विकास देख्न नचाहनेले कानमा कपास र आँखामा साउने चश्मा लगाए हुन्छ : गोकुल बास्कोटा – Nepal Press

विकास देख्न नचाहनेले कानमा कपास र आँखामा साउने चश्मा लगाए हुन्छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले देश विकासको गतिमा लम्किएका बेला विरोधीहरू ऐँठन भएको बताएका छन् । विकास देख्न र सुन्न नचाहनेहरुलाई कानमा कपास र आँखामा कालो चश्मा लगाउन उनले सुझाव दिए ।

संसद बैठकमा आज आज सम्बोधन लिएर बोल्ने क्रममा बास्कोटाले केपी ओलीको सरकारले देशको बहुआयामिक विकासका एजेन्डालाई अघि सारेको बताए ।

उनले भने, ‘ओलीको सरकार बन्नुसम्म देश केवल राजनीतिमा मात्रै केन्द्रित थियो । विकास-निर्माण र राष्ट्रिय स्वाधिनताका विषयहरु सरकारका प्राथमिकता वा राष्ट्रिय एजेन्डामा पर्ने गरेका थिएनन् । तर, अहिलेको सरकारले बहुआयामिक विकासतर्फ देशलाई डोहोर्‍याएको छ । यो कुरालाई पनि माखोल उडाउन खोजिन्छ, खुसी व्यक्त गर्न सकिन्न भने मेरो एउटा प्रश्न छ- नेपालका राजनीतिक पार्टी आखिर के चाहन्छन् ?’

मेलम्ची आयोजनामा किसुनजीको सपनाको कुरा गर्नेहरूले अहिले केपी ओलीले देखेका सपनाको विरोध गर्दा आफूलाई आश्चर्य लागेको बास्कोटाले बताए ।

उनले भने, ‘किसुनजीप्रति मेरो सम्मान छ, उहाँले सपना देख्नुभयो । तर, उहाँले देखेको सपना पूरा गरिदिने केपी ओलीको विरोध किन ? केपी ओलीले देखेका सपना चाहिँ के ? आज नभए ३० वर्षपछि पनि ती सपना पूरा हुनेछन् ।’

देशमा धमाधम विकासका काम भइरहँदा एकथरिलाई ऐठन हुन थालेको बास्कोटाले उल्लेख गरे । अबका दिनमा उनीहरुको ऐठन झन् बढ्ने उनको चेतावनी थियो ।

उनले भने, ‘गज्जब लाग्छ । एक सय ६५ वटा बाटा बनाउने कुरामा पनि निराशा छ । यस्ता दुखी आत्माप्रति खेद मात्रै व्यक्त गर्न सक्छु । मृत सपना बोकेर आशावादको नेतृत्व गर्न सकिँदैन ।’

‘कसैकसैलाई त विध्वंशमै आदत बसेको हुनछ । तर, विकासको एजेन्डा खोज्ने साथीहरू पनि त्यही बोलीमा लोली मिलाएर केही पनि भएन भन्ने ? मेलम्ची आएन ? धरहरा बनेन ? रानीपोखरी बनेन ? केही पनि देख्न, हेर्न र सुन्न सकिन्न भने कानमा रुवा, आँखामा साउने चश्मा लगाउनुस, टन्टै साफ ।’

‘प्रधानमन्त्रीले अगाडि सारेका विभिन्न पञ्चवर्षीय योजनाहरु अघि बढेको देखेर कसैको प्रेसर बढेको छ भने यो प्रेसर थप बढ्ने बाला छ । जनतालाई विकास चाहिएको छ । जनता विकासले गति लिएको देखेर दंग, नेताहरु भरंग किन भएको ? यो कस्तो ऐठन हो ?’

कतिपयले सरकारलाई कामचलाउ भनेको भन्दै बास्कोटाले आश्चर्य प्रकट गरे ।

‘सरकार कामचलाउ हो भन्या सुन्छु । के भन्या यो ? कसरी हुन्छ कामचलाउ ? यो सरकार अहिले गठन भएको जगभित्र के छ ? समर्थन आफू नगर्ने, फिर्ता लिन नसक्ने । अर्को सरकार बनाउनका निम्ति एजेन्डा प्रस्तुत गर्न नसक्ने । अनि यो सरकार कसरी कामचलाउ भो ? त्यसो भए झिक्नुपरो समर्थन । कसले दिएको हो, समर्थन फिर्ता लिनुस अनि अर्को विषय सुरु होला । आफैं अड्काउने, आफैं पड्काउने ? त्यो नगर्नुस् ।’

चुनावसँग फोयिबा भएकाहरूले प्रतिगमनको कुरा गर्ने गरेको बास्कोटाले बताए ।

उनले थपे, ‘जनताको बीचमा जानु प्रतिगमन हुन्छ भने अग्रगमन के हुन्छ ? द्वन्द्वकालमा निरंकुश राजासित मिलेर शाही साम्यवाद ल्याउन गरेको वार्ता र छलफल अग्रगमन हो ? यदि विकास-निर्माणलाई अघि बढाउँदा, चुनावमार्फत लोकतन्त्रलाई सुदृढीकरण गर्दा प्रतिगमन हुन्छ भने म दावाका साथ भन्छु यस्तो प्रतिगमन यो देशमा बारम्बार भइरहन्छ ।’

यस्तै अवस्था हो भने देशमा ताजा जनादेशको विकल्प नरहेको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर