गोठमा आगलागी भएपछि भाग्न नसक्दा दाजु-बहिनीको जलेर मृत्यु – Nepal Press

गोठमा आगलागी भएपछि भाग्न नसक्दा दाजु-बहिनीको जलेर मृत्यु

रुपन्देही । आफ्नै गोठमा आगलागी भएपछि भाग्न नसक्दा प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।

बुवा पोखरामा काम गर्नका लागि गएका र आमा घाँस काट्न गएको समयमा भएको आगलागीबाट गोठमा भएका सबै गाईवस्तु स्थानीयको पहलमा भगाउनसके पनि दुवै बच्चालाई भने बचाउन सकेनन् ।

गौमुखी गाउँपालिका वडा नं ३ रजवारा रिमबहादुर (रमेश) रानाको गोठमा भएको आगलागीमा परेर उनका सात वर्षीय छोरा हिमाल राना र २ वर्षीया छोरी चन्द्रकला रानाको मृत्यु भएको लिवासे प्रहरी चौकीका सई हरि गुरुङले जानकारी दिए ।

उनले घरदेखि केही टाढा रहेको गोठमा आगो बाल्ने क्रममा आगलागी भएको र उनीहरुको सबै शव जलेको अवस्थामा भेटिएको बताए । स्थानीयको पहलमा गोठमा भएका गाईवस्तुलाई जोगाउन सकेपनि आगलागी भएपछि गोठबाट भाग्न नसक्दा जलेको हुनसक्ने गुरुङले बताए ।

गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले घरमा बुवा-आमा नभएको समयमा आगलागी भएको र बच्चा भाग्न नसकेर नै जलेर यस्तो दुःद घटना भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *