चलचित्र निर्देशक समाजद्वारा हेमबहादुर लामालाई लाइफटाइम अचिभमेन्ट प्रदान – Nepal Press

चलचित्र निर्देशक समाजद्वारा हेमबहादुर लामालाई लाइफटाइम अचिभमेन्ट प्रदान

काठमाडौं- बरिष्ठ फिल्म निर्देशक एवं निर्माता हेमबहादुर लामालाई दीर्घसाधना सम्मान प्रदान गरिएको छ । चलचित्र निर्देशक समाजको आइतबार राजधानीमा सम्पन्न १३ औं साधारण सभामा लामालाई लाइफटाइम अचिभमेन्ट प्रदान गरिएको हो ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लामालाई सम्मान प्रदान गरे । सम्मानित निर्देशक लामाले नीजि क्षेत्रबाट फिल्म बन्न थालेपछि ‘आदर्श नारी’ को निर्माण तथा निर्देशन गरेका थिए ।

अभिनेता विजय लामाले यही फिल्मबाट डेब्यू गरेका थिए भने अभिनेत्री सन्नी रौनियार, अंशुमाला शाही, कलाकार उज्ज्वल घिमिरे, मोहन निरौला, संगीतकार मदन परियारले यही फिल्मबाट ब्रेक पाएका थिए ।

‘आदर्श नारी’मा लामाकै कथा, पटकथा तथा संवाद पनि थियो । बुबा हेमबहादुरले दीर्घकालीन सम्मान प्राप्त गर्दा अभिनेता लामा भावुक बनेका थिए ।

‘चलचित्र जगतले हेम लामा को हो भनेर बिर्सिसकेको थियो । कहिल्यै पनि कुनै फिल्मको कार्यक्रममा उहाँलाई निमन्त्रणा आएको मलाई थाहा छैन’, विजय लामाले आफूलाई ती कार्यक्रममा निमन्त्रणा आउँदा पनि उनी नजाने गरेको बताए ।

‘जसले मलाई विजय लामा बनाउनुभयो, उहाँलाई नै त्यो ठाउँमा स्थान छैन भने म गएर के काम भन्ने लाग्थ्यो,’ उनले गुनासो गरे ।

साथै उक्त अवसरमा फिल्म निर्देशकहरु युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी तथा नारायण पूरीलाई सम्मान गरियो । युवा फिल्म निर्देशक सम्मान निर्देशक ऋषि लामिछाने तथा र दीपाश्री निरौलालाई प्रदान गरियो ।

समारोहमा संस्थाको विगतदेखि वर्तमानसम्मको वृत्तचित्र प्रदर्शन गरिएको थियो भने स्रष्टाहरुलाई रेडकार्पेटमा स्वागत गरिएको थियो । समारोहमा निर्देशक समाजले अक्षय कोषको समेत घोषणा गरेको छ ।

कार्यक्रममा निर्देशक समाजका सदस्यहरुलाई सदस्यता लिने बित्तिकै दुर्घटना बिमा हुने कार्यक्रमको घोषणा गरिएको थियो ।

फिल्म निर्देशनभन्दा बाहिरको विधामा पनि सफलता हासिल गरेबापत चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पशुपति क्षेत्र विकास कोषका अध्यक्ष घनश्याम खतिवडा तथा मिडियाकर्मी दिनेश डिसीलाई दोसल्ला सम्मान प्रदान गरियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *