प्रचण्डका युद्धकालीन कमाण्डर- जसले सांसद पद त्यागे तर ओलीलाई त्यागेनन् – Nepal Press

प्रचण्डका युद्धकालीन कमाण्डर- जसले सांसद पद त्यागे तर ओलीलाई त्यागेनन्

काठमाडौं । पुस ५ गतेपछि राजनीतिक रुपमा विभाजित तर कानूनी रुपमा एउटै रहेको नेकपाका केपी ओलीलाई साथ दिएका माओवादी सांसदहरुले सायदै सोचेका थिए २ वर्ष कार्यकाल बाँकी रहदै सांसद पद गुमाउनुपर्छ ।

नेकपा विभाजनको बेला माओवादी धार छाडेर ओलीलाई साथ दिएकामध्ये अधिकांशले एमाले-माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि पनि ओलीको साथ छाडेनन् । फलस्वरुप उनीहरुले धमाधम सांसद पद गुमाउँदैछन् ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेलकै हुने फैसला गर्दै एमाले र माओवादीको अवस्थामा पुर्‍याइदिएको थियो । त्यसै साँझ ओलीले रामवहादुर थापा बादल सहित माओवादी तर्फका नेताहरुलाई बोलाएर सोधेका थिए- अब तपाईहरु के गर्ने ?

जवाफमा उनीहरुले भनेका थिए- हामीले विचारका आधारमा तपाईंलाई साथ दिएका हौं । हिजो संकटमा साथ दियौं आज पनि हाम्रो पद संकटमा पर्छ हामीलाई थाहा छ । तर हामी पद छाड्छौं, तपाईंलाई छाड्दैनौं ।

आफ्नै साथीहरु प्रचण्डसँग पेरिसडाँडामा बसेर एमालेमा फर्केर ओली प्रवृतिविरुद्ध संघर्ष गर्ने भनिरहेका बेला माओवादीमा नफर्किने ती नेताहरुलाई ओलीले सम्बोधन गर्नै पर्ने थियो । फागुन २८ गते उनले माधव नेपाल पक्षबिनाकै बैठकबाट २३ जना माओवादी नेताहरुलाई केन्द्रीय सदस्य मनोनित गरे ।

एमालेको केन्द्रीय सदस्य भइसकेपछि सांसद पद जाने निश्चित थियो । माओवादीले उनीहरुलाई फर्काउन निकै प्रयत्न पनि गरेको हो । तीमध्ये कर्णालीका बिन्दमान विष्टसहित प्रदेश २ का भरत साह लगायतका सांसद माओवादीमै फर्किए ।

तर प्रदेश १ का टंक अंङबोहाङ, प्रदेश २ का ज्वालाकुमारी साह र रामचन्द्र मण्डल, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मी र सुदूरपश्चिमका झपट बोहोराले प्रदेशसभा सदस्य पद माया मार्न तयार भए । उनीहरुले केपी ओलीको साथ छाड्न चाहेनन् ।

यीमध्ये टंक आङबोहाङको ताप्लेजुङ, दधिराम न्यौपानेको रुपन्देही, दिनेश पन्थीको गुल्मी र धर्म रेग्मीको दैलेखेका निर्वाचन क्षेत्र अब रिक्त भएको छ । झपट बोहोराको रिक्त हुने क्रममा छ भने प्रदेश २ को रिक्त गराउने प्रक्रिया शुरु भएको छैन ।

हाल मन्त्री रहेका टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरी शंकर चौधरीको पद पनि रिक्त भइसकेको छ । ती सबै निर्वाचन क्षेत्रमा ६ महिनाभित्र उपनिर्वाचन हुनेछ ।

सांसद पद र पार्टी समेत त्यागेर आफूलाई साथ दिएकाहरुलाई ओलीले विशेष प्राथमिकता समेत दिने निश्चित छ । राजनीतिमा एक थान सांसद पदका लागि मान्छे दल त्याग्न वा जस्तासुकै हर्कत गर्न तयार हुन्छन् । तर यी सांसदले भने सांसद पद गुमाएर पनि अ‍ोलीलाई साथ दिनु आफैंमा अनौठो संयोग हो ।

गृहमन्त्री रामवहादुर थापाको राष्ट्रियसभा सदस्य पद रिक्त गराउने प्रक्रिया सम्भवतः माओवादीले शुक्रवारै थाल्नेछ । कुनैबेला माओवादी पार्टीमा प्रचण्ड, मोहन बैद्य र बाबुरामपछिका कमाण्डर रहेका बादल अब केपी ओलीको नेतृत्वमा पुगेका छन् ।

अझ महत्वपूर्ण कुरा त के पनि हो भने, सांसद पद गुमाएर पनि ओलीलाई साथ दिने माओवादी नेताहरुमध्ये झपट बोहोरा बाहेक सबै जनयुद्धकालमा आ-आफ्नो क्षेत्रमा कमाण्ड गरेकाहरु छन् ।

बादलसहित लेखराज र टोपवहादुर जनयुद्धकालमा कमाण्ड इन्चार्ज नै थिए भने प्रभु साह पनि उनको क्षेत्रका कमाण्डर थिए । गौरीशंकर फौजी कमाण्डर थिए भने टंक आङबुहाङ लिम्बुवानको कमिसार थिए । दधिराम सुवेदी र दिनेश पन्थी पनि भूमिगत कालमा जिल्ला कमाण्ड गरेका नेता हुन् ।

नेकपा एकीकरण अदालतबाट बदर भएपछि एमालेका कुनै पनि एकजना नेता कार्यकर्ता माओवादीमा लागेनन् । माधव नेपालले आफ्नो समूह आफैंसँग राखेका छन्, बरु उनलाई छाडेर केपी ओली पक्षमा केही सांसद र नेता कार्यकर्ता लागे । तर एमालेका दुवै समूहका कार्यकर्ता प्रचण्डतिर लागेनन् ।

प्रचण्डले भने नेकपाबाट माओवादी केन्द्रमै फर्किदा आफ्ना धेरै युद्धकालीन कमाण्डर र नेता कार्यकर्ताहरु गुमाए । स्थायी कमिटीका बादल, टोपवहादुर, लेखराज र मणि थापा ओलीसँग लागे ।

केन्द्रीय कमिटीका पनि टंक आङबुहाङ, कमल चौलागाई, ज्वालाकुमारी साह, रामचन्द्र मण्डल, विषमलाल अधिकारी दनुवार, पासाङ शेर्पा, श्रीप्रसाद जगेबु, लिलवहादुर थापा,निरु दर्लामी कुँवर लगायत माओवादीमा फर्किएनन्,उनीहरु एमालेमा पुगे । पूर्व लडाकुहरुको पनि एउटा समूह प्रचण्डसँग फर्किएन । ती सबैलाई संगठित गर्ने काम भइरहेको थापा बताउँछन ।


प्रतिक्रिया

2 thoughts on “प्रचण्डका युद्धकालीन कमाण्डर- जसले सांसद पद त्यागे तर ओलीलाई त्यागेनन्

  1. ओलीको सरकार रहुन्जेल केही दानापानी मिल्छ र रहन्छन् आज होकी भोलि ढल्ने निश्चित नभएको तर धेरै नरहने खड्ग सरकार ढलेको भोलिपल्टै यिनिहरु छिन्नभिन्न हुन्छन् ।

    1. सबै पद र पैसा मा बिक्दैनन केही तथ्यहरु केलाउनुस अनि प्रतिउत्तर दिनुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर