एमालेमा दक्षिणपन्थी र क्रान्तिकारी समूहको लडाईं, हामी क्रान्तिकारीः झलनाथ – Nepal Press

एमालेमा दक्षिणपन्थी र क्रान्तिकारी समूहको लडाईं, हामी क्रान्तिकारीः झलनाथ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र अहिले दक्षिणपन्थी र क्रान्तिकारी विचारबीच लडाइ चलिरहेको बताएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थि विचारको नेतृत्व गरिरहेको उनको भनाइ छ ।

नेकपा एमालेको माधव नेपाल समूहको समानान्तर काठमाडौं जिल्ला कमिटी घोषणा कार्यक्रममा बोल्दै खनालले ओलीमा पहिल्यैबाट दक्षिणपन्थी भड्काउपन रहेको दावी गरे ।

खनालले भने, ‘२०६२/६३ को जनक्रान्तिका बेला गणतन्त्रमा जानु हुँदैन भनेर उहाँले पार्टीमा फरक मत राख्नुभएको थियो । उहाँले नेपालमा गणतन्त्र ल्याउनु भनेको गोरु गाडा नारेर अमेरिका जानुजस्तै हो भनेर खिल्ली उडाउनुभएको थियो ।’
आठौं महाधिवेशनदेखि ओलीले दक्षिणपन्थि गुट निर्माण गर्न थालेको खनालको भनाइ थियो ।

‘उहाँको गुटको अन्तर्यमा दक्षिणपन्थि विचार थिए । त्यसलाई निरन्तरता दिँदै जानुभयो । हामीले नवौं महाधिवेशनसम्म गुटबन्दीको चरित्र पर्गेल्न सकेनौं । र अन्ततः उहाँले बहुमत ल्याएर नेतृत्व कब्जा गर्नुभयो ।’ उनले भने ।

नवौं महाधिवेशनपछि पार्टीमा वैचारिक तथा सैद्धान्तिक कामहरु शुन्य भएको खनालले बताए । जसरी पनि सत्तामा पुग्ने र पद हत्याउने प्रवृत्तिले पार्टीमा विकृति ल्याएको उनको भनाइ छ ।

‘आठौं महाधिवेसनपछि सबैभन्दा धेरै गुटबन्दी भएको जिल्ला काठमाडौं हो,’ खनालले भने, ‘तपाईहरु पिडित कमरेड हुनुहुन्छ । अब तपाईंहरुले मुक्ति पाउनुहुन्छ,’ खनालले भने ।
मिडियाले पदको लडाईं भने पनि यो सही र गलतको लडाई भएको खनालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर