‘केपी ओलीको पक्षमा उभिएकै दिन प्रचण्डले मलाई कारबाही गर्नुपर्थ्यो ’ – Nepal Press
नेपाल टक

‘केपी ओलीको पक्षमा उभिएकै दिन प्रचण्डले मलाई कारबाही गर्नुपर्थ्यो ’

झपट बोहोरा भन्छन्–सांसद पद गए जान्छ माओवादीलाई स्पष्टीकरण दिन्न

कैलाली । माओवादी केन्द्रबाट निर्वाचति प्रदेशसभा सदस्य झपट बोहोरा पद माया मारेर एमाले बनेका छन् । सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

बोहरालाई माओवादी केन्द्र परित्याग गरेको हो भने पार्टीबाट किन निष्कासन नगर्ने भन्दै स्पष्टीकरण पेस गर्न भनिएको छ । तर, बोहराले भने उक्त स्पष्टीकरणको कुनै अर्थ नभएको बताएका छन् ।

आफू कारबाहीमा परे पनि एमालेको साथ नछोड्ने उनी बताउँछन् । नेकपामा विवाद उत्पन्न हुँदा बोहरा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिएका थिए । २२ पुसमा उनले मन्त्री पदबाट समेत राजीनामा दिए ।

निष्ठाको राजनीतिमा पदको अर्थ नहुने भन्दै उनी जुनसुकै कारबाही भोग्न पनि तयार रहेको बताउँछन् ।

प्रस्तुत छ, यसै परिवेशबीच नेपाली एमालेका केन्द्रीय सदस्य समेत रहेका बोहरासँग नेपाल प्रेसकर्मी भानुभक्त आचार्यले गरेको कुराकानी, नेपाल टकमा ।

तपाईंलाई माओवादी केन्द्रले र संसदीय दलले २४ घण्टे २ वटा स्पष्टीकरण सोधेको २४ घण्टा बितिसकेको छ । अहिले सम्म जवाफ दिनु भएको छैन । किन ?

माओवादी केन्द्रको प्रदेश कमिटीबाट पनि स्पष्टीकरण आएको छ । संसदीय दलबाट पनि स्पष्टीकरण आएको छ । मलाई के लाग्छ भने यो स्पष्टीकरण पार्टीले नेपालको प्रचलित कानुन र आफ्नो पार्टीको विधान अनुसार कानुनी प्रक्रियामा अगाडी बढाउनको लागि सोधेको हो । र उहाँहरूले सोध्नु स्वभाविक पनि हो ।

विधि नीतिको पालना सबैले गर्नुपर्छ । त्यसैले मैले स्वभाबिक रूपमा लिएको छु । तर, यो २४ घण्टे स्पष्टीकरणको मैले प्रतिउत्तर लगाउनु पर्ने कुनै तुक छैन । जसको कुनै तुक हुँदैन त्यसको प्रतिउत्तर गर्नेको पनि अर्थ छैन ।

मैले मन्त्री पदबाट राजीनामा दिएको सवा तीन महिना जति हुन लागेको छ । जति बेला म सम्माननीय प्रधानमन्त्रीको पक्षमा उभिएर मन्त्रीबाट राजीनामा दिएँ मलाई त्यतिबेला नै कारबाही गर्नुपर्ने थियो । यो त पार्टीले ढिला गरेको हो ।

जसरी मलाई स्पष्टीकरण सोधियो या कानुनी प्रक्रियामा मलाई कारबाही गरिन्छ । नेपालका अरू राजनैतिक पार्टीहरूमा पनि विधान अनुरूप यसरी पार्टीका नेता कार्यकर्ताहरूलाई कारबाहीको प्रक्रिया अगाडी लैजानु पर्ने हुन्छ ।

पार्टीले पठाएको स्पष्टीकरणमा त पाइलाई पार्टी किन निष्कासन नगर्ने भन्दै चेतावनी पूर्ण ढङ्गबाट स्पष्टीकरण सोधेको छ । संसदीय दलले के भनेको छ ?

त्यही नै छ । लगभग हुबहु कपि छ । केही शब्द त्यसमा प्रस्तुत गरेर लेखिएको छ । त्यसको पनि कुनै तुक छैन त्यसको पनि मैले प्रतिउत्तर फर्काउनु पर्ने कुनै आवश्यकता म देख्दिन ।

त्यसो भए तपाईं अब प्रदेशसभा सदस्यबाट हट्ने हुनुभयो त ?

राजनीतिमा कुनै कालखण्डमा एउटा विषय बस्तुमा एउटा निर्णायक भूमिका लिनुपर्ने हुन्छ ।

मन्त्री पद मैले आफैले त्यागेर आएँ । मलाई त्यो बेला नै थाहा थियो कि पार्टीले मलाई सांसद पदबाट पनि हटाउन सक्छ भनेर । तर, हामीले यो पनि भुल्न हुँदैन कि २०७४ को चुनावमा नेकपा माओवादी केन्द्र र एमाले मिलेर संयुक्त बाम गठबन्धन निर्माण गरेका थिए ।

संयुक्त बाम गठबन्धनको आधारमा हामीले चुनाव जितेका थियौँ । मलाई तत्कालीन अवस्थामा पनि एमालेको भोट प्राप्त भएको थियो । एमालेको भोटबाट पनि जित सहज भएको हो । त्यसैले हामीले एकताको भावनालाई समात्दै, दरिलो रूपमा उभिँदै एकता हुनुपर्छ भन्दै हामी लागिरहेका हौँ ।

त्यही भावना अनुसार हामी सम्माननीय प्रधानमन्त्रीको साथमा उभिएका हौँ । अहिले पनि बाम बृहत् एकता हुनुपर्छ भन्ने हाम्रो बुझाइ रहेको छ । जहाँ सम्म सांसद पद रहदैन भन्ने कुरा छ । पार्टीले आफ्नो सांसदलाई विधान सम्मत कारबाही गर्छु भन्ने कुरा छ भने त्यसमा रोकिनु पर्ने कुरा छैन । अफ्ठेरो मान्नु पनि हुँदैन ।

कस्तो कारबाही भोग्न तयार हुनुहुन्छ तपाईं ?

त्यो अवस्थामा प्रधानमन्त्री ओलीको पक्षमा छु भनेपछि पार्टीको विधान अनुसार छ प्रक्रिया अघि बढाउँला । सोझैँ पार्टीले कसैलाई कारबाही गर्न सक्दैन । त्यसैले स्पष्टीकरणको नाममा विधानमा भएको प्रक्रिया मात्रै पुर्याउने काम हो । देखाउन मात्रै दिएको स्पष्टीकरणको कुनै अर्थ छैन । त्यसैले प्रतिउत्तर दिनुको कुनै तुक छैन ।

हातमा स्पष्टीकरण परेको २४ घण्टा भइसकेको छ । त्यसपछि नेतृत्वसँग यस विषयमा केही छलफल भएको छ ?

होइन, मसँग कसैको कुराकानी भएको छैन । यसैको विषयमा कुराकानी गर्नु मलाई कुनै जरुरी छैन । किन भने राजनीति निष्ठा आदर्श र सिद्धान्तको रूपमा गरिन्छ । राजनीति पदको लागि गरिँदैन ।

मसँग मन्त्री पद रह्यो कि रहेन , मसँग सांसद पद रह्यो कि रहेन भन्ने ठुलो कुरा होइन । राजनीतिमा त बिचारको दृष्टिकोण सबै भन्दा ठुलो कुरा हो । विचारमा म अडिग भएको अवस्थामा पद त राजनीतिको कालखण्डमा सामान्य हुन्छ । यसलाई ठुलो कुरा मान्न सकिँदैन ।

जुनसुकै कारबाही भए पनि तपाईं तयारी अवस्थामा हुनुहुन्छ जस्तो छ ?

अब जुनसुकै के कारबाही होला त ? मलाई हटाउन सक्ने मन्त्रीबाट हो त्यो म आफै हटिसके । अब उनीहरूले हटाउन सक्ने भनेको सांसद पदबाट हो ।

पार्टीले टिकट दिएको हो । जनताले मलाई अत्यधिक बहुमतले जिताएका हुन् । मैले फेरि आगामी दिनमा निर्वाचन भएपछि र पार्टीले टिकट दिएपछि फेरि जनताको अदालतमा जान्छु नि ।

न्याय अन्याय त जनताले गर्लान नि । पार्टीले त विधान अनुसार कारबाहीको प्रक्रिया अगाडी बढाएको हो । मलाई जनताबाट कसैले अलग गराउन सक्दैन । अहिले मलाई जनताले चुनेर पठाउनु भएको हो । भोलिको दिनमा जनताले जे निर्णय दिनुहुन्छ मत्यो म स्विकार गर्छु ।

तपाईं‌‍हरूलाई माओवादीले कारबाही गर्दा तपाइहरू पनि त अब एमालेमा समानान्तर कमिटी बनाउनेहरूलाई कारबाही गर्नुहुन्छ होला, हैन ?

एमालेको विधि विधान र एमालेको लाइन भन्दा बाहिर जाने अथवा गतिविधि गर्ने पार्टीका नेता कार्यकर्ताहरूलाई पार्टीको विधान र प्रचलित कानुन अनुसारमा कारबाही हुन सक्छ ।

सुदूरपश्चिम प्रदेशमा पनि अब कारबाहीको शृङ्खला सुरु हुने भयो हैन त ?

पार्टीले यसलाई नजिकबाट नियालेर हेरिरहेको छ । पार्टीको विधान अनुरूप जाने नेता कार्यकर्तालाई दोषी पाएको अवस्थामा पार्टीले आफ्नो विधान अनुसार पक्कै पनि कारबाही गर्छ ।

पार्टीमा अनुशासन कायम गर्नुपर्ने हुन्छ । पार्टी कोही एक÷दुई जनाको लागि मात्रै हुँदैन । पार्टीको लाइन भन्दा बाहिर जाने जति सुकै ठुलो नेता भए पनि त्यो कारबाहीको भागिदार हुन्छ र कारबाही पार्टीले गर्छ ।

सुदूरपश्चिम प्रदेशमा त एमालेमा ओली समूह कमजोर रहेको भनिन्छ । त्यसले पनि तपाईंलाई गरेको कारबाही कार्यान्वयनमा समस्या पर्दैन ?

जसरी कमजोर भनिरहेको छ । हामी कमजोर छैनौँ । कसले भन्छ कमजोर भनेर ? कुन अङ्कगणित त तपाईंसँग ?

एमालेबाट निलम्बित भए भनिएका नेता भीम रावलले बोलाएको बैठकमा २५ जना मध्ये १५ सांसद उपस्थित हुनुले तपाइहरू कमजोर भएको पुष्टि गर्न पर्याप्त छैन र ?

त्यो प्रदेशको कुरा तपाईंले गर्नुभएको हो । प्रदेशका केही सांसदहरू गएका छन् ।

प्रदेशका सांसद त्यति गएको कुरामा पनि पार्टीले नियालेर हेरिरहेको छ । पार्टी आवश्यकता अनुसार विधानमा भएको व्यवस्था अनुसार कारबाहीको प्रक्रिया अघि बढाउँछ ।

एमाले भित्रैबाट माधव समूह र माओवादी मिलेर सरकार टिकाइरहने खेल भइरहेको पनि सुनिन्छ नि । तपाईंहरुको रणनीति के छ ?

पहिलो कुरा त एमाले र राजपा मिलेपछि सरकार परिवर्तन गर्न र अर्काे बनाउन अङ्कगणित पुग्छ भन्ने हाम्रो बुझाइ छ । त्यही अनुसार नै पार्टीको छलफल अगाडी बढिरहेको छ ।

केही दिन भित्रै त्यो प्रक्रियालाई हामी राजनैतिक वृत्तमा छलफल गर्छाै । छलफलको आधारमा जुन निकास आउँछ त्यही निकासको आधारमा हामी सरकार गठन प्रक्रियालाई अगाडी बढाउँछौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर