक्छ ।

तर, सन्दीप लामिछानेको उपस्थिति भन्दा अगाडिदेखि आईपीएलका दर्शकका लागि भने उनको उपस्थितिले खासै असर पार्नेछैन ।

गत वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण यूएईमा भएको थियो भने यो वर्ष भारतमै हुनेछ । तर, आईपीएलका खेलमा दर्शक भने उपस्थित हुनेछैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *