सल्यान पुगेका प्रचण्डको आग्रह- परिवारमा सल्लाह गर्नुहोला, मेरो अभियान ठीक कि बेठीक – Nepal Press

सल्यान पुगेका प्रचण्डको आग्रह- परिवारमा सल्लाह गर्नुहोला, मेरो अभियान ठीक कि बेठीक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सपनाको रक्षा गर्ने अभियानमा फेरि एक पटक लागेको भन्दै त्यो ठीक भए नभएको बारे घर-परिवारमा सल्लाह गर्न आग्रह गरेका छन्।

कर्णाली प्रदेशको भ्रमणको क्रममा बुधबार सल्यानको सल्लीबजार पुगेका प्रचण्डले भने, ‘बीचमा दुर्घटना हुने खतरा पैदा भएको थियो। त्यो दुर्घटनाबाट राष्ट्रको रक्षा, जनताको रक्षा र तपाईं हामीको सपनाको रक्षा गर्नको लागि म फेरि एकचोटी यो अभियानमा छु ।’

उनले यो अभियानबारे घरपरिवारमा चिन्तन मनन् र सल्लाह गर्न समेत आग्रह गरे। ‘तपाईंहरूसँग भेट भयो, छोटो समयमा उपस्थित भएर मेरो कुरा सुन्नु भयो,’ सल्लीबजारमा आयोजित सानो सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘विचार गर्नुहोला मेरो कुरा । तपाईंहरुलाई कस्तो लाग्छ ? ठीक भने कि बेठीक भने की ? चिन्तन, मनन् गर्नुहोला घर परिवारमा । साथीभाइहरूमा सल्लाह गर्नुहोला ।’

बाँकी जीवन विकास निर्माण र समृद्धिका लागि लगाउने संकल्प गर्दै आफू चुनावमा गएको र त्यसको तीन वर्षपछि दुर्घना हुन खोजेको टिप्पणी गरे। ‘यो संविधान र लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको सपना पुरा गर्न धेरै ठूला-ठूला कुरा गर्ने मौका पाएँ मैले,’ प्रचण्डको भनाइ छ, ‘नेपालको इतिहासमै कमै नेताले यस्तो मौका पाउँछन् । मैले पाएँ । अब बाँकी जीवन विकास निर्माण, समृद्धि, सामाजिक न्याय र समाजवादका निम्ति दिन्छु भनेर संकल्प गरेर चुनावमा गएँको थिएँ ।’

त्यस्तो दुर्घटना प्रधानमन्त्री केपी शर्मा ओलीले गराउन खोजको प्रचण्डको भनाइ थियो । कम्युनिष्ट आन्दोलन र एकता अहिले पनि जरुरी रहेको भन्दै प्रचण्डले फेरि पनि त्यसका लागि लाग्ने बताए। ‘कम्युनिष्ट आन्दोलन र एकता अहिले पनि जरुरी छ,’ उनको भनाइ छ, ‘हामीले गरेको एकता गल्ती गरेको होइन । त्यो सही नै हामीले गरेको हो । फेरि पनि आन्दोलनलाई एकताबद्ध गर्नैपर्छ । फेरि पनि राजनीतिक दलहरूकाबीचमा समझदारी गर्नैपर्छ ।’

नेकपाबारे अदालतले अनपेक्षित फैसला गरेको उनको भनाइ छ। ‘हामीले त सोच्या थियौं, अदालतले बढी भन्यो भने नाम अर्को फेर्नुहोस् भन्ला,’ प्रचण्डले भने, ‘किनभने त्यो भन्दा अरु ठाउँ थिएन । तर, अनौंठो भयो । अदालतले भन्नै नहुने कुरो भन्यो ।’


प्रतिक्रिया

One thought on “सल्यान पुगेका प्रचण्डको आग्रह- परिवारमा सल्लाह गर्नुहोला, मेरो अभियान ठीक कि बेठीक

  1. मैले मेरो परिवार र साथीहरुसँग छलफल गरेँ, सबैजनाले प्रचण्ड भनेको महादलाल हो, उ अहिले सत्ताको फोहोरी खेल खेलेर असफल भइसकेपछी गोहीको आँशु चुहाउँदै फेरि पश्चिमी बस्तिहरुका जनतालाई घाँस हाल्न खोज्दैछ, जहाँ भेट्यो, कालोमोसो दलेर, चारपाटे मुडेर, जुत्ताको माला लगाएर लखेट्नुपर्छ भन्ने सल्लाह भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर