१५ वर्षदेखि पञ्जाबमा बन्धक मनोज, उद्दार गर्न आग्रह – Nepal Press

१५ वर्षदेखि पञ्जाबमा बन्धक मनोज, उद्दार गर्न आग्रह

जनकपुरधाम । साथीसँगको लहलहैमा १५ वर्षअघि अर्थात् १० वर्षको उमेरमा जनकपुरका मनोज सदा पैसा कमाउन भारतको पञ्जाव गए । भारत गएर मालिकको घरमा काम गर्न थालेका सदा अहिलेसम्म फर्केका छैनन् । उनलाई मालिकले घरभित्रै बन्धक बनाएर राखेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१२ सदा दुई दिनअघि ह्वाट्स एममार्फत् पत्रकार शम्भु पण्डितको सम्पर्कमा आए । पत्रकार पण्डितको सम्पर्कमा आएका सदाले निकै दुखेसो पोखे । भने, ‘मालिकले घर बाहिर निस्कनै दिँदैनन्, निस्कन खोज्यो भने मनलाग्दी कुटपिट गर्छ । मलाई जसरी पनि घर फर्कनु छ । मलाई उद्दार गरिदिनुपर्यो ।’

केही समय कुरा भएपछि मनोजले बा–आमासँग कुरा गर्ने ईच्छा गरे । अनि पण्डितले मनोजको घर पुगेर भिडियो कलमा बा–आमासँग कुरा गराइदिए ।

भिडियो कलमा कुरा मनोजसँगै आमा आमा सदा पनि भकानिइन् । छोराको दयालाग्दो अनुहार देखेपछि केही समय त उनी बोल्नै सकिनन् । निकैबेर भिडियो कलमा हेराहेर गर्दै उनीहरु रोइरहे ।

आमा बोल्नै नसकेपछि बुवा विन्देश्वरले मनोजसँग कुरा गरे । बुवासँग उनले उहीं दुखेसो पोखे । भने, ‘मलाई यहाँ बन्धक बनाएर यातना दिइरहेको छ । प्रशासनसँग गुहार मागेर भए पनि मेरो उद्दार गरिदिनुस् । म छिटोभन्दा छिटो घर आउँन चाहन्छु ।’

पञ्जाबको होसियरपुर जिल्लाको दशवा शहर दिजापटोली गाउँका मालिकले आफूलाई बन्धक बनाएर राखेको मनोजले बताए । ‘मालिकले दिनभर पशुलाई जसरी खेतबारीको काम लगाउँछ । एक्लै कतै जान पनि दिँदैन । मजदुरीको पैसा दिनु त कता हो कता, खान–बस्न पनि राम्रोसित दिँदैन । घर जाने कुरा गर्यो कि कुटिहाल्छ ।’

लामो समयसम्म घर नफर्केपछि बुवा विन्देश्वर छोरा खोज्न भारतका विभिन्न सहर पुगे । ज्योतिषलाई देखाए । छोरा फर्कने कामना गर्दै पूजापाठ गरे । तर छोरा नभेटेपछि निराश भएका विन्देश्वरको अनुहारमा थोरै भए पनि खुसी छाएको छ ।

‘कम्तिमा छोरा जिउँदो भएको थाहा भयो, अब त जसरी भए पनि उद्दार गर्न सकिन्छ जस्तो लागेको छ’, विन्देश्वरले भने, ‘अब प्रशासनसँगै सबैको साथ सहयोगको खाँचो छ । सहयोग गर्न सबैलाई आग्रह गर्छु ।’

मनोजको उद्दारका लागि सामाजिक अभियन्ता सरोज रायले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । राय साउदीमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवलाई घर फर्काउन सफल भएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर