भोलिदेखि आहा रारा गोल्ड कप, उद्घाटनमा आयोजकसँग एपीएफ भिड्ने – Nepal Press

भोलिदेखि आहा रारा गोल्ड कप, उद्घाटनमा आयोजकसँग एपीएफ भिड्ने

पोखरा । मोफसलको सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता आहा रारा गोल्डकपकाे १९ औं संस्करण भोलिबाट सुरु हुँदैछ । पोखरा रंगशालामा हुने उक्त प्रतियोगितामा आयोजक सहारा क्लबसहित ७ टिम सहभागी छन् ।

अघिल्ला संस्करणमा १२ टिम सहभागी हुने भए पनि यस वर्ष कोरोना भाइरसका कारण ८ टिममात्रै सहभागी हुन लागेका हुन् । प्रतियोगितामा आयोजकसहित ए डिभिजन टिम तथा एक विदेशी टिमको समेत सहभागिता रहनेछ । प्रतियोगितामा सहारा क्लब पोखरासहित डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लब, एपिएफ क्लब, मछिन्द्र क्लब, संकटा क्लब, थ्रिस्टार क्लब, नेपाल पुलिस क्लब र विदेशी टोली डाउला क्यामरुनको सहभागी हुँदैछन् ।

प्रतियोगिताको १८ औं संस्करणको अन्त्यसँगै सरकारले देशव्यापी लकडाउन घोषणा गरेको थियो । यस वर्ष लकडाउन खुले पछि आहारारा गोल्डकप प्रतियोगिता हुँदैछ । गृह र स्वास्थ्य मन्त्रालयले कोरोनाको दोस्रो लहरको चेतावनी दिँदै भिडभाडजन्य क्रियाकलापन नगर्न सूचना जारी गरिरहँदा प्रतियोगितालाई अघिल्ला संस्करणझै ‘रोमाञ्चक’ गराउन आयोजकलाई चुनौती छ । तर, आयोजक पक्ष भने पूर्ण रुपमा स्वाथ्य मापदण्ड पालना गरेरै प्रतियोगिता गर्ने सोचमा छ ।

‘सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य मापदण्डहरु लागू गरेरै प्रतियोगितालाई भव्य रुपमा गर्ने हाम्रो योजना हो,’ प्रतियोगिताबारे जानकारी दिने उद्धेश्यले आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशव थापाले भने । पुनर्निर्मित पोखरा रंगशालास्थित फुटबल मैदानमा शनिबार आयोजक सहारा क्लब र विभागीय टिम एपीएफ भिड्दैछन् । चैत २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *