दाङका प्रजिअ र एसपीकै मिलेमतोमा बन्द गरिएका १० क्रसर पुन: खोलिए – Nepal Press

दाङका प्रजिअ र एसपीकै मिलेमतोमा बन्द गरिएका १० क्रसर पुन: खोलिए

दाङ । मापदण्ड विपरित सञ्चालनमा रहेका दाङका दश वटा क्रसर उद्योग बन्द भए पनि स्थानीय प्रशासनकै मिलेमतो र सेटिङमा पुन: खुलाइएको पत्ता लागेकाे छ ।

कपिलवस्तुबाट सरुवा भइ प्रमुख जिल्ला अधिकारीका रुपमा दीर्घ नारायण पौडेल दाङ आएको केहि दिन नवित्दै प्रशासनले नै बन्द गरेका क्रसर उद्योगले सन्चालनका लागि अनुमति पाएका छन् ।

सार्वजनिक विदा पर्ने होलीको दिन पारेर प्रशासनले जफत गरेका मेसिनहरु जोडिएको हाे ।

दाङका तत्कालीन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य नेतृत्वको एसपी गणेश चन्दसहितको अनुगमन टोलीले आफैं बन्द गराएको अबैध क्रसर उद्योग नयाँ प्रमुख जिल्ला अधिकारी आए लगत्तै बन्द गरिएका क्रसर सन्चालनका लागि झिकीएका मेसिनहरु जडान गरिएको छ ।

क्रसर बन्द गर्न थालेपछि करिव ५ महिनामै आचार्यको गृहमन्त्रालयमा सरुवा भएको थियो । पौडेलको सेवा अबधि ५ महिना मात्रै बाँकी छ । प्रजिअ पौडेल, दाङ प्रहरी प्रमुख एसपी गणेश चन्द, राष्ट्रिय अनुसन्धान प्रहरीका एसपीको मिलेमतो र सेटिङमा बन्द क्रसरका मेसिन जडान गरेर पुन सन्चालनमा ल्याइएको खुलासा भएको छ ।

लुम्बिनी प्रदेशका डीआईजी रविन्द्र धानुकले जिल्ला प्रशासनले बन्द गरेका क्रसर कुनै हालतमा खोल्न नहुने भन्दै तत्काल बन्द गर्न जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिने बताए । उनले कानून विपरितका क्रसर बन्द गर्न मातहतका सबै प्रहरीलाई लिखितरुपमै पत्राचार गर्ने बताए ।

बन्द भएका अबैध क्रसर खुलाउन एसपी चन्दको मिलेमतो देखिए तत्कालै तान्ने चेतावनी दिएका छन् । तत्कालीन दाङका प्रजिअ आचार्यले कानून बिपरितका क्रसर बन्द गराएको भन्दै आफ्नो सरुवा भए लगत्तै बन्द क्रसर खोल्नु कानून बिपरितको काम भएको बताए ।

तुलसीपुर क्षेत्रमा सञ्चालित गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, स्वर्गद्वारी स्क्रिन प्लान्ट प्रालि, जनविश्वास बालुवा वासिङ उद्योग, मंगलम् बालुवा प्रशोधन उद्योगलाई स्थानीय प्रशासनले बन्द गराएको अहिले खुलेको हो ।

त्यस्तै लमही क्षेत्रको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बगारवावा बालुवा प्रशोधन उद्योग, सतवरिया क्षेत्रमा रहेको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, गढवामा क्षेत्रमा रहेको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग बन्द गरिएकोमा पुरै खुलेको छ ।

उनीहरूले अनुमति लिए अनुसारको बालुवा वासिङको काम भने गरिरहे पनि अहिले प्रशासन खुकुलो हुनासाथ आर्थिक चलखेल गरेर क्रसिङको काम थालेका छन् ।

‘अनुमति एउटा तर, काम अर्कै गरेको हुँदा क्रसिङको काम बन्द गर्नु परेको हो,’ तत्कालीन प्रजिअ आचार्यले भनेका थिए।

बालुवा वासिङको अनुमति लिएर क्रसिङको काम गर्दै आएका ती उद्योग सञ्चालकले आफैं मेसनरी सामान व्यवस्थापन गरेर क्रसिङ बन्द गरेका थिए । दाङमा १२ वटा क्रसर उद्योग दर्ता भए पनि जम्मा १० वटा सञ्चालनमा रहेको स्थानीय प्रशासनले अनुगमन पछि जानकारी दिएको थियो ।

जिल्लामा कुल ३२ वटा बालुवा प्रशोधन उद्योग दर्ता छन्। तर, त्यसमध्ये ६ वटा बन्द अवस्थामा छन्। जिल्लामा हाल सञ्चालित कुल २६ वटा मध्ये १० वटाले मापदण्ड विपरित क्रसिङको काम गरेको हुँदा बन्द भएका थिए ।

गृह मन्त्रालयले कात्तिक २५ गते देशभरका जिल्ला प्रशासनलाई पत्राचार गर्दै क्रसर र बालुवा प्रशोधन उद्योगको अनगुमन गर्न निर्देशन दिएको थियो ।

सोही अनुरूप दाङमा तत्कालीन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहितको टोलीले हप्ता दिन लगाएर जिल्लाका क्रसर उद्योगको अनुगमन पछि मापदण्ड विपरित सञ्चालनमा रहेका १० उद्योग बन्द गर्न १५ दिनको समयसिमा तोकेर बन्द गराएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *