एपीएफलाई पन्छाउँदै संकटा आहा रारा गोल्ड कपको फाइनलमा – Nepal Press

एपीएफलाई पन्छाउँदै संकटा आहा रारा गोल्ड कपको फाइनलमा

पोखरा । विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई २-० गोलको नतिजामा पराजित गर्दै संकटा क्लब आहा रारा गोल्ड कपको फाइनलमा पुगेको छ । क्वार्टरफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० को नतिजामा पराजित गर्दै अन्तिम चारमा पुगेको संकटाले पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोलीलाई पाखा लगाउँदै फाइनल यात्रा तय गर्‍यो ।

विभागीय टोलीमाथि हाबी बनेको संकटाका लागि ३३औं मिनेटमा सुवाष गुरुङले गरेको गोलसँगै पहिलो हाफमा १-० को अग्रता लिएको संकटाका लागि खेलको अन्तिम मिनेटमा ग्लोरीले दोस्रो गोल गरेका थिए ।

ग्लोरीको गोलसँगै फाइनलमा पुगेको संकटाले उपाधिका लागि भोलि हुने अफ्रिकन रूट एसोसिएसन र नेपाल पुलिस क्लबबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ ।

अफ्रिकन रूटले मच्छिन्द्र क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो भने पुलिसले थ्री स्टार क्लबलाई पाखा लगाउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।

कूल ८ टोली सहभागी रहेको प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख र सर्वोत्कृष्ट खेलाडीले अप्रिलिया स्कुटर प्राप्त गर्नेछन् । प्रतियोगिताको साविक विजेता मनाङ मर्स्याङ्दी क्लब क्वार्टरफाइनलबाटै बाहिरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर