मेलम्ची आयोजना : पानी आयो, तर काम अझै बाँकी छन् – Nepal Press

मेलम्ची आयोजना : पानी आयो, तर काम अझै बाँकी छन्

सबै काम सकिन अझै आठ महिना लाग्ने

काठमाडौं । दुई दशकको प्रयासपछि मेलम्चीको पानी काठमाडौंमा ल्याइएको छ । तर, सहज रुपमा सबै काठमाडौंबासीले मेलम्चीको पानी उपभोग गर्न भने अझै केही समय लाग्छ ।

काठमाडौंमा बढ्दो खानेपानीको अभाव तत्काल कम गर्न हतारहतार मेलम्चीको पानी खसाए पनि सुरुङ परीक्षण, प्रशोधन केन्द्र सञ्चालन र मुहानको हेडबक्सका केही काम अझै बाँकी भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिका अनुसार सुरुङ परीक्षण अवधि दुई महिनाको हुन्छ । त्यस सँगसँगै प्रशोधन केन्द्र सञ्चालनका लागि तीन महिना लाग्ने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

नयाँ पाइपलाइन विस्तार गरेर मेलम्चीको पानी वितरण गर्ने जिम्मा पाएको आयोजना कार्यान्वयन निर्देशालयले अझै पनि नयाँ पाइपलाइनको काम सकेको छैन । आयोजनाको तर्फबाट धाराको मिटर जडान, क्रसिङ, डिसइन्फेक्सनलगायत काम हुनै बाँकी छ । कामको मात्रा धेरै नभए पनि प्राविधिक हिसाबले सबै काम सक्न समय लाग्ने आयोजनाको भनाइ छ ।

नयाँ जडान गरिएको पाइपलाइनमा लिकेजको समस्या आइरहने भएकाले मर्मत गरेर फेरि पानी पठाउन समय लाग्ने आयोजनाको बुझाइ छ ।अहिलेसम्म काठमाडौंका ११ सय ५० मध्ये साढे २ सय किलोमिटर पाइपलाइन परीक्षण गरिसकिएको छ । बाँकी पाइपलाइन परीक्षण गर्दै पानी छाड्ने आयोजनाको तयारी छ ।

अहिले आयोजनाले काठमाडौं खानेपानी लिमिटेड (केयुकेएल)को पुरानो प्रणालीबाट पानी वितरण थालेको भइरहेको छ । नयाँ वितरण लाइन सम्पन्न नहुदाँसम्म अन्तरिम व्यवस्थापन केयुकेएलकै सिस्टमबाट हुने बताउँछन्, केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्य ।

पहिलो चरणमा एक लाख १० हजार घरमा पाइपलाइन विछ्याउने जिम्मा आयोजनाले पाएको थियो । त्यसमध्ये अहिलेसम्म १५ हजार घरमा मात्रै धारा तयार छ । नयाँ निर्माण गरिएको धारामा नयाँ प्रणालीबाटै पानी वितरण थालिएको छ ।

उपत्यकाका एकतिहाई जनसंख्याले तत्काल पानी नपाउने

उपत्यकाको एकतिहाई जनसंख्याले भने तत्काल मेलम्चीको पानी उपभोग गर्न पाउने छैनन् । आयोजनाका प्रमुख कमलराज श्रेष्ठले भने, ‘चक्रपथ भित्र एकतिहाई ठाउँमा अझै पाइपलाई विस्तार बाँकी छ । सबै परीक्षण सकेर सबैतिर पानी पठाउन अझै आठ महिना जति लाग्न सक्छ ।’

आयोजनाले अहिले नयाँ दैनिक २ सय घरको दरले धारामा नयाँ पाइपलाइनबाट पानी पठाइरहेको छ । ती धाराहरुमा २४ सै घण्टा पानी छोडिएको आयोजनाको दाबी छ । श्रेष्ठका अनुसार अब क्रमशः पानी छाड्ने मात्रा बढाउँदै लगिनेछ ।

‘पाइप त राखिसकेका छौ । अब परीक्षण गर्दै पानी छोड्दै जाने हो’, आयोजना प्रमुख श्रेष्ठले भने, ‘परीक्षण गर्दै पाइपलाइन लिकेज भएको ठाउँमा मर्मत गर्दै पानी छोड्दै जानुपर्ने भएकाले सहज हुन केही समय लाग्छ ।’ उनका अनुसार पानीपोखरी, चक्रपथ, बाँसबारीलगायतका क्षेत्रका सर्वसाधरणले मेलम्चीको पानी पिउन पाउने छैनन् ।

वैशाखदेखि मात्रै दैनिक १७ करोड लिटर पानी वितरण
वैशाख पहिलो साताबाट मात्रै दैनिक १७ करोड लिटर पानी वितरण गर्ने केयुकेएलको योजना छ । चैत १५ र १६ गते चार करोड लिटर पानी वितरण भएको थियो ।

१७ गते साडे ६ करोड, १८ र १९ गते साडे ८ करोड लिटर पानी धारामा पठाइएको केयुकेएलले जनाएको छ । अबको एक सातासम्म यही दरमा पानी वितरण हुनेछ । केयुकेएलले क्रमशः पानी वितरणको मात्रा बढाउँदै लैजना बताएको छ ।

कहिलेदेखि आउँछ २४ सै घण्टा पानी ?
केयुकेएलले अहिले सकेसम्म दैनिक र नसके दिन बिराएर पानी वितरणको तालिका बनाएको छ ।

केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यका अनुसार गर्मी महिनामा दिन बिराएर दिने र वर्षातमा २४ सै घण्टा पानी वितरण हुनेछ । अहिलेसम्म हालसम्म झण्डै एक लाख धारामा दिन बिराएर पानी वितरण भइरहेको केयुकेएलले जनाएको छ ।

दुई दशक पुरानो सपना साकार
मेलम्चीको पानी पिउने दुई दशक पुरानो सपना सकार भएकामा काठमाडौंबासी खुसी छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा मेलम्चीको पानी वितरण शुभारम्भ गरेसँगै ट्याङ्कर र जारको पानी किन्न नपर्ने भयो भन्दै उनीहरू खुसी भएका हुन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र आयोजना कार्यन्वयन निर्देशनालयबाट आइतबारदेखि मीनभवन, अनामनगर, महांकालचौर, खुमलटारको ट्याङकीबाट पानी वितरण सुरु गरिएको छ । यस्तै बालाजुको ट्याङकीबाट पनि पानी वितरण सुरु भएको छ ।

हाल अनामनगरमा ८ सय धारामा नयाँ पाइपलाइन विस्तार गरेर पानी पठाएको छ । उक्त क्षेत्रमा २४ सै घण्टा पानी वितरण भए पनि अन्य क्षेत्रमा दिन बिराएर पानी पठाइएको छ ।

काठमाडौंको अनामनगर क्षेत्रमा वितरण भएको मेलम्चीको पानी खान योग्य भएको पाइएको छ । अनामनगरको ट्याङकीबाट नयाँ पाइपलाइनबाट ५ सय वटा धारामा पानी वितरण गरिएको छ । आयोजना प्रमुख कमलराज श्रेष्ठले भने, ‘ब्याक्टेरियल परीक्षण गर्दा पानी पिउन योग्य पाइएको छ । अब नयाँ प्रणालीबाट वितरण गरिएको पानी निर्धक्क पिउन सकिन्छ ।’

मेलम्ची खानेपानी विकास समितिले चैत १३ गते सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो । समितिले गत फागुन १० गते सुरुङ परीक्षणका लागि पानी पठाएको थियो । त्यसको दुई सातापछि शनिबार पानी सुन्दरीजलसम्म आइपुगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर