अमेरिकामा नेपालीको गोली हानी हत्या गर्ने पक्राउ – Nepal Press

अमेरिकामा नेपालीको गोली हानी हत्या गर्ने पक्राउ

काठमाडौं । अमेरिकी सहर टेक्सासमा एकजना नेपाली रमेश थापालाई गोली हानेर हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षको फ्रान्सिस ओनियल रहेको प्रहरीले जनाएको छ । उनलाई बुधबार बेलुका साउथ इस्ट अष्टिनबाट पक्राउ गरेको  हाे ।

उक्त व्यक्तिलाई पहिलो डिग्री हत्या र दोश्रो डिग्री खतरनाक हतियारबाट आक्रमण गरेको अभियोग लगाइएको बिहिबार युएस मार्शलले जनाएको छ । मंगलबार राती उक्त व्यक्तिले ब्लफ स्प्रींग रोडमा रहेको कन्कर्ड अपार्टमेन्टमा पोखराका ३९ बर्षीय थापालाई गोली हानी हत्या गरेको थियो ।

अष्टिन प्रहरीले मारिएका व्यक्ति नेपाली रमेश थापा भएको बिहिबारमात्र सार्वजनिक गरेको हो । टेक्ससको अस्टिनमा बसोबास गर्दै आएका पोखरा सराङकोटका थापाको मृत्यु भएको थियो ।

अस्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसिय क्षेत्रमा थापालाई गोली हानिएको थियो ।
आक्रमणकारीको धरौटी १० लाख डलर तय गरिएको छ ।

जसमध्ये साढे ७ लाख डलर हत्या र साढे २ लाख डलर आक्रमणको अभियोगमा रहेको छ । आक्रमणकारीलाई ट्राभिस काउन्टी जेलमा राखिएको छ ।

अस्टिन प्रहरीले स्प्रिङ रोडस्थित कंकड अपार्टमेन्ट (आवास गृह) क्षेत्रमा मंगलबार राती गोली हानेर थापाको हत्या गरिएको जनाएको छ । घटनापछि प्रहरीलाई खबर गरेका व्यक्तिले राती १२ः३० बजेतिर गोली चलेको जनाएका थिए ।

प्रहरी घटनास्थल पुग्दा त्यहाँको पार्किङ लटमा रमेश घाइते अवस्थामा फेला परेका थिए । उनलाई त्यही मृत्यु भएको घोषणा प्रहरीले गरेका थिए । झन्डै ११ वर्षअघि मेक्सिको हुँदै थापा अमेरिका पुगेका थिए । तीनवर्षअघि भाइ लक्ष्मण पनि अमेरिका पुगेका थिए । दाजुको मृत्यु भएपछि भाइ लक्ष्मण पनि भावविह्वल बनेका छन् ।

पछिल्लो समय अमेरिकामा एसियाली नागरिकमाथि आक्रमणका घटना बढिरहेको पृष्ठभूमिमा यो हत्य भएको हो । त्यहाँस्थित नेपाली राजदूतावासले पनि एसियाली माथिको आक्रमण रोक्नका लागि आग्रह गरेको छ ।

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर