पत्रकार महासंघमा निर्णयक मानिएको काठमाडौं जिल्लाको मतगणना आजदेखि – Nepal Press

पत्रकार महासंघमा निर्णयक मानिएको काठमाडौं जिल्लाको मतगणना आजदेखि

काठमाडौं । नेपाल पत्रकार महासंघमा निर्णायक मानिएको काठमाडौं जिल्लाको मत गणना आजदेखि सुरु हुने भएको छ । मतगणनामा रहेका प्यानल प्रतिनिधिको आग्रह अनुसार काठमाडौं जिल्लाको मतगणना आजदेखि गर्ने सहमति भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन सकिएको रातिबाट काठमाडौंका जिल्ला शाखा, प्रतिष्ठान, एशाेसिएट, प्रतिष्ठान प्रदेश, एसोसियट प्रदेश र उपत्यका प्रदेशको मतगणना गर्दागर्दै नभ्याएपछि केन्द्रीय समितिको मतगणना गर्न ढिलाई भएको निर्वाचन समितिका संयोजक कपिल काफ्लेले नेपाल प्रेसलाई जानकारी दिए । राती मत गणना गर्दा धाँधली हुने सम्भवाना बढी देखिएकाले शुक्रबार बिहानबाट मात्र काठमाडौं जिल्लाको मतगणना सुरु हुने उनले बताए ।

सामाजिक सञ्चाजालमा विपुल पोखरेल नेतृत्वको प्यानल विजयी भइसकेको भन्दै बधाइ दिन थालिए पनि समितिले भने केन्द्रीय समितिको कसको कति मत आयो भन्ने एकिन भइनसकेको जनाएको छ ।

‘सबै जिल्लाको मतपरिणात त आइसकेको छ । तर अहिलेसम्म सबै जोडेर सकिएको छैन । कसको कति आयो भन्ने विवरण पनि शुक्रबार मात्र जानकारी हुन्छ,’ निर्वाचन समिति संयोजक काफ्लेले भने । काठमाडौं जिल्लामा सबैभन्दा धेरै १४ सय ७९ मतदाताको अन्तिम नामावली रहेकोमा १२ सय भन्दा बढी मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *