मन्त्रालयको समीक्षा गर्न तारे होटलमा तामझाम, खाना–खाजामै प्रतिव्यक्ति १६ सय खर्च – Nepal Press

मन्त्रालयको समीक्षा गर्न तारे होटलमा तामझाम, खाना–खाजामै प्रतिव्यक्ति १६ सय खर्च

सुर्खेत । चालु खर्च कटौति गर्ने कर्णाली प्रदेश सरकारको घोषित नीतिलाई लत्याउँदै  एउटा मन्त्रालयले तारे होटलमा कार्यक्रम गरेको छ । मन्त्रालयको चौमासिक समिक्षाजस्तो सामान्य कार्यक्रमका लागि तारे होटलमा खाना–नास्तासहितको तामझाम गरिएको हो ।

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा खर्च कटौतीको प्रस्ताव ल्याएको थियो । चालु खर्च बढी भएको भन्दै प्रदेश सभामा सांसदहरुले बजेट पारित नगर्ने चेतावनी दिएपछि सरकारले बजेटमै भारी कटौति गर्ने गरी संसदसँग सम्झौता गर्‍यो ।

यो वर्ष सरकारी कर्मचारी कर्मचारी र अरु कसैले पनि भत्ता लिन नपाउने घोषणा सरकारको नीति तथा कार्यक्रममा गरिएको छ । तर, त्यसको खिल्ली उडाउँदै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले खर्चिलो समिक्षा गरेको हो ।

मन्त्रालयले स्थानीय शुभ होटलमा चैत १३ र १४ गते दोश्रो समीक्षा गोष्ठी आयोजना गरेको थियो । सरकारी भवन र हलहरु पर्याप्त भएपनि तारे होटलमा कार्यक्रम गर्दा कतिपय कर्मचारी नै असन्तुष्ट छन् ।

‘हामीले आर्थिक मामिला तथा अन्य कुनै सरकारी हलमा नै समीक्षा कार्यक्रम गरौं भनेर प्रस्ताव राखेका हौं, तर कसैले हाम्रो कुरा सुनेनन्,’ मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘सरकारी हलमा कार्यक्रम गरेको भए खासै खर्च पर्ने थिएन ।’

कार्यक्रममा खाना र नास्ताको खर्च मन्त्रालयले व्यहोर्ने गरी व्यवस्थापन गरिएको थियो । खाना र नास्ताको प्रतिव्यक्ति १६ सय रुपैयाँभन्दा बढि खर्च भएको छ । कर्णालीका २० वटा जिल्ला कार्यालयबाट दुइ जनाका दरले ४० जना र मन्त्रालयबाट गरी ५० भन्दा बढी कर्मचारीहरु कार्यक्रममा सहभागी थिए ।

मन्त्रालयका अर्का कर्मचारी भन्छन्, ‘बजेट कार्यान्वयनका विभिन्न कानूनहरु देखाउँदै आलटाल गर्ने गर्छन्,’ ती कर्मचारी भन्छन् , ‘तर यस्ता कार्यक्रम गर्न उनीहरु दिल खोलेर तयार हुन्छन् ।’

मन्त्रालयले कर्मचारीलाई भत्ता नदिए पनि ती सबै कर्मचारीले सम्वन्धित कार्यालयबाटै भत्ता बुझ्नेछन् । यो कुरा मन्त्रालयका सूचना अधिकारीले पनि स्वीकार गरेका छन् ।

कम्तिमा एक दिनको भत्ता १८०० भन्दा बढिको दरमा कर्मचारीले कार्यालयबाटै बुझ्नेछन् । दुइ दिन कार्यक्रम भएका कारण कम्तिमा पाँच दिनको टीएडीए कर्मचारीले भर्ने छन् भने होटलमा बसेको बिल पनि सम्वन्धित कार्यालयबाटै व्यहोर्ने भनिएको छ । यसमा कुल खर्च कति भयो भन्ने विवरण मन्त्रालयमा आइसकेको छैन ।

मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले धेरै कर्मचारी धेरै भएका कारण शुभ होटलमा कार्यक्रम आयोजना गरिएको दाबी गरे ।
उनले भने, ‘हामीले यहाँबाट भत्ता दिँदैनौं, होटलको भाडा पनि सम्वन्धित कार्यालयबाटै भुक्तानी हुन्छ,’ उनले भने, ‘यहाँको विहानको नास्ता र खानाको मात्रै मन्त्रालयले व्यहोर्नेछ ।’

उनले भनेअनुसार सम्वन्धित कार्यालयबाट हुने भुक्तानी पनि सरकारी कोषकै पैसाबाट जाने हो । मन्त्रालयको बजेट खर्च अवस्था निकै दयनीय छ । मन्त्रालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म दुई अर्व २७ करोड ७४ लाख ८० हजार बजेट खर्च गर्न अख्तियारी पाएकोमा ३५ करोड १४ लाख १८ हजार ५३७ रुपैंया मात्रै खर्च गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर