कर्णालीमा एमालेको सरकार बनाउने तयारी, दलको बैठकमा माधव नेपाल पक्ष पनि सहभागी – Nepal Press

कर्णालीमा एमालेको सरकार बनाउने तयारी, दलको बैठकमा माधव नेपाल पक्ष पनि सहभागी

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठक सुर्खेतमा शुरु भएको छ । साबिक नेकपा विभाजनपछि केपी ओली र प्रचण्ड माधव पक्षमा विभाजित सांसदहरु एमाले ब्युँतिएपछि पहिलो पटक एकै बैठकमा सहभागी भएका छन् ।

दलका नेता यमलाल कँडेल र प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला अलग अलग गुटको नेतृत्व गर्छन् । संस्थापन पक्षका नेता कडेलले बोलाएको बैठकमा ज्वालासहित माधव नेपाल पक्षका सबै सांसद सहभागी छन् ।

२० सदस्यीय प्रदेशसभा संसदीय दलमा सभामुख बाहेक १९ जना सदस्य बैठकमा सहभागी रहेको प्रमुख सचेतक गुलावजंग शाहले बताए । १९ मध्ये ९ जना ज्वाला पक्षका छन् । यसअघि कडेलले महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी प्रदेश प्रमुखलाई दिइसकेको थियो ।

तर प्रकाश ज्वाला पक्षले भने आफूहरु सरकारको समर्थनमै रहेको बताएको थियो । प्रदेश प्रमुख गोविन्द कलौनीले सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएको जानकारी प्रदेशसभालाई गराएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने वा एमालेले अविश्वास प्रस्ताव दर्ता गर्नेबारे छलफल भइरहेको छ ।

एमाले कर्णाली प्रदेश सहइन्चार्ज समेत रहेका प्रमुख सचेतक शाहले एमालेको नेतृत्वको एकल सरकार गठनबारे आजको बैठकमा छलफल हुने नेपाल प्रेसलाई बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर