फेरि शैक्षिक संस्था निशानामा, विद्यालय सञ्चालक भन्छन्- अब बन्द भए उठ्न कठिन – Nepal Press

फेरि शैक्षिक संस्था निशानामा, विद्यालय सञ्चालक भन्छन्- अब बन्द भए उठ्न कठिन

के विद्यालय बन्द गर्नु निर्विकल्प हो ?

काठमाडौं । कोरोनाका कारण झण्डै ९ महिना ठप्प रहेका शैक्षिक संस्था फेरि बन्द गराउने तयारी सरकारले गरेको छ । कोरोनाको नयाँ भेरियन्ट फैलिन थालेको भन्दै स्वास्थ्य मन्त्रालयले शैक्षिक संस्थामा प्रत्यक्ष पठनपाठन बन्द गर्न सिफारिस गर्ने निर्णय लिएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा मन्त्रालयको सिफारिसमाथि छलफल हुने बताएका छन् । प्रत्यक्ष पठनपाठन रोकेर भर्चुअल माध्यमबाट पढाइ सुचारु गर्न सिफारिस गरिएको उनले जानकारी दिए ।

शिक्षा मन्त्रालय भने अहिलेसम्म शैक्षिक संस्था बन्द गराउने विषयमा कुनै छलफल नभएको बताउँछ । स्वास्थ्यको निर्णयबारे पनि मन्त्रालयका अधिकारीले अनभिज्ञता प्रकट गरेका छन् । मन्त्रालयका प्रवक्ता दीपक शर्माले अहिलेसम्म छलफलमा बन्द गर्ने कुरा नआएको बताए ।

नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘हामीसँग छलफल हुँदा बन्द गर्ने कुरा भएको थिएन, सजगता अपनाउने कुरा मात्र भएको हो । जसरी मिडियामा आएको छ, त्यो हामीलाई थाहा छैन ।’

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापा पनि यो विषय जानकारीमा नआएको बताउँछन् ।

‘कोभिड द्रूत गतिमा बढ्यो भने हामीले पनि भन्ने ठाउँ हुन्न । ज्यानै जोखिममा राखेर पढाइ गर भन्न मिल्दैन । तर, सिफारिस गरेकोबारे मलाई थाहा छैन,’ अध्यक्ष थापाले भने ।

शैक्षिक सत्र अस्तव्यस्त बन्ने

फेरि शैक्षिक संस्थाहरु बन्द हुने चर्चाले विद्यालय सञ्चालकहरु भने चिन्तामा परेका छन् । अहिले नै शैक्षिक सत्र अस्तव्यस्त भइरहेको अवस्थामा थप बन्दले बालबालिकाहरुको पढाइमा गम्भीर आघात पुग्ने उनीहरुको भनाइ छ ।

प्याब्सन अध्यक्ष टीकाराम पुरी यदि विद्यालय फेरि बन्द भए पठनपाठन ‘सखाप हुने’ बताउँछन् ।

‘यसले सखापै हुन्छ । केही पनि बाँकी रहँदैन । बल्लबल्ल भौतिक रुपमा स्कुल खुलेको थियो । विद्यार्थीको पढाइ ध्वस्त भएको परिस्थितिमा यो निर्णय समयअनुकूल होइन,’ पुरी भन्छन् ।

पुरीका अनुसार ३ महिनाअघि स्कुल सञ्चालनमा आउँदा प्रत्येक दिन संक्रमित संख्या ५ हजारका दरले बढिरहेको थियो । अहिले केही सय संक्रमित थपिँदा स्कुल बन्द गर्नुपर्ने परिस्थिति नभएको उनको तर्क छ ।

‘हिजोमात्र सिसिएमसीमा आफ्नो कुरा राखेको छौं । सीसीएमसीले पनि पूर्ण मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न भनेको छ । अहिले विद्यालय बन्द गर्नु हुँदैन,’ पुरी भन्छन् ।

शिक्षाविद् विद्यानाथ कोइरालाले सरकारको निर्णय हावादारी खालको भएको बताए ।

‘सरकारको केटाकेटी काम हो । जुन बेला जे मन लाग्छ, त्यही गर्छ । अस्ति पनि चार दिन अनावश्यक बन्द गर्‍यो । यसअघि पनि बन्द गर्ने र खोल्ने मनालाग्दी भइरहेको थिया । यो एकदम हावादारी शैली भयो । विद्यार्थीको सिकाइमा सरकार गम्भीर छैन,’ कोइराला भन्छन् ।

पठनपाठनकै लागि भने विद्यालय खोल्नु र नखोल्नुमा फरक नहुने कोइरालाको तर्क छ । विद्यालय बन्द गरे पनि सिकाइ रोकिन नहुने उनी बताउँछन् ।

‘खोजेको सिकाइ हो कि पढाइ हो, त्यो प्रष्ट हुनुपर्यो । शिक्षकहरू पढाइमा लागेर सिकाइ बिग्रिएको हो । यदि सिकाइमा लाने तरिकामा बल गरे काम हुन्छ । बन्द भए नि प्रभावकारी हुन्छ,’ कोइराला भन्छन् ।

विद्यालय बन्द हुँदा अरु विकल्प खोज्न सकिने उनको दाबी छ । ‘शिक्षकहरूले विकल्प खोजेर सिकाइलाई जोड दियो भने घरमा बसेर पनि धेरै कुरा बालबालिकाले जान्न सक्छन् । त्यसका लागि शिक्षकलाई प्रोत्साहन गर्नुपर्‍यो,’ उनी भन्छन् ।

बन्द गर्नु निर्विकल्प ?

कारोनाका कारण सरकारले कडा लकडाउन गरेर देशका सबै गतिविधि ठप्प पारेको थियो । तर, त्यसका बाबजुद नेपालमा कोरोना फैलिन रोकिएन ।

लकडाउनमा ९ महिनासम्म बन्द रहेका विद्यालय अझैसम्म पनि राम्ररी तङ्ग्रिन सकेका छैनन् । एकातर्फ विद्यार्थीको एक वर्षका पठनपाठन लथालिंग बनेको छ भने अर्कोतर्फ शैक्षिक संस्थाहरू पनि धराशयी अवस्थामा छन् । धेरै स्कुलले शिक्षकलाई तलब खुवाउन सकेका छैनन् ।

लकडाउनका अवधिमा विद्यालयहरूले भर्चुअल कक्षाको अभ्यास गरे पनि त्यो आशातित प्रभावकारी देखिएन । नेपालमा इन्टरनेटको कमजोर गुणस्तर तथा शिक्षक-विद्यार्थीहरूमा आवश्यक स्रोत-साधन अभावले गर्दा धेरै विद्यार्थीहरू सिकाइ प्रक्रियाबाट वञ्चित रहे । आर्थिक रुपमा सक्षम र कमजोर विद्यार्थीहरुको सिकाइमा समेत यसले अन्तराल सिर्जना गरेको थियो ।

तीन महिनाअघि देखि शिक्षक संस्था खुलेपछि विस्तारै शैक्षिक क्षेत्र लयमा आउन खोजिरहेको छ । विद्यालयहरू धुलो टक्टक्याएर उठ्न खोजिरहेका छन् ।

फेरि लामो समय विद्यालय बन्द गराउँदा नेपालको शैक्षिक क्षेत्रलाई दिर्घकालिन असर पार्न सक्ने चिन्ता सरोकारवालाहरूको छ । कोरोना आजको भोलि नै नियन्त्रणमा आउन नसक्ने भएकाले कहिलेसम्म विद्यालय बन्द गराउने भन्ने प्रश्न उनीहरूको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर