बल्देधुरी झडप प्रकरणका ८ अभियुक्त सार्वजनिक – Nepal Press

बल्देधुरी झडप प्रकरणका ८ अभियुक्त सार्वजनिक

पोखरा । होली मेलाका क्रममा दुई जनाको ज्यान जाने गरी भएको झडपमा संलग्न रहेको आरोपमा पक्राउ परेका ८ जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

घटनामा संलग्न आरोपमा बडिगाड गाउँपालिका १० दर्लिङका २८ वर्षीय रेशम बुढामगर, ३१ वर्षीय सूर्य बुढामगर, ४६ वर्षीय ढालबहादुर बुढामगर, तीर्थलाल बुढा र ३३ वर्षीय झनबहादुर बुढामगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बागलुङ प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।

बागलुङ, गुल्मी र प्युठानको सीमानामा पर्ने दर्लिङ बल्देधुरीमा फागु पूर्णिमाको दिन बर्षेनि लाग्ने मेलामा दुई गाउँका युवाबीच झडप भएको थियो । युवतीलाई जबर्जस्ती रङ दलेको विषयमा सुरु भएको झडपमा २ जनाले ज्यान गुमाउनु परेको थियो । घटनामा मृत्यु हुनेमा बागलुङकै निसी खोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइले ज्यान गुमाएका थिए ।

‘आरोपीहरु केही बागलुङको दर्लिङ, बुर्तिबाङ लगायतका ठाउँबाट पक्राउ गरिएको हो,’ एसपी मगरले भने, ‘पक्राउ परेकामध्ये २ जना आफैं जिल्ला प्रशासन कार्यालयमा आएर आत्मसमपर्ण गरेका हुन् ।’

दर्लिङकै २३ वर्षीय मिलन बुढा र २४ वर्षीय भेषराज बुढा गुल्मीको मदाने गाउँपालिकाबाट पक्राउ परेको एसपी मगरले जानकारी दिए । घटनामा संलग्न आरोपमा २३ वर्षीय कुमार छन्त्याल बुटवलबाट पक्राउ परेका हुन् ।

‘गाउँमा घटनापछि रुपन्देशी फरार भएका छन्त्याललाई बुटवलबाट पक्राउ गरिएको हो,’ उनले भने, ‘पक्राउ परेकाहरुविरुद्ध कर्तव्यज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर