एमालेमा ‘न सम्बन्ध, न सम्बन्धविच्छेद’ कहिलेसम्म ? – Nepal Press

एमालेमा ‘न सम्बन्ध, न सम्बन्धविच्छेद’ कहिलेसम्म ?

अन्ततः एमाले-माओवादी एकता भंग भयो । सत्तास्वार्थका लागि मात्रै भएको एकता भंग हुनु कुनै कुरा भएन । नीति, सिद्धान्त भन्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक स्वार्थकै कारण एकता भएको थियो भन्दा अन्यथा नहोला ।

नेपालका कम्युनिष्टहरू एक हुने कुरा राम्रै भए पनि उक्त एकताको नियत ठीक थिएन । कांग्रेसको कब्जाबाट सत्ता उम्काउने मात्रै नियतबाट भएको एकता थियो, त्यो । पार्टी एकताका लागि सैद्धान्तिक र देशको हितमा हुने भनेर जति नै जलप लगाए पनि त्यो नभएको पुष्टि भएको छ ।

जनमत आफ्नो पार्टीको पक्षमा हुँदाहुँदै पार्टी विखण्डनको बाटो जानुले एकतालाई नेताको स्वार्थले मात्रै जोडेको प्रष्ट हुन्छ । ओली र दाहालको पालैपालो देश चलाउने अभीष्ट पूरा गर्नकै लागि एकताको नाटक रचिएको थियो । मिलेर बाँडिचुडी खाने स्थिति नभएकै कारण अहिले एकता भंग भएको छ ।

दुईतिहाई बहुमत पाएका ओलीले कार्यकालभर सरकार चलाउने चाहना राख्नु स्वभाविक हो । तर त्यो कुरा प्रचण्डले सहन सकेनन् । उनलाई ओलीले मात्रै खाने आफूलाई नदिने भने जस्तो भयो । र, आफ्नो पार्टीको सरकारविरुद्ध छापामार शैलीमा उनले अविश्वास प्रस्ताव ल्याउन खोज्नु राजनीतिक बेइमानी थियो ।

विगतमा पनि मिलिजुली सरकार चलाउँदा हैरान भएका ओली र क्रमशः शक्तिक्षयको पीडा खेपिरहेका प्रचण्डको स्वार्थमै भए पनि पार्टी एकता हुनु ठीकै थियो । तर, गलत नियतका कारण सही निर्णय पनि गलत सावित हुन पुग्यो ।

प्रचण्डले सकिनै लागेको माओवादीलाई एमालेसँग एकता गरेर आफ्नो राजनीतिक साख जोगाउन खोजेकै हुन् । संसदीय चुनावबाट पत्तासाफ हुनु भन्दा प्रचण्डमा एमालेसँग जोडिएर शक्ति आर्जन गर्ने लोभ जाग्नु नौलो कुरा होइन ।

प्रचण्डलाई ओलीको कमजोर स्वास्थ्यस्थिति आफ्नो राजनीतिक लाभको कारण हुन्छ भन्ने विश्वास थियो । ओलीको स्वास्थ्यमा समस्या आउँछ, अनि बीचैमा सरकारको नेतृत्व गर्न पाउछु भन्नेमा उनी विश्वस्थ थिए । तर, परिणाम उल्टो भएपछि प्रचण्डमा छट्पटी बढ्यो ।

यो कुरालाई मानवीय संवेदना नबुझेको मान्न सकिएला । तर, विगतमा रगतको होली खेलेर आएका प्रचण्ड यस्तो कुरामा संवेदनशील छैनन् । यो आरोप मात्रै होइन, विगतका घटनाले प्रचण्ड यस्ता संवेदनशील कुरामा खेल्न रुचाउँछन् भन्ने पुष्टि भइसकेको छ ।

विश्वमा कम्युनिष्ट नेताहरू आपसी अविश्वास र एकले अर्कोलाई सिध्याउने खेल खेल्न माहिर हुन्छन् भन्ने कुरा प्रमाणित जस्तै छ । जसको प्रभाव नेपालका कम्युनिष्टमा पनि परेको छ । यतिसम्म कि, कम्युनिष्टहरू आफू माथि जान आफ्ना सहयोद्धालाई आक्रमण गर्न पनि पछि पर्दैनन् । यो मामलामा कम्युनिष्ट भन्दा कांग्रेस सफ्ट छन् । उनीहरू नेतामाथि राजनीतिक आक्रमण गर्छन्, तर कम्युनिष्टहरू भौतिक आक्रमण गर्न पनि पछि पर्दैनन् । शक्ति संघर्षका अनेक आयाममा रणबहादुर शाहदेखि कोत पर्व, भण्डारखाल पर्वहुँदै मदन भण्डारी हत्यादेखि राजा वीरेन्द्रको वंशनाससम्मका घटना हेर्दा निकै खतरनाक, भयानक लाग्छ ।

प्रसङ्ग फेरि एमाले-माओवादी एकतातिरै जोडौं । खासमा एमाले र माओवादी एकता भएको धेरै कार्यकर्तालाई मन परेको थिएन । तर ती पार्टीमा नेताका सामु कार्यकर्ता निरीह छन् । नेताले हात उठाए, उनीहरूले ताली ठोके । किनकि, ती कार्यकर्ता विवेकशून्य जमात जस्तै छ ।

राजनीतिमा असम्भव केही छैन भन्ने नमूना पनि हो, एमाले-माओवादी एकता र भंग । माओवादीमा फरक मत राख्ने बाबुराम, मोहन वैद्यहरू बाहिरिनु भनेको प्रचण्डलाई मनलाग्दी गर्न छुट हुनु थियो । उनले गरे पनि त्यस्तै ।

दोस्रोपटकको मिर्गौला प्रत्यारोपण सफल भएपछि ओलीमा पनि अहम् बढ्यो । सबै विषयको ज्ञान आफूसँग मात्रै भएजसरी काम कारबाही गर्न थाले । उनले आफूलाई सर्वविज्ञ सम्झन थाले । उनका सल्लाहकार पनि त्यस्तै भए । ओली भक्तिगान गाउनमै मस्त भए । यसले ओलीलाई आफू विशिष्ट भएको मीठो भ्रम पैदा भयो ।

त्यसैले ओलीलाई टिप्पणी गर्ने, प्रश्न उठाउने मान्छे मनै पदैन । ओलीको एक्लै चल्ने प्रवृत्ति र झलनाथ खनाल, माधव नेपालको इगोका कारण पनि नेकपा फुटको स्थितिमा पुग्यो ।

झलनाथ, माधव नेपालहरुले प्रचण्डसँग मिलेर समानान्तर गतिविधिमार्फत नयाँ पार्टीको अभ्यास गरे । पार्टी भित्रैबाट घेराबन्दी भएपछि प्रधानमन्त्री ओलीले संसद भंग गरिदिए । अदालतले संसद पुनःस्थापना गरिदियो । र पछि एमाले-माओवादी एकता पनि भंग गरिदियो ।

उक्त अदालती फैसलाले ओलीविरोधी खेमालाई झन् संकट पर्यो । पटक-पटक अध्यक्षदेखि साधारण सदस्यबाट समेत हटाएका भनिएका ओलीलाई नै उनीहरुले अध्यक्ष मान्नुपर्ने परिस्थिति बन्यो ।

माफी मागेर पहिलाकै स्थितिमा फर्कन माधव नेपालहरूलाई गाह्रै छ । मूलतः माधव नेपालहरू अब एमालेमा फर्कने स्थिति छैन । उनीहरूको जारी समानान्तर समिटी निर्माण र प्रतिप्रश्नसहितको प्रष्टीकरणले एमाले पनि राजनीतिक रुपमा फुटिनै सकेको छ ।

तर, अझै माधव नेपालहरुले आफूहरू नै आधिकारिक भएको दाबी गर्न छाडेका छैनन् । ओली-माधव पक्ष यस्तो स्थितिमा छ कि, उनीहरूबीच सम्बन्धविच्छेद अपरिहार्य छ, तर घोषणा गर्न सकेका छैनन् ।


प्रतिक्रिया

One thought on “एमालेमा ‘न सम्बन्ध, न सम्बन्धविच्छेद’ कहिलेसम्म ?

  1. २०५४ मा एमालेलाई टुक्र्याउन होस् कि २०७७ मा नेकपा हुँदै फेरि एमालेमा विभाजन ल्याउन माधव नेपालको मुख्य भूमिका देखियो पहिले आफै पार्टी प्रमुख भएर विभाजनमा सघाएभने अहिले आफू पार्टी प्रमुख हुनलाई एमाले फुटाउन खोज्दैछन्। उनको लक्ष्यमा नियन्त्रित अस्थिरता चाहनेको स्वार्थ लुकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *