दाङका अबैध १० क्रसर तत्काल बन्द गराउन लुम्बिनी प्रहरी प्रमुखको पत्राचार – Nepal Press

दाङका अबैध १० क्रसर तत्काल बन्द गराउन लुम्बिनी प्रहरी प्रमुखको पत्राचार

दाङ । मापदण्ड विपरित सञ्चालनमा रहेका दाङका दशवटा क्रसर उद्योग तत्काल बन्द गर्न लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दलाई निर्देशनसहितको पत्राचार गरेका छन् ।

सुरुमा बन्द गरी स्थानीय प्रशासनकै मिलेमतोमा पुनः उद्योग सन्चालन गरिएको समाचार सार्वजनिक भएपछि प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण भएको थियो । दाङका स्थानीयवासीले प्रमुख जिल्ला अधिकारी र लिज्जा प्रहरी प्रमुखकै मिलोमतोमा बन्द क्रसर खोल्ने पहल गरिएको आरोप लगाएका थिए ।

प्रदेश प्रहरी कार्यालयबाट पठाइएको पत्रमा अबैध क्रसर खुलाउने कार्यमा प्रहरीको संग्लग्नता देखिए जिल्ला प्रहरी प्रमुखलाई विभागीय कारबाहीको चेतावनीसमेत दिइएको छ । एसपी चन्द भने दाङबाट सरुवाको तयारीमा छन् । पत्रमा कानून कार्यान्वयन गर्ने क्रममा आफ्नाे कार्यक्षेत्रभित्र नपर्ने भन्दै पन्छिन नमिल्नेतर्फ पनि प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी प्रमुखलाई सचेत गराएकाे छ ।

डीआईजी धानुकको निर्देशनमा अबैध क्रसरको अनुगमनका लागि एसपी चन्दले प्रहरी टोली पठाए पनि उद्योगभित्र नगई बाहिरैबाट सोधपुछ गरेर फर्केको थियो । कपिलवस्तुबाट सरुवा भई दाङ आएको केहि दिनमै प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बन्द रहेका क्रसर सन्चालनको अनुमति दिएका हुन् ।

दाङका तत्कालीन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य नेतृत्वको एसपी गणेश चन्दसहितको अनुगमन टोलीले आफैं बन्द गराएको अबैध क्रसर उद्योग नयाँ प्रमुख जिल्ला अधिकारी आए लगत्तै बन्द गरिएका क्रसर सन्चालनका लागि झिकीएका मेसिनहरु जडान गरिएको थियो ।

बैधतामा प्रश्न उठेपछि बन्द गरिएका तर पछि सन्चालनको अनुमति पाएका उद्योहरु तुलसीपुर क्षेत्रमा सञ्चालित गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, स्वर्गद्वारी स्क्रिन प्लान्ट प्रालि, जनविश्वास बालुवा वासिङ उद्योग, मंगलम् बालुवा प्रशोधन उद्योग छन् ।

त्यस्तै लमही क्षेत्रको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बगारवावा बालुवा प्रशोधन उद्योग, सतवरिया क्षेत्रमा रहेको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, गढवामा क्षेत्रमा रहेको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग लगायत छन् । उनीहरुले बालुवा धुने कामका लागि अनुमति लिए पनि प्रशासनको संयन्त्र कमजोर पारेर क्रसिङ गरिरहेका छन् ।

जिल्लामा कुल ३२ वटा बालुवा प्रशोधन उद्योग दर्ता छन्। तर, त्यसमध्ये ६ वटा बन्द अवस्थामा छन्। जिल्लामा हाल सञ्चालित कुल २६ वटा मध्ये १० वटाले मापदण्ड विपरित क्रसिङको काम गरेको हुँदा बन्द भएका थिए । गृह मन्त्रालयले कात्तिक २५ गते देशभरका जिल्ला प्रशासनलाई पत्राचार गर्दै क्रसर र बालुवा प्रशोधन उद्योगको अनगुमन गर्न निर्देशन दिएको थियो ।

सोही अनुरूप दाङमा तत्कालीन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, एसपी चन्द सहितको टोलीले हप्ता दिन लगाएर जिल्लाका क्रसर उद्योगको अनुगमन पछि मापदण्ड विपरित सञ्चालनमा रहेका १० उद्योग बन्द गराएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *