चीनबाट सामान आयातमा समस्या, सिन्धुपाल्चोकका व्यापारीलाई मात्र प्रवेश – Nepal Press

चीनबाट सामान आयातमा समस्या, सिन्धुपाल्चोकका व्यापारीलाई मात्र प्रवेश

काठमाडौं । कोरोना नियन्त्रण गर्न सरकारले गरेको ९ महिना लामो लकडाउनपछि लयमा फर्किन क्रममा रहेको नेपाल र चीनबीचको निर्यात व्यापारमा फेरि समस्या उब्जिएको छ । पछिल्लो समय चीनबाट निर्यात हुने वस्तुमा सिन्धुपाल्चोकका व्यापारीको एकाधिकार रहेको अन्य व्यवसायीले गुनासो गरेका छन् ।

सिन्धुपाल्चोकका व्यापारीले अन्य स्थानका व्यापारीलाई केरुङ र तातोपानी नाकाबाट प्रवेश नै नदिने गरी ‘माथि’ सेटिङ मिलाएको ती व्यवसायी बताउँछन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सामान आयातका लागि भिसा लगाउन र पैसा पठाउनसमेत समस्या भएको बताए । सामान आयात गर्न जाने व्यक्ति सिन्धुपाल्चोककै हुनुपर्ने प्रावधानले समस्या भएको उनको गुनासो छ ।

कटवालले भने, ‘चीततर्फको केरुङ र तातोपानी नाकामा सामान आयात गर्दा सिन्धुपाल्चोकका व्यापारीको सिन्डिकेट छ । उनीहरुले बाहेक अरुले चीनतर्फ प्रवेश नै नपाउने गरी सेटिङ मिलाइएको छ ।’

सरकारले सो नाकामा सबै नेपालीलाई सहज प्रवेशको लागि पहल गर्नुपर्ने उनले बताए । यसका लागि परराष्ट्र मन्त्रलयसँग पनि आफूहरुले छलफल गरिरहेको उनले जानकारी दिए ।

सिन्धुपाल्चोका व्यापारीले मात्रै सामान ल्याउन पाउने भएपछि पहिलेको तुलानामा अहिले कन्टेनरको भाडा दोब्बर भएको व्यवसायीहरुले बताएका छन् । सामान आयात गर्न जाँदा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियमले पनि व्यपारीहरुलाई समस्या पारेको छ ।

भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले केरुङ र तातोपानी नाकामा समस्या आएको जानकारी नभएको बताए । उनले भने, ‘क्वारेन्टाइनको केही विषय होला, तर भन्सार विभागलाई अरु समस्याको बारेमा जानकारी छैन ।’

चिनियाँ सामानको मूल्यवृद्धि

कटुवालका अनुसार चीनबाट आयात भएर नेपाली बजारमा बिक्री हुने सामानको मूल्य बढिरहेकाे छ । सामान आयातमा जति समस्या भयो, त्यति नै धेरै खर्च बढ्ने र त्यो खर्चको मार उपभोक्तामा पर्ने उनी बताउँछन् ।

चीनका नाकाबाट सामान आयातमा समस्या भए पनि बजारमा अभाव भने उत्पन्न नहुने व्यवसायी बताउँछन् । त्यही प्रकृतिका सामान भारतबाट आयात हुने भएकाले मूल्य बढी परे पनि अभाव नहुने उनीहरुको भनाइ छ ।

चीनबाट लत्ताकपडा, जुत्ता चप्पल तथा विभिन्न प्रकारका कच्चा पदार्थ आयात हुने गरको छ । लकडाउनको समयमा पनि नेपाली व्यापारीहरुले चीनबाट ल्याएको करिब १५ सय कन्टेनर सामान नाकामा नै रोकिएको थियो । हाल त्यो सामान नेपाल आइसकेको छ ।

न्युरोड, असन र सुन्धारालगातका व्यापारीले धेरैजसो चीनबाट आयात भएको सामान बिक्री गर्ने गरेका छन् । चीनमा उत्पादन भएको सामान सस्तो हुने भएकाले पनि नेपाली बजारमा माग धेरै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर