नयाँ सरकार नबन्न सक्छ, चुनावमा जानुपर्ने हुनसक्छ: देउवा – Nepal Press

नयाँ सरकार नबन्न सक्छ, चुनावमा जानुपर्ने हुनसक्छ: देउवा

ओलीले लात हानेर प्रचण्डलाई ठिक्क पर्‍यो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण अहिलेको राजनीतिक अवस्था आइपरेको बताएका छन् ।

निजामती कर्मचारी युनियन संघको काठमाडौंमा आयोजित विधान अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले प्रचण्डले खुट्टा टेक्न नसकेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लात हानेको’ आरोप लगाए ।

आमनिर्वाचन लगत्तै आफूले प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेपनि वामएकता भन्दै प्रचण्डले नै ओलीलाई सत्ता सुम्पेको देउवाको भनाई छ ।  ‘मैले कतिपटक आफै प्रधानमन्त्री बन्नुस भन्दा नमान्ने । आफैले ओलीलाई सत्ता बुझाउने । खुट्टै नटेक्ने मान्छे अहिले ओलीले लात हानेपछि ठिक्क भाछ । वास्तविकता यही हो’, देउवाले भने ।

सभापति देउवाले संसदमा कांग्रेसको संख्या कम भएकाले बैठक समेत बोलाउन नसकेको बताए । देउवाअघि बोल्ने क्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि उपयुक्त विकल्प दिनुपर्ने बताएका थिए ।

‘नयाँ सरकार बनाउनुपर्छ, त्यसका लागि हामी उदार बन्नुपर्छ । जसरी सहमति बन्छ त्यसरी अगाडि बढ्नुपर्छ’ पौडेलको भनाई थियो । पौडेलको भनाईमा असन्तुष्ट देखिएका सभापति देउवाले आफू सत्ताको खेलमा नभएको बताए ।

पार्टीले कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय लिएकोमा धन्यवाद दिदैं देउवाले आफू नै प्रधानमन्त्री हुनुपर्छ भन्ने नरहेको बताए । ‘मैले आज नि बैठक बोलाको छु । नयाँ सरकार बन्यो भने ठीकै छ त । बनेन भनेपनि चुनाव नै उपयुक्त विकल्प हो । चुनावमा जानुपर्ने बाध्यता हुनसक्छ । त्यसका लागि तयार हुनुपर्छ’, देउवाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर