लकडाउनपछिको पठनपाठन : विद्यार्थीमा उत्साह छैन, स्कुलको ‘कोर्स’ सिध्याउने दौड – Nepal Press

लकडाउनपछिको पठनपाठन : विद्यार्थीमा उत्साह छैन, स्कुलको ‘कोर्स’ सिध्याउने दौड

काठमाडौं । कोरोना महामारीले करिब ९ महिना बन्द भएका विद्यालयहरू पुसदेखि खुले । असार अन्तिमसम्म शैक्षिक सत्र सकेर साउनबाट नयाँ शैक्षिक सरु सुरु गर्ने योजना सरकारको छ । तर, स्कुल खुलेयता न शिक्षकहरूमा उत्साह भेटिन्छ, न विद्यार्थीमा ।

भक्तपुरस्थित नालन्दा विद्या मन्दिरका शिक्षक हरि उप्रेती अघिल्लो वर्षझैं विद्यार्थीहरूमा उत्साह पाउँदैनन् । अझै पनि कोरोनाको भयले विद्यार्थीहरूलाई पहिलेजस्तो सक्रिय नबनाएको उनको अनुभव छ । ‘स्कुल खुलेको कति दिनसम्म त विद्यार्थीहरू आएनन् । विस्तारै संख्या बढ्दै गयो । तर, उनीहरू टोलाउने, घुलमिल हुन नचाहने जस्ता देखिए,’ शिक्षक उप्रेती सुनाउँछन् ।

स्कुल आउनुअघि विद्यार्थीहरू भर्चुअल कक्षामा अभ्यस्त हुँदै थिए । अचानक स्कुल आउँदा उत्साह नदेखिनुले शिक्षकहरूमा चुनौती भएको उनको अनुभव छ । शैक्षिक सत्र सकाउनुको चटारो भए पनि सिकाइमा भने मूल्यांकनका नयाँ विधि अपनाएर कक्षा सञ्चालन गरिएको उप्रेती बताउँछन् ।

शिक्षण सिकाइका प्रशिक्षक नरेन्द्र कुमार नगरकोटीले यही बीचमा २० वटा भन्दा बढी विद्यालयका शिक्षकसँग शैक्षिक कार्याशाला गरे । उनीहरूसँगको अन्तर्क्रियामा शिक्षकहरूको भनाइ थियो– विद्यार्थीहरूमा अघिल्लो वर्षजस्तो उत्साह छैन ।

‘धेरै शिक्षकहरूले बालबालिकाको मनोविज्ञानमा परिवर्तन आएको भन्नुभयो । विद्यार्थीहरूको सिर्जनात्मक लेखनमा पनि असर परेको उहाँहरूको अनुभव थियो,’ नगरकोटी भन्छन् ।

त्यसमाथि पाठ्यक्रम सक्ने चटारोले विद्यार्थीहरूमा झनै दबाब थपिएको उनको बुझाइ छ । ‘पाठ्यक्रम सकाउने दौड सधैं थियो । अहिले झन् बढेको छ । परीक्षा आउन यति दिन बाँकी छ भनेर रट्न लगाउने अवस्थाले विद्यार्थी मारमा छन्,’ उनी भन्छन् ।

परीक्षा केन्द्रित पढाइ

बाल विकासकी अध्येता मिनाक्षी दाहालले पनि शैक्षिक सत्र सुरु भएयता बालबालिकाहरूमा धैर्यता कम भएको पाएकी छन् । शिक्षकहरूले बालबालिकाहरू कक्षाकोठामा छट्पटाउने गरेको र उनीहरूको व्यवहार तथा सामान्य बानीमा परिवर्तन भएको प्रतिक्रिया आफूलाई दिएको उनी सुनाउँछिन् ।

बालबालिका मात्र नभई शिक्षकहरूमा पनि चुनौती र समस्या उतिकै थपिएको दाहाल बताउँछिन् । ‘शिक्षकहरूमा आएको परिवर्तन हामीले ख्याल गरेको छैनौं । उनीहरूमा अहिले देखिएको चुनौती भनेकै पाठ सकाउनुपर्छ भन्ने दबाब हो,’ उनी भन्छिन् ।

विद्यार्थीहरूले के बुझे भन्दा पनि छिटो जाँच दिएर माथिल्लो कक्षामा पुर्‍याउने ध्यान्न सबैमा देखिएको अध्येता दाहालको ठम्याइ छ ।

‘अभिभावकको चाहना पनि  परीक्षा केन्द्रित भयो । एजुकेसनको सिनारियो नै डाइभर्ट भयो अहिले,’ उनी भन्छिन्, ‘सरकारले एसइईको रुटिन निकालिदिएर विद्यार्थीहरूमा झन् अन्योल थपिदिएको छ ।’

सामुदायिक विद्यालयमा ‘न टिचिङ, न लर्निङ’

स्कुल सुरु भए पनि सिकाइ सुरु नभएको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापा बताउँछन् । ‘स्कुलमा शतप्रतिशत पढाइ सुरु भएको छैन । विद्यार्थीहरू टाइ सुट लगाएर स्कुल जान्छन् । तर, शिक्षकहरू कक्षामा बस्दैनन्,’ थापा कटाक्ष गर्छन् । स्कुलहरूमा स्वास्थ्य मापदण्ड पनि अपनाएको नपाइको उनको गुनासो छ ।

उनका अनुसार स्कुलमा शैक्षिक सत्र कभर गर्ने हिसाबले मात्र पढाइ भएको छ । त्यसकारण स्कुल खुल्दा पनि प्रभावकारिता भने शुन्य छ । त्यसमाथि पछिल्लो समय देखिएको वायु प्रदूषणले पनि असर पारेको छ ।

शैक्षिकसत्र लम्ब्याएर असार पुर्‍याउँदा पनि उपलब्धि नदेखिएको अनुमान अध्यक्ष थापाको छ । ‘शैक्षिक सत्र नै खेर फाल्नुभयो भनेर अभिभावकको गुनासो सुन्नुपर्छ । उहाँहरू आफ्नो लगानी खेर जान्छ भनेर चिन्तित हुनुहुन्छ । तर, कक्षा सञ्चालन गरेर पनि विद्यार्थी वा अभिभावक कोही सन्तुष्ट हुनुहुन्न,’ उनी भन्छन्, ‘विद्यार्थी पनि त्रासरहित ढंगले स्कुल जान सकेका छैनन् । शिक्षकले नैतिक रुपमा स्कुल जान्न भन्न सकेका छैनन्, तर मन लगाएर पढाएका छैनन् । निजी विद्यालयमा पनि शुल्क लिनका लागि मात्र पढाएको पाइन्छ ।’

यसरी पढाउँदा निजी विद्यालयमा टिचिङ मात्र भएको लर्निङ नभएको उनको गुनासो छ । सामुदायिक विद्यालयमा भने दुवै हुन नसकेको उनको बुझाइ छ ।

गत वर्षजस्तो आशा यो वर्ष गर्नुहुन्न- प्याब्सन अध्यक्ष

निजी विद्यालयहरूमा पनि अघिल्लो वर्षजस्तो आशा यस वर्ष गर्न नसकिने प्याबसन अध्यक्ष टीकाराम पुरी बताउँछन् । यद्यपि, असामान्य परिस्थितिमा सोचेको भन्दा राम्रो उपलब्धि भएको उनको दाबी छ । ‘विद्यालयहरूमा धमाधम पठनपाठन भइरहेको छ । अन्तिम परीक्षाको तयारीमा जुटिरहेका छन् । अनलाइनबाट कक्षा सञ्चालन गर्ने विद्यालयहरूको गत वर्षको जस्तै शैक्षिक उपलब्धि प्राप्त भएको छ । अपेक्षा गरेभन्दा राम्रो उपलब्धि मानेको छ,’ पुरीको भनाइ छ ।

परीक्षाले विद्यार्थीमा दबाब सिर्जना गरेको भन्ने कुरामा उनी सहमत छैनन् । अध्यक्ष पुरीका अनुसार परीक्षा नै मूल्यांकनको उपयुक्त विधि भएको हुँदा यसलाई निरन्तरता दिनैपर्छ ।

निजी स्कुलले पछिल्लो समय स्वास्थ्यको मापदण्डहरू अपनाउन छाडेको उनी स्वीकार्छन् । अहिले मापदण्ड अपनाउन आफूहरूले आग्रह गरिरहेको उनी भनाइ छ । ‘पूर्ण मापदण्ड अपनाएर मात्रै पठन पाठन जारी राख्ने भनेर भनेका छौं । अहिले विद्यार्थीहरू पनि विस्तारै सहज हुन थालेका छन् । परिस्थिति सामान्य हुँदैछ,’ पुरी भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *