भक्तपुरका अधिकांश मासु पसल मापदण्डविपरीत – Nepal Press

भक्तपुरका अधिकांश मासु पसल मापदण्डविपरीत

काठमाडौं । भक्तपुरका अधिकांश मासु पसल झिंगा भन्केको, फोहोर र मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । भक्तपुर नगरपालिकाले आज गरेको मासु पसल अनुगमनमा अधिकांश पसलमा झिंगा भन्किएका, फोहोर र मापदण्डविपरीतका सञ्चालन भइरहेको पाइएको हो ।

भक्तपुर नगरपालिकाले यसअघि गरेको मासु पसल अनुगमनमा पनि यस्तै अवस्था देखिएको र पटक-पटक सुझाव दिँदा पनि अटेर गरेको भन्दै अनुगमन टोलीले मासु पसलमा सुधार नगरेकाले अब पनि अटेर गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलविनायक क्षेत्रका विकास मिटसपमा बधस्थल पर्याप्त सफा नभएको, मासु खुला राखेर बिक्री गर्दा झिङ्गा भन्केको, धुलो परेको र फोहोर भएको भन्दै सुधार्न निर्देशन दिएको छ ।

त्यस्तै कमलविनायक मिटसप अर्केको नाममा दर्ता गरेको, मूल्यसूची नराखेको, फोहोर रहेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको, मासुमा धुलो, धुँवा र झिंगा नजान जाली तथा सिसाको प्रयोग नगरेको पाइएको छ ।

सुरेन्द्र मिटसप, सरज मिटसप, मूलढोका ब्रोइलर हाउसलगायतमा मासु धुलो, धुँवा र झिंगा नभन्किने गरी व्यवस्था गर्न जालीले छोप्ने वा सिसाको बाकस बनाई व्यवस्था गर्न, एप्रोन सेतो प्रयोग गर्न, सरसफाइमा ध्यान दिन निर्देशन दिएको निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

अधिकांश मासु पसलमा सेतो एप्रोन प्रयोग नगरको, दर्ता तथा नवीकरण नगरेको पाइएकाले त्यस्तालाई तीन दिनभित्र दर्ता नवीकरण गर्न निर्देशन दिएको उहाँले बताए ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *