नेप्से परिसूचकमा छलाङ, बजारमा विकृतिका चाङ – Nepal Press

नेप्से परिसूचकमा छलाङ, बजारमा विकृतिका चाङ

इनसाइडर ट्रेडिङदेखि १० कित्तेसम्मका चलखेल

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमनसँगै सेयर बजारमा सुरु भएको उछाल अहिले इतिहासकै उच्च विन्दुमा पुगेको छ ।

बजारमा छाएको हरियालीसँगै लगानीकर्ता उत्साहित छन् । तर हरियाली बजारभित्र अनेक खालका विकृतिहरु मौलाइरहेका छन् ।

गत फागुन ९ गते नेप्सेले २६४० अंकको उच्च बिन्दु छोएको थियो । त्यसयता २६०० कै हाराहारीमा अल्मलिएको बजारले हिजो नयाँ रेकर्ड कायम गर्दै २ हजार ६ स ५७ अंकमा पुगेको छ ।

विगतमा औसतमा ५०/६० करोड रुपैयाँ बराबरको सेयर कारोबार हुने नेप्सेमा यतिवेला दैनिक औसत ५ अर्ब रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।
गत माघ र फागुनमा ४ दिन १० अर्बभन्दा माथिको कारोवार भएको थियो । माघ २५ गते १० अर्ब ४४ करोड बराबरको कारोवार भएको सेयर बजारमा माघ २६ गते सबैभन्दा धेरै १० अर्ब ६१ करोड रुपैयाँको कारोवार भयो ।

यस्तै, फागुन ३ गते १० अर्ब ३८ करोड र फागुन १४ गते १० अर्ब २ करोड रुपैयाँको कारोवार भएको छ । नेप्सेको बजार पूँजीकरण अहिलेको कुल गार्हस्थ्य उत्पादनको हाराहारीमा पुगिसकेको छ ।

कुल गार्हस्थ्य उत्पादन ३९ खर्ब ४३ करोड रुपैयाँ पुग्दा नेप्सेको बजार पूँजीकरण ३६ खर्ब १७ अर्ब पुगेको छ । हाल नेप्सेमा २९३ कम्पनीहरु सूचीकृत छन् । ५० वटा ब्रोकर कम्पनीले लाइसेन्स पाएका छन् भने केही समय अगाडि बजार निर्माताका रुपमा नागरिक डिलरले स्वीकृति पाएको थियो ।

२०७५ सालमा ११ सय अंकको न्युनतम विन्दुमा ओर्लिएको सेयर बजारमा २०७६ सालको न्यूनतम विन्दु ११०९ अंक रहेको थियो । २०७७ सालमा ११८८ अंकको न्युनतम विन्दुबाट बजार माथि उठ्न थालेको हो ।

बजार बढ्नुका कारण

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्ने गर्थे । उनको पालामा बजार निकै सुस्ताएको थियो ।

डा. खतिवडाले पूँजीगत लाभकर २.५ प्रतिशतले बढाएर ७.५ प्रतिशत पुर्‍याइदिएका कारण लगानीकर्ताले उनको चर्को बिरोध मात्रै गरेनन् ।उनलाई सेयर बजारको खलनायककै रुपमा प्रस्तुत गर्ने काम पनि गरे । तर, संयोग उनी अर्थमन्त्रीबाट बहिर्गमन भएसँगै सेयर बजारमा सकारात्मक संकेतहरु देखिन थाले ।

अर्थमन्त्रीमा बिष्णुप्रसाद पौडेलको इन्ट्रीपछि बजार उकालो चढ्ने क्रम रोकिएको छैन । तर, अहिले सेयर बजार बढ्नुमा बिष्णुप्रसाद पौडेलको इन्ट्रीमात्र नभएको बताउँछन् लगानीकर्ता ।

सेयर बजारलाई अर्थतन्त्रको ऐना भन्ने गरिएको छ । तर, नेपालमा भने सेयर बजारले अर्थतन्त्रको भ्रमपूर्ण तस्बिर देखाउँदै आएको छ । ४ वर्ष अगाडि नेपालमा भूकम्पले अर्थव्यस्था डामाडोल बनाउँदा सेयर बजार भने उचालिएको थियो ।

त्यसबेला नेप्सेले १८८१ अंकको उच्च बिन्दु छोएको थियो । अहिले पनि अर्थतन्त्र कोभिडका कारण थला परेको समयमा नेप्सेमा बुलिस ट्रेन्ड चलिरहेको छ ।

कोभिडका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहँदा अन्य देशहरुको बजारमा पनि यस्तै अनौठा प्रवृत्ति देखिएको छ । कोभिडको समयमा अमेरिकाको न्युयोर्क स्टक एक्सचेन्ज, बेलायतको लण्डन स्टक एक्सचेन्ज, जापानको निकी, भारतको मुम्बइ स्टक एक्स्चेञ्जदेखि चीनको साङ्घाई स्टक एक्सचेन्जसम्मको सेयर बजारहरु सर्वकालिन उच्च विन्दुमा पुगे ।

कोभिडका कारण अर्थतन्त्रका सम्पूर्ण क्षेत्रहरु प्रभावित हुँदा लगानीकर्ता सेयर कारोबारतर्फ आकर्षित भएको धितोपत्र बोर्डको बुझाइ छ ।

बोर्डका प्रवक्ता नीरज गिरी २० वर्षको नेप्सेको ट्रेन्ड अध्ययन गर्ने हो भने अधिक तरलता भएको र ब्याजदर घटेको समयमा सेयर बजार बढ्ने गरेको बताउँछन् । साथै बोर्डको १० कित्ता नीतिले पनि लगानीकर्ताहरुलाई बजारतर्फ आकर्षित बनाएको उनको बुझाइ छ ।

‘कोभिडका कारण अर्थतन्त्र प्रभावित भएको कारण बैंकहरुसँग भएको अधिक तरलताले गर्दा ब्याजदर घटेर गयो, जसले गर्दा पुँजी बजारले बढ्ने मौका पायो ।

तपाईले धितोपत्र बोर्डको २० बर्षको ट्रेन्ड हेर्नुभयो भने पर्याप्त तरलता र ब्याजदर कम भएकै अवस्थामा नप्से बढेको छ,’ उनले भने ।
ब्याजदर मात्रै नभएर उद्योगधन्दा–कलकारखना समेत पुर्णरुपमा सञ्चलनमा नआउँदा लगानीकर्ताहरु पूँजीबजारतर्फ आकर्षित भएको गिरीले बताए ।

उनी भन्छन्, ‘नेप्सेको अनलाइन प्रणाली र हाम्रो १० कित्ता सेयर दिने नीतिका कारण पनि बजार बढिरहेको हो जस्तो लाग्छ । कोभिडकै बीचमा नेपालका बैंक तथा वित्तीय संस्थाहरुले लाभांस घोषणा गर्दा पनि सेयर बजार प्रोत्साहन मिल्यो ।

त्यस्तै चालु आर्थिक वर्ष बीमा समितिको निर्देशनको पालना गर्दै केही कम्पनीहरुले सेयर जारी गर्नाले पनि सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।

यो वर्ष नेपालको इतिहासको सबैभन्दा ठुलो आइपीओ नेपाल इन्फ्रास्टक्चर बैंकले जारी गर्‍यो । यसले ८ अर्बको बराबरको सेयर निष्कासन गरेकोमा करिब १५ लाख ५० हजार लगानीकर्ताले २० अर्ब रुपैयाँको सेयरका लागि आवेदन दिएका थिए ।

जबकि विगतमा जलविद्युत कम्पनीको आइपीओ जारी भए पनि कम आवेदनका कारण दोहोर्‍याएर सेयर निष्कासन गर्नुपर्ने अवस्था थियो ।

नेपालमा करिब ३० लगानीकर्ताले ‘मेरो सेयर’ को खाता खोलेको छन् । यस्ता केही तथ्य र तथ्यांकले नेपालको सेयर बजारप्रति लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।

बजार वृद्धिका सकारात्मक प्रभाव

धितोपत्र कारोबारको स्थायित्वले ब्याज आम्दानीका लागि बैंकको मुद्दति खातामा रकम जम्मा गर्ने अर्थात बैंकको कार्टेलिङ्ग अन्त्य गरिदिने बिज्ञहरु बताउँछन् ।

वित्तशास्त्री अनलराज भट्टराईले पुँजी बजारको बृद्धिलाई स्वभाविक भन्दै यसलाई थप मजवुत बनाएर अगाडि बढ्न सके मुलुकको अर्थतन्त्र मजवुत हुन सक्ने धारणा राखे । ‘हाम्रो अर्थतन्त्रको आकार सानो छ । कोभिडका कारण अर्थतन्त्रका सम्पुर्ण क्षेत्रहरु प्रभावित भइरहदा लगानीकर्तालाई विश्वास दिलाउने काम पुँजी बजारले गरेको छ,’ उनले भने, ‘सेयर बजार लगानीको बैकल्पिक स्रोत हो र यसबाट पनि पैसा कमाउन सकिन्छ भन्ने विश्वास मजबुत भएको छ ।’

यसले बैंक तथा वित्तीय संस्थाको पैसा उठाउने एकाधिकारको अन्त्य गरेको भन्दै उनले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन दवाव पुग्ने उल्लेख गरे ।

तर, विकृति प्रशस्तै

सेयर बजारका जानकारहरु नेपालको सेयर बजार लगानी बैकल्पिक स्रोत हुँदाहुँदै पनि यसभित्र कारोबारको निष्पक्षतामा प्रश्न उठ्ने गरेको छ ।

बिगत केही समयदेखि धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याएको टि प्लस टु प्रभावकारीरुपमा कार्यान्वयन नहुँदा साना लगानीकर्ताहरुले बारम्बार ब्रोकरलाई सेयर पाउन र पैसा लिनका लागि ताकेता गर्नुपर्ने अवस्था रहेको छ ।

अर्कोतर्फ दुई दिनभित्रमा बेचेको सेयर इडिआइएस गरेन भने २० प्रतिशतको ‘क्लोजआउट फाइन’ का कारण लगानीकर्ताहरु आक्रोसित छन् ।

इडिआइसको क्षमता बिस्तारमा ढिलाइले गर्दा मेरो सेयर नखुल्ने समस्या छ । यसले लगानीकर्ताहरुले समयमा नै सेयर पठाउन सकिरहेका छैनन् ।

नेपालको सेयर बजारमा सिग्नलिङ प्रभाव पनि उत्तिकै देखिन्छ । अहिले पनि नेप्सेमा बैंक, बीमा तथा वित्तीय कम्पनीको प्रभुत्व कायम रहेकाले सेयरबजार्र अर्थतन्त्रको ऐनाभन्दा पनि वित्तीय क्षेत्रको ऐनाजस्तो देखिएको बिज्ञहरु बताउँछन् । पूँजी बजारमा अहिले पनि ‘रियल सेक्टर’ को उपस्थिति कमजोर नै देखिन्छ ।

अहिले पनि पूँजी बजारमा नेपालका ठूला कम्पनीहरु प्रवेश गरेका छैनन् । सरकारकै आयल निगम, विद्युत प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण जस्ता कम्पनीहरु सेयर बजारमा आउन सकेका छैनन् ।

नीजि क्षेत्रतर्फ बुहराष्ट्रिय कम्पनी सीजी, एनसेल, बजाज, सिप्रदी, हुण्डाई, टोयोटा जस्ता कम्पनीहरु अझै पनि प्राइभेट पब्लिक कम्पनीमा सीमित छन् ।

धितोपत्र बोर्डले यिनीहरुलाई नेप्सेमा सुचिकृत गराएर बजारलाई अनुमानयोग्य र प्रतिफलयोग्य बनाउन सकेको देखिदैन । त्यस्तै बजारमा ठूला लगानीकर्ताहरुले खराव कम्पनीको सेयर खरिद–बिक्रीमा चलखेल गरिदिँदा बजार बढ्ने आशमा साना लगानीकर्ताहरु पूँजी घटाएर बाहिरिनुपर्ने बाध्यात्मक अवस्था छ ।

शुल्क चर्को, तर प्राविधिक समस्या

अहिले आइपीओ खुल्ने क्रम बढेसँगै प्रतिफलको आशाले नयाँ लगानीकर्ताहरु बढिरहेका छन् । तर सिडिएससीले मेरो सेयरको एप्सलाई अपग्रेड गर्न नसक्दा लगानीकर्ताहरुले आफ्नो सेयरलाई ट्रान्सफर गर्न सकिरहेका छैनन् ।

आइपीओ खुलेको समयमा त अत्यधिक चापका कारण मेरो सेयर खुल्दै नखुल्ने अवस्था छ । सेयर विश्लेषक रविन्द्र भट्टराईले आइपीओ भर्न पाउँदा आफू निकै भाग्यमानी भएको व्‍यंग्यात्मक स्टाटस लेखे । क्यानाडामा रहेका उनले नेपालमा सेयर किन्न मन भए पनि प्रावधिक खरावीका कारण लगानीकर्ताले सास्ति भोग्नुपरेको गुनासो गरेका थिए ।

नेपाल इन्भेस्टमेन्ट फोरमका अध्यक्ष छोटेलाल रौनियार धितोपत्र बोर्ड, सिडएससी र ब्रोकर मिलेर चर्को रकम असुल गरेपनि प्रणालीमा सुधार नगर्दा आफ्नो लगानी नै जोखिममा परेको बताउँछन् ।

अहिले दैनिक औसत ६० हजार कारोबार हुन्छ । प्रतिकारोबार डीपी चार्ज २५ रुपैयाँका दरले दैनिक १५ लाख रुपैयाँ सीडीएससीले असुल्छ । यस्तै, मेरो सेयरको नविकरणबापत ३० लाख लगानीकर्ताबाट बार्षिक ३० करोड रुपैयाँ उठाइन्छ । अर्कोतर्फ, कारोबार रकमको ०.५ प्रतिशत ब्रोकर शुल्क लगानीकर्ताले तिर्नुपर्छ ।

यतिका शुल्क तिराएर पनि मेरो सेयर र नेप्सेको अनलाइन प्रणाली भने कमजोर रहेको लगानीकर्ता बताउँछन् । ‘कमजोर प्रणालीले गर्दा लगानी गर्न पनि १० पटक सोच्नुपर्ने अवस्था छ । इडिआइएस गर्न नपाएर फन्सिङ चार्ज लाग्छ कि भन्ने डर पनि छ,’ रौनियारले भने । त्यस्तै ब्रोकरहरुले समेत आफ्नो सिस्टम अपग्रेडेट नगरेका कारण समस्या आउने गरेको उनको भनाइ छ ।

इन्साइडर ट्रेडिङ मौलाउँदै

कम्पनीको भित्री सूचना लिक गर्ने वा हल्लाका आधारमा बजार बढाउने वा घटाउने चलखेल सेयर बजारमा खुबै हुन्छ, जसलाई इन्साइडर टेडिङ भन्ने गरिन्छ ।

नेपालमा यस्तो कार्य मौलाउँदै गए पनि नेप्सेले कारवाही गर्नेतर्फ खासै चासो दिएको छैन । बरु उल्दै संरक्षण गरेर सुचना प्रकाशित गर्ने गरेको छ ।
गत सोमबारको एउटा घटनालाई उदाहरणको रुपमा लिन सकिन्छ । नेप्से ५ अंकले घट्दा पनि अजोड इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्यो ।

त्यसको भोलीपल्ट मंगलबार अजोडले कम्पनीको साधारणसभामा ५० प्रतिशत राइट सेयर बितरण गर्ने खवर सञ्चार माध्यममा आयो । बैशाख ७ गते बस्ने साधारण सभामा पेस हुने प्रस्ताव बाहिरिएपछि कम्पनीको सेयर मुल्य लगातार बढेको थियो । यस बिषयको छानविन भइरहेको धितोपत्र बोर्ड बताउँछ भने नेप्सेले यसलाई क्लिन चिट दिइसकेको छ ।

लगानीकर्ताहरुले अजोड इन्स्योरेन्स कम्पनीको कारोबार तत्काल रोकेर राइट सेयर जारी गरेपछि मात्रै कारोबार गर्न दिनुपर्ने माग गरिरहेका थिए ।

तर नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आफुहरुसँग सुचना चुहाएको कुनै पनि प्रमाण नभएको बताउँदै राइट सेयर बितरण गर्ने सुचना प्रकाशित गरिदिएर कम्पनीलाई क्लिन चिट दिएका छन् ।

‘उसले कानुनबमोजिम प्रक्रिया अगाडि बढाएको छ, हामीले नेप्सेको वेवसाइटमा सुचना प्रकाशित गरिसकेका छौ । कारवाही गर्ने कुनै प्रमाण हामीसँग छैन, तपाईसँग भए ल्याउनुहोस म कारवाही गर्छु,’ उनले भने ।

त्यस्तै लांभासको हल्ला चलाएर नेपाल टेलिकमको सेयर बढाउन नेपालका ठुलै लगानीकर्ताहरु सक्रियरुपमा लाग्दा समेत नेप्सेले आँखामा चिम्लियो ।

गत साता मात्रै साल्ट ड्रेडिङ कम्पनीको कारोबारमा इन्साइडर ट्रेडिङ भएको आशंका भएपनि नेप्सेले छानविन गर्नेतर्फ चासो नदेखाउनु शंकास्पद भएको लगानीकर्ताहरु बताउँछन् ।

ब्रोकर र लगानीकर्ताको बदमासी
धितोपत्रको कारोबार ब्रोकरमार्फत हुने गर्छ । नेपालमा ५० वटा ब्रोकर कम्पनीहरु रहेका छन् । केही ब्रोकर कम्पनीहरुलाई छोडेर अधिकांसले रकम भुक्तानी गर्न तथा सेयर ट्रान्सफर गर्न ढिलाइ गरेको गुनासो लगानीकर्ताहरुले गर्दै आएका छन् ।

कारोबार भएको दुई दिनभित्र रकम तथा सेयर राफसाफ गरिसक्नु पर्ने गरी टी प्लस टु कार्यान्वयनमा आएपनि त्यसको पालनामा ब्रोकरहरुले खासै ध्यान दिएको देखिदैन ।

यता, सेयर लगानीकर्ताहरुको पनि बदमाशी कम छैन । एउटा परिवारभित्रका सदस्यहरुको मेरो सेयरको खाता खोली आइपिओ भर्न पाउने व्यवस्थाको पनि दुरुपयोग भइरहेको छ ।

विभिन्न व्यक्तिका नागरिकताहरु भेला पारी एउटै ब्यक्तीले थुप्रै खाता खोली सेयर भर्ने गरेका छन् । एकातर्फ नेप्सेको १० कित्ते नीति र अर्कोतर्फ अबैध खाताहरुले गर्दा वास्तविक लगानीकर्ताहरुले आइपिओ पाउने अवस्था कमजोर बन्दै गएको छ ।

आफ्ना चिनजानका मान्छेहरुको नागरिकता र फोटोका आधारमा बैंक खाता खोली मेरो सेयर लिने गरिएको छ भने ब्रोकर कम्पनीहरुले पनि सजिलै टिएमएस दिने भएकाले अबैध कारोबारले फस्टाइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.