देउवा र महन्थलाई अन्तिमपल्ट सोध्दै प्रचण्ड- ओलीलाई फाल्ने कि काँध हाल्ने ? – Nepal Press

देउवा र महन्थलाई अन्तिमपल्ट सोध्दै प्रचण्ड- ओलीलाई फाल्ने कि काँध हाल्ने ?

देउवाले विपक्षी दलहरुको बैठक समेत नबोलाएकोमा माओवादी असन्तुष्ट

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली सरकार कायमै राख्ने कि ओलीलाई सत्ताबाट हटाउने भन्ने बारेमा प्रमुख विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई अन्तिमपल्ट सोध्ने भएको छ ।

फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना भएकै दिनदेखि ओली सत्ता ढालेर नयाँ सरकार बनाउन अग्रसर भएको तत्कालीन नेकपाको प्रचण्ड-माधव पक्षको पहलमा कांग्रेस सभापति शेरवहादुर देउवा उत्साही नभएकोमा अहिलेसम्म पनि देउवाले निर्णायक कदम चाल्न खोजेका छैनन् ।

कांग्रेस र जसपाले अविश्वास प्रस्ताव ल्याउने सहमति जनाए सरकारलाई दिएको समर्थन फिर्ता लिन तयार भएर बसेको माओवादी केन्द्र पछिल्ला दिनमा निराश बनेको छ । कांग्रेसले ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेपछि माओवादी अध्यक्ष प्रचण्ड उत्साही भएका थिए ।

कांग्रेसले सरकार गठनको निर्णय गरे पनि अहिलेसम्म माओवादी र जसपासहितको बैठक समेत बोलाउन नचाहानुले सभापति देउवाको नियत ओली हटाउने नदेखिएको माओवादी नेताहरु बताउँछन् । माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले कांग्रेसले संस्थागत निर्णय गर्नु सकारात्मक रहे पनि सभापति देउवाले नयाँ सरकार गठनको पहल नथालेको बताए ।

श्रेष्ठले भने, ‘विशेषगरी कांग्रेस सभापति देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरजीको धारणा के हो ? हामी उहाँहरुको अन्तिम निर्णय खोजिरहेका छौं । हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएन भनेर उत्तेजित बनाउने र केपी ओलीलाई अर्को प्रतिगमन गर्न सघाउने खालका भड्काउवादी कुरा आइरहेका छन् ।’

माओवादी केन्द्र कांग्रेस र जसपाले सरकार ढाल्ने निर्णय गरेको ५ मिनेटभित्र समर्थन फिर्ताको सूचना संसदमा दर्ता गराउन तयार रहेको श्रेष्ठले बताए । तर वैकल्पिक सरकारको चित्र प्रष्ट नभई समर्थन फिर्ता लिँदा ओलीलाई थप षड्यन्त्र गर्ने मौका मिल्ने र मुलुकलाई पुनः चुनावमा लैजाने तथा त्यो चुनाव नहुने अवस्था आउने उनको भनाइ छ ।

अब माओवादीले देउवा र ठाकुरलाई अन्तिमपटक सोध्ने भएको छ । ओली सरकार ढाल्ने हो भने अविश्वास प्रस्तावमा अघि बढ्न र ओलीलाई नै कायम राख्ने हो भने त्यो पनि निर्णय गर्न माओवादीले अन्तिमपटक आग्रह गर्ने भएको छ ।

माओवादी स्रोतले भन्यो, ‘देउवा र महन्थ ठाकुर अन्ततः ओलीकै लाइनमा उभिने संकेत देखियो । उनीहरु अविश्वास प्रस्ताव ल्याउँदैनन् भने पनि भन्नुपर्‍याे त्यसो भएपछि हामी समर्थन फिर्ता लिएर ओलीविरुद्ध संघर्षमा जान्छौं । हामीले समर्थन फिर्ता लिएपछि ओली संविधानको धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा प्रधानमन्त्री हुने र चुनाव घोषणा गर्ने अवस्था आउँछ ।’

देउवाले सरकार गठनको पहल नलिएकोमा माओवादीले गम्भीर आशंका जनाएको छ । पार्टीको केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनको पहल लिने निर्णय गरेपनि देउवाले प्रचण्डसँग भेट्न समेत नचाहनुले उनी मंसिरमा चुनाव गराउने पक्षमा उभिएको आशंका माओवादीको छ ।

एक माओवादी नेताले भने, ‘अहिले एमालेको माधव नेपाल पक्ष सबैभन्दा अप्ठेरोमा छ,ओलीलाई हटाउँदा राजनीति पनि सही दिशामा जाने र माधव नेपाललाई पनि न्याय दिने अवस्था आउने थियो । तर ओलीसँगै मिल्न देउवा र महन्थलाई देशभित्र र बाहिरबाट दवाव बढेको देखिन्छ । अब हामीले राजनीतिक निर्णयमा जानुअघि अन्तिमपटक देउवालाई सोध्छौं ।’

यदि देउवा र महन्थ ओलीलाई हटाउन तयार नहुने हो भने अविश्वास प्रस्तावको पनि अर्थ नहुने बुझाइ माओवादीको छ । पारित नहुने गरी अविश्वास प्रस्ताव ल्याउँदा त्यसले ओलीलाई झन् बलियो बनाउने र एक वर्षसम्म अर्को प्रस्ताव पनि ल्याउन नमिल्ने भएकाले कच्चा खेलमा माओवादी नलाग्ने ती नेताको भनाइ छ ।

माओवादीले समर्थन फिर्ता लिएपछि ओली तत्कालै विश्वासको मत लिन जाने वा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अघि बढ्ने अवस्थामा मुलुक पुनः चुनावमै जाने देखिन्छ । माओवादी प्रवक्ता श्रेष्ठले आफूहरु संसदको पूरै कार्यकालको सुनिश्चितता हुनुपर्छ भन्ने पक्षमा रहेकाले जिम्मेवार ढंगले अघि बढिरहेको बताए ।

माओवादी केन्द्रले कांग्रेसको रामचन्द्र पौडेल पक्ष र जसपाको बाबुराम, उपेन्द्र पक्षसँग संवाद गरिरहेको छ । तर निर्णायक ठाउँमा देउवा र महन्थ रहेकाले परिणाम निस्केको छैन । अन्तिमपटक ओलीलाई फाल्ने कि काँध हाल्ने भन्ने प्रष्ट जवाफ खोजिने र त्यसपछि ओलीविरुद्ध रहेका सबै दलभित्रका शक्तिहरुसँग मिलेर संघर्षमा जाने तयारी माओवादीको छ ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको सन्दर्भमा महन्थ ठाकुर पक्षले दिएका अभिव्यक्तिलाई अत्तो थाप्ने जुक्तिका रुपमा नेताहरुले लिएका छन् । आफूहरुले ओली पक्षका लागेका निर्वाचित सांसदहरुको पद समेत खारेज गरिसकेको भन्दै समर्थन फिर्ताको कागज प्रचण्डको गोजीमै रहेको नेताहरु बताउँछन् ।

प्रचण्ड निकट नेताले भने, ‘देउवा र महन्थले हामी अविश्वास प्रस्ताव ल्याउँदैनौं भनुन्,एक मिनेटमा सरकारलाई दिएको समर्थन फिर्ता लिएर ओलीविरुद्धको नयाँ संघर्षमा जान्छौं । त्यो अबस्थामा कांग्रेस,जसपा र एमालेभित्रका प्रतिगमनविरोधी शक्तिहरु एकजुट हुने नयाँ ध्रुवीकरण शुरु हुन्छ । अब यहि अवस्थामा हामी रहन सक्दैनौं, अन्तिमपटक सोध्ने हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर