संवैधानिक निकायकाबीच सेटिङ हुने विचित्रको स्थितिमा हामी छौं : प्रचण्ड (भिडियो) – Nepal Press

संवैधानिक निकायकाबीच सेटिङ हुने विचित्रको स्थितिमा हामी छौं : प्रचण्ड (भिडियो)

काठाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक नियकायहरूबीच ‘सेटिङ’ हुने गरेको आरोप लगाएका छन् ।

शुक्रबार वामपन्थी नेता माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । एमाले-माओवादी ब्युँताउने फैसलाविरुद्ध पुनरावलोकन गर्न अस्वीकार गरेको भोलिपल्ट संवैधानिक निकायहरुप्रति लक्षित टिप्पणी गर्दै त्यो सेटिङ नेपाल राष्ट्र र नेपाली जनताको अधिकारकाविरुद्ध भएको दाबी गरे ।

‘अहिले तपाईं हामीले सुन्ने गरेको शब्द एउटा छ, अलि बढी नै सुन्ने गरेका छौं सेटिङ,’ प्रचण्डको भनाइ छ, ‘देश भित्रका, बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरूकोबीचमा सेटिङ हुने । नियमले काम नगर्ने, संविधानले काम नगर्ने, मूल्यले काम नगर्ने, मान्यताले काम नगर्ने, ऐनले काम नगर्ने, सेटिङले काम गर्ने । त्यो सेटिङ सबै नेपाल राष्ट्र र नेपाली जनताको अधिकारकाविरुद्ध, पहिचानका विरुद्ध परिलक्षित हुने यो बिडम्बनाको हामीले सामना गर्नुपर्ने बडो बिचित्रको स्थितिमा हामी अहिले छौं ।’

प्रचण्डले वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धिहरूमाथि प्रहार हुन थालेको समेत बताए । ‘कम्युनिष्ट आन्दोलन र वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धिमाथि प्रहार हुन थालेको बेला छ यो,’ उनको भनाइ छ, ‘जातीय, भाषिक, वर्गीय, उन्मुक्तितिर अगाडि बढेको, लामो संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार हुन लागेको अवस्था छ ।’

कम्युनिष्टप्रतिको भरोसा टुट्ने खतरा समेत पैदा भएको उनको भनाइ छ। ‘कम्युनिष्टहरुको एकता र उनीहरूप्रति जनताको जो भरोसा थियो त्यो टुट्ने खतरा पैदा भएको बेला छ,’ प्रचण्ड भन्छन्, ‘कम्युनिष्ट आन्दोलन भित्रैबाट सबैभन्दा वैचारिक ढङ्गले विचलन, विसङ्गति र विकृति माथिल्लो तहमा नै देखिनु, उनीहरुको नेतृत्वमा रहेको सरकार सबभन्दा अपारदर्शी र भ्रष्ट भएका खबरहरु यत्रतत्र देखिनु आफैंमा ठूलो विडम्बना भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर