श्रीलंका पुलिसविरुद्ध खेलका लागि नेपाल आर्मी तयार, जित निकाल्ने दाबी – Nepal Press

श्रीलंका पुलिसविरुद्ध खेलका लागि नेपाल आर्मी तयार, जित निकाल्ने दाबी

काठमाडौं । एएफसी कप प्रारम्भिक छनोट खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले भोलि बुधबार श्रीलंका पुलिस स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुकी ५ः३० बजेदेखि सुरु हुनेछ ।

आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपाने टोलीले क्लब लाइसेन्स प्राप्त गरेदेखि नै अभ्यास थालेकाले तयारी राम्रो रहेको बताउँछन् । हालै सम्पन्न थ्री-नेसन्स कपमा किर्गिस्तानसँग खेलेको वार्मअप म्याचले टोलीको कमी-कमजोरी पत्ता लगाउने अवसर मिलेको र त्यही अनुसार सुधार गर्ने उनको भनाइ छ ।

‘यो खेललाई समुह चरणसम्म पुग्ने भर्याङको रुपमा लिएका छौं र हाम्रो लक्ष्य जित मात्रै हो,’ उनले भने, ‘भोलिको खेलका लागि शारीरिक र मानसिक दुवै तवरले टीम तयार छ ।’

थ्री नेसन्स कप जितेर राष्ट्रिय टोलीले नेपाली फुटबल समर्थकलाई दिएको खुसी आर्मीले भोलिको खेल जितेर दोहोर्‍याउने उनले आशा व्यक्त गरे । न्यौपाने भन्छन्, ‘समूह चरणमा पुग्न ३ वटा खेल जित्नुपर्ने हुन्छ । यो पछिका खेल झन् गाह्रो हुँदै जाने हो । त्यो तहसम्म पुग्न एकपछि अर्को खुड्किला उक्लिने लक्ष राखेर अगाडी बढ्नु पर्नेछ । भोलिको खेल हाम्रो लागी पहिलो खुड्किला हो ।’

आर्मीका कप्तान भरत खवासले यो खेलमा अवसर र चुनौती दुवै रहेको टोलीले यसलाई चुनौतीभन्दा बढी अवसरको रुपमा लिएको उनको भनाइ छ । कोभिडले गर्दा केही समय तयारी रोकिए पनि सेट टीम भएकाले खासै फरक नपर्ने उनको भनाइ छ ।

श्रीलंका पुलिस स्पोर्ट्स् क्लवका प्रशिक्षक झिलाउ उल्पेन्सुले दुई महिना अगाडि मात्र तयारी थालेको भए पनि एएफसी कप खेल्न तयार रहेको बताए ।

उन्ले भने, ‘हामी पुलिस हौं । कोभिडको समयमा हामी श्रीलंकाका जनतालाई सहयोग गर्न लागिपर्यौंं, त्यसैले कम समय तयारी गर्न पायौं ।आर्मीले घरेलु मैदानमा खेल्दै छ र राष्ट्रिय खेलाडीको बाहुल्यता भएको टोली छ । त्यसैले खेल हाम्रो लागि चुनौतिपूर्ण छ ।’

आफ्नो टोलीमा राष्ट्रिय खेलाडीहरु नभएको तर तीन जना विदेसी खेलाडी रहेको उनले जानकारी दिए । टिमका कप्तान चामीका कुमारा झिलाउले ‘थोरै समयको अभ्यास भए पनि राम्रो तयारी भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *