भैरहवामा शनिबारदेखि प्रदेशस्तरीय यु-१६ क्रिकेट हुँदै – Nepal Press

भैरहवामा शनिबारदेखि प्रदेशस्तरीय यु-१६ क्रिकेट हुँदै

रुपन्देही । भैरहवामा प्रदेशस्तरीय यु-१६ क्रिकेट प्रतियोगिता हुने भएको छ । बलियो नेपालको आयोजनामा सिद्धार्थ रंगशालामा शनिबारबाट प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

पोषण र खेलकुदलाई सँगसँगै लैजाने उद्देश्यले पहिलोपल्ट लुम्बिनी प्रदेशस्तरीय यु-१६ टी-२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको बलियो नेपालका कार्यकारी प्रमुख अतुल उपाध्यायले जानकारी दिए । ‘हामीले क्रिकेटलाई बलियो बनाउन चाहन्छौं, यसैको सिलसिलामा तल्लो तहबाटै राम्रा खेलाडीहरू उत्पादन होउन भनेर प्रतियोगिता आयोजना गरेका हौं’, उनले भने ।

प्रतियोगिताका लागि लुम्बिनी प्रदेशका विभिन्न विद्यालयबाट खेलाडीहरू छनोट गरिएको थियो । छनोट गरिएका खेलाडीबाट प्रत्येक जिल्लाका १/१ टिम गरी १२ टीमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताले सन् २०३९ मा हुने अन्डर-१६ विश्वकपका लागि राम्रा खेलाडी उत्पादनमा सहयोग पुग्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले बताए । ‘तल्लो तहबाटै खेलाडी छनोट गरी राम्रो राष्ट्रिय टिम बनाउन यस किसिमका प्रतियोगिताले सहयोग पुग्ने हाम्रो विश्वास छ’, उनले भने ।

रुपन्देही र समग्र लुम्बिनी प्रदेशले राष्ट्रिय क्रिकेटको विकासमा ठूलो योगदान गरेको भन्दै खड्काले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन यहाँ हुने प्रतियोगिताले भूमिका खेल्ने बताए । रुपन्देहीबाट मात्रै राष्ट्रिय क्रिकेट टिममा रहेर ९० बढी खेलाडीले योगदान गरेका छन् ।

राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले जिल्ला-जिल्लामा लुकेका खेलाडीहरुको प्रतिभा बाहिर ल्याउन यस किसिमका प्रतियोगिताले थप सहयोग गर्ने बताए । ‘रुपन्देही राम्रा खेलाडी उत्पादन गर्ने जिल्ला हो, यस क्षेत्रमा हुने तल्लो तहका खेलले राष्ट्रि टीमलाई भविष्यमा थप मजबुत र बलियो बनाउँछ’, उनले भने । सन् २०३९ मा हुने यु-१६ विश्वकप खेल्नका लागि अहिले भइरहेका प्रतियोगिताले टिम तयार गर्न र विश्वकटमा छनोट हुने उनले विश्वास व्यक्त गरे ।

पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनले खेलसँगै खेलाडीलाई पोषणको आवश्यक पर्ने भएकाले बलियो नेपालले पोषण र खेलकुदलाई सँगै बढाउने उद्देश्यले क्रिकेट आयोजना गर्नु राम्रो सन्देश भएको बताए । उनले भैरहवामा हुने प्रतियोगिताले राष्ट्रिय क्रिकेटमा टेवा पुग्ने जनाए ।

चैत्त २१ देखि २८ गतेसम्म चल्ने प्रतियोगिताले आगामी दिनमा खेलाडीहरु उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ । पहिलोपल्ट लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय क्रिकेट आयोजना गरिए पनि आगामी दिनमा सबै प्रदेशमा आयोजना गरिने बलियो नेपालले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *