शिक्षण संस्था बन्द गर्ने सरकारको तयारी, स्वास्थ्यमन्त्री भन्छन् : भर्चुअल कक्षा थाल्छौं – Nepal Press

शिक्षण संस्था बन्द गर्ने सरकारको तयारी, स्वास्थ्यमन्त्री भन्छन् : भर्चुअल कक्षा थाल्छौं

काठमाडौं । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोनाभाइरसको जोखिमलाई कम गर्न सरकारले शिक्षण संस्थामा भर्चुअल माध्यमबाट पठनपाठनको तयारी गरेको बताएका छन् ।

चाँडै बस्ने कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले पढाइमा अवरोध नहुने गरि शिक्षण संस्थालाई भर्चुअल माध्यममा लैजाने निर्णय गर्ने मन्त्री त्रिपाठीले बताए ।

प्राइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा विहिबार बेलुका बोल्दै मन्त्री त्रिपाठीले कोरोनाको दोस्रो लहरलाई रोक्नको लागि पढाइलाई भर्चुअल माध्यममा लैजानुको अर्को उपाय नभएको बताए ।

पछिल्लो समय शिक्षण संस्थाहरु कोरोनाको हटस्पट बन्दै गएकाले सरकारले यस्तो निर्णय गर्ने तयारी गरिरहेको उनले बताए । कोभिडको बेलायती भेरिएन्ट काठमाडौं र पोखराजस्ता ठूला सहरमा फैलिएको र यसलाई रोकथाम गर्नको लागि जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नु जरुरी रहेको समेत उनले बताए ।

पछिल्लो समय युवा उमेर समूहमा नयाँ प्रजातिको कोरोनाको असर देखिएको र शिक्षण संस्था त्यसबाट सबैभन्दा बढी प्रभावित भएको मन्त्री त्रिपाठीले बताए । राजनीतिक दलले गर्ने सभा, जुलुसलाई रोक्नको लागि उनले शीर्ष नेताहरुलाई आग्रह समेत गरे ।

लकडाउन गर्नुपर्ने परिस्थिती आउन नदिनेतर्फ सबैले ध्यान दिनुपर्ने बताउँदै उनले लकडाउन गर्नु सरकारको रहर नभएको बताए । विहिबार राजधानीको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्नुपर्ने परिस्थिती आउन नदिन सबैले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *