विराट गोल्डकप सुरु, उद्घाटन खेलमा घरेलु टिमको विजयी सुरूआत – Nepal Press

विराट गोल्डकप सुरु, उद्घाटन खेलमा घरेलु टिमको विजयी सुरूआत

विराटनगर । छैठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलबाट घरेलु टिम विराटनगर महानगर–११ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरका लागि दुवै गोल प्रकाश बुढाथोकीले गरे ।

काठमाण्डौ बाहिर पहिलो पटक सहिद रंगशालामा फ्लड लाइटमा खेलाइएको खेलमा उद्घाटन खेलमा विराटनगरले युनाइटेड फुटबल क्लब सिक्किमलाई २– १ गोलले पराजित गरेको होे ।

आक्रमक भएको खेलको सुरूवातमा विराटनगर ११ का प्रकाश बुढाथोकीले गोल गरी टिमलाई अग्रता दिलाए । खेल सुरू भएको ८ औं मिनेटमा प्रकाशले ३० यार्डबाट सुन्दर गोल गरे ।

सुरुमै गोल खाएपछि दबावमा परेको सिक्किमले १५ औं मिनेटमा बराबरी गोल फर्कायो । सिक्किमका आशिष देवानको क्रसमासाङगे छोपेन भुटियाले सानदार गोल गरे ।

खेलको २० मिनेटमा विराटनगरका सुनिल खड्काको वान भर्सेस वानको प्रहार सिक्किमका गोल किपर अवजित रोयले उत्कृष्ट बचाउ गरिदिए । सिक्किमका भुवन बस्नेतले खेलको २४ मिनेटमा डिबक्स बाहिरदेखि गरेको सशत्त प्रहार बारियो ।

पहिलो हाफसम्म १/१ गोलको बराबरी भए पनि दोस्रो हाफको सुरुमै विराटनगरले अग्रता लियो । यसपल्ट पनि प्रकाश सफल भए । ५३ औं मिनेटमा उनले बक्स भित्रबाट गोल गरे । दुई गोल गरेका प्रकाश खेलको म्यान अफ द म्याच चुनिए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

शुक्रबार भारतको पंजाब पुलिस र गोर्खा ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगर ११ का प्रशिक्षक सन्जीव बुढाथोकीले खेलाडीहरूको मिहिनेतको कारणल सफलता हात पारेको बताए । । ‘थुप्रै गोल गर्ने अवसर हाम्रो खेलाडी गोल गर्नबाट चुके,’ उनले भने, ‘अर्को खेलमा नयाँ रणनीति अपनाएर खेल्नेछन् ।’

सिक्किम युनाइटेकका प्रशिक्षक नाडम भुटियाले राम्रो खेल्दा खेल्दै पनि हार व्यहोर्नु परेको बताए । ‘धेरै गोल गर्ने अवसर केटाहरूले गोल गर्नबाट चुक्दा हार व्यहोर्नुपरेको छ।’

विराट गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

वैशाख ४ सम्म हुने प्रतियोगिताका सबै खेल कृत्तिम प्रकाशमा हुनेछन् । शहीद मैदानमा स्थायी फ्लडलाइट जडान गरिएको छ । प्रतियोगिताका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएका छन ।

तीन विदेशी टिमसहित १० टिमको सहभागिता रहेको र प्रतियोगितामा सहभागी सबै टिमले म्याच फी पाउनेछन् । प्रतियोगितामा मनाङ मर्स्याङदी, मछिन्द्र, संकटा, ब्वाइज युनियन, एपीएफ, नेपाल पुलिस, गोरखा ब्वाइज क्लबसहित भारतको पन्जाब पुलिस क्लब, सिक्किम र अफ्रिकन रुटको सहभागिता छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल, हरेक खेलका म्यान अफ द म्याचले १० हजार, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, सर्बाधिक गोलकर्ता, टिम व्यवस्थापक र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

पहिलो म्याच खेलेर बाहिरिनेले ३० हजार, क्वाटरफाइनलवाट बाहिरिनेले ५० हजार र सेमिफाइनल पराजित टिमले ७५ हजार म्याच फी पाउनेछन् । प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर