दानापुर तालमा आन्तरिक पर्यटकको घुँइचो, बढ्दै होटल व्यवसाय – Nepal Press

दानापुर तालमा आन्तरिक पर्यटकको घुँइचो, बढ्दै होटल व्यवसाय

रुपन्देही । रुपन्देहीको दानापुर तालमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पछिल्लो समय तालको संरक्षण तथा प्रवद्र्धन गरिएपछि पर्यटकको आकर्षण केन्द्रविन्दु बन्न थालेको स्थानीयको भनाइ छ ।

ताल हेर्नका लागि पर्यटक आएसँगै सो क्षेत्रमा होटल तथा अन्य व्यवसाय पनि बढ्न थालेको स्थानीय बताउँछन् । सामुदायिक वन उपभोक्ता समितिको तथ्यांकअनुसार गएको कार्तिकदेखि चैत १५ गतेसम्म साढे ५ महिनामै ५ लाख बढी आन्तरिक पर्यटक पुगेको छन् ।

खासगरी वनभोजका लागि धेरै ताल क्षेत्रमा जाने गर्छन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण ताल क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।

डुंगा सयर, विभिन्न प्रजातिका माछा अवलोकन, आकर्षक वनभोज स्थल, ढकमक्क फुलेका फूल, हरियाली जंगल, सिमसार क्षेत्रमा चराचुरुंगीको चिरिविरीले पर्यटकलाई लोभ्याउने गरेको बताउँछन् स्थानीय पुरुषोतम घिमिरे ।

पूर्वपश्चिम राजमार्गको बाँसगढी बजारबाट करिब एक किलोमिटर दक्षिणमा रहेको कन्चन गाउँपालिको यो ताल भित्री तराई भएपनि रुपन्देहीको भैरहवा, लुम्बिनी, भैरहवा अन्तराष्ट्रिय विमानस्थल तथा बुटवलबाट पुग्न सकिन्छ ।

सडक बिस्तारका कारण पनि आन्तरिक पर्यटकलाई सो तालसम्म पुग्न गाउँपालिकाका प्रमुख गोकर्णबहादुर क्षेत्रीले बताए । सिमसार क्षेत्रमा प्राकृतिक तालसंगै जलचर जीवजन्तुको अवलोकन गर्न पाउने भए पछि पर्यटक आकर्षित भएको पालिकाका प्रमुख क्षेत्रीको भनाइ छ ।

उनका अनुसार सिमसार क्षेत्रमा समेत सूचीकृत भइसकेको यो ताललाई नमूना पर्यटकीयस्थल बनाउन सामुदायिक वन उपभोक्ता समिति र लुम्बिनी प्रदेश सरकारले योजनाबद्ध काम गरिरहेका छन् ।

तालको विकास र सुन्दरता थप्दै पर्यटकको आकर्षण बढाउन १० वर्षे गुरुयोजना बनाएर काम भइरहेको छ । गतवर्ष प्रदेश सरकारले उपलब्ध गराएको २ करोड रुपैयाँले ताल क्षेत्रमा फूड ट्रायक, गेट तथा भवन निर्माण, पुल मर्मत, वनभोजस्थल निर्माण लगायतका काम गरिएको थियो ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले ५० लाख उपलब्ध गराएको छ । यो बजेटबाट पर्यापर्यटन क्षेत्रलाई थप व्यवस्थित गरिने सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष मिनबहादुर थापाले बताए ।

केही समय अघिससम्म तालमा स्थानीयले गाईभैंसीलाई पानी खुवाउँथे । तर २०६८ सालमा राष्ट्रिय ताल संरक्षण समितिले उपलब्ध गराएको ४ लाख रुपैयाँ बजेटबाट ताल क्षेत्रलाई वनभोज स्थलसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न शुरु गरिएपछि अहिले यसको मुहार फेरिँदै गएको थापा बताउँछन् ।

ताल विभिन्न प्रजातिका चराचुरुंगीको बासस्थान र आहारको लागि समेत राम्रो मानिन्छ । यहाँ देशीविदेशी गरी ६० भन्दा बढी प्रजातिका चराहरु, दर्जन बढी प्रजातिका वन्यजन्तु र तालमा २५ प्रजातिका माछा पाइने । ताल संरक्षण गरेर सुन्दरता थपिँदै जाँदा पर्यटकको ओइरो लाग्न थालेको हो ।

बजेट व्यवस्थापन गरी गुरुयोजना निर्माणलाई प्राथमिकतामा राख्दै तालको थप प्रचारप्रसार गर्नसके र लुम्बिनी आउने पर्यटकलाई तालसम्म भ्रमण गराउन सक्ने हो भने यसले रुपन्देहीको मात्रै नभई लुम्बिनी प्रदेशकै पर्यटन विकासमा टेवा पुग्ने छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर